आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

आइतबार, १० वैशाख २०८०, १९ : ३७
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बनेका छन् ।

यसअघि नै विजेता बन्ने निश्चित भइसकेका दुवैले नवौं चरणमा आइतबार आआफ्नो खेल जिते । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन नवौं चरणको खेलमा रुपेशले राजन सुवेदीलाई हराउँदा सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन् ।

८ जित र एक बराबरीको नतिजासहित दुवैले साढे ८ अंक जोडेका हुन् । समान साढे ६ अंकसहित पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र फिडेमास्टर क्षितिज भण्डारी क्रमसः दोस्रो र तेस्रो स्थानमा रहे । विजेता रुपेशले २५ हजार तथा दोस्रो र तेस्रो भएका सुरवीर र क्षितिजले क्रमसः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए । राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका ८, साविक विजेता तथा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १–१ गरी १० खेलाडीबीचको राउण्ड रोविन प्रणालीमा भएको प्रतिष्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी ए च्याम्पियनसिपमा कायम रहेका छन् भने बाँकी सात खेलाडी बी च्याम्पियनसिपमा घटुवा भएका छन् ।

शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपका लागि स्वतः छनोटसमेत भएका छन् । दिव्यांश मन्टी प्रोडक्शनको प्रमुख प्रायोजन तथा रुक्मिणी टुर्स र नेपाल टेलिकमको सह–प्रायोजनमा भएको प्रतियोगितामा महिलातर्फ सुजनाले २५ हजार रुपैयाँ पुरस्कार पाइन् । साढे ५ अंकसहित क्रमसः सुशीला गुरुङ उपविजेता र शान्ती धिमाल तेस्रो भए ।

नवौं चरणमा यी दुईले बराबरी खेलेका थिए । सुशीलाले १५ हजार तथा शान्तीले १० हजार रुपैयाँ पुरस्कार पाए । खुलातर्फ जस्तै महिलातर्फ पनि शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपमा रहनेछन् भने बाँकी सात जनाले बी च्ययाम्पियनसिप खेल्नेछन् । प्रतियोगितामा खुलातर्फको विजेता रुपेश र महिलातर्फकी सुजनाले बंगलादेशमा यही महिना आयोजना हुने वल्र्ड कप साइकल एशियन जोनल ३.२ च्याम्पियनसिप तथा एशियन च्याम्पियनसिपका लागि छानिएका छन् । साथै उनीहरुले सन् २०२४ मा हंगेरीको बुढापेष्टमा हुने ४५औं चेस ओलम्पियाडका लागि पनि नेपाली टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

महिलातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतियोगिताकै कान्छी खेलाडी १३ वर्षीया रिया श्रेष्ठ र खुल्लातर्फ १४ वर्षीय पुरुषोत्तम सिलवाललाई महासंघले १५–१७ वैशाखमा आयोजना हुने एशियन युथ मिक्स्ड डवल्स चेस टिम च्याम्पियनसिपमा सहभागिता गराउने भएको छ । एसिया क्षेत्रमा बढ्दो कोरोना संक्रमण दरका कारण यो प्रतियोगिता अनलाइन हुनेछ । काठमाडौंको ले हिमालय होटलमा वैशाख ५ गतेदेखि सन्चालिन प्रतियोगिताको पदक विजेता खेलाडीलाई पूर्व सभामुख कृष्णबहादुर महराले पुरस्कृत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप