आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेश : भागबण्डा नमिल्दै मन्त्रीको लबिङमा कांग्रेस सांसदको दौडधुप

आइतबार, १० वैशाख २०८०, १९ : ४७
आइतबार, १० वैशाख २०८०

मकवानपुर । सत्तारुढ दलहरुबीच भागबण्डाको विषयमा सहमति हुन नसक्दा बागमती प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशमा सरकार गठन भएको ४ महिना पुग्नै लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।

गत पुस २५ गते एमाले, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कट्टेलले राजनीतिक समीकरण फेरिएपछि पनि मुख्यमन्त्रीमै निरन्तरता पाएका हुन् । तर पछिल्लो समीकरण अनुसार बनेको सरकारमा प्रदेशका ५ मन्त्रालय अझै मन्त्रीविहीन छन् ।

पछिल्लो समय सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । प्रदेशका ११ वटा मन्त्रालयमध्ये कांग्रेस र माओवादी केन्द्रका गरी ६ वटा मन्त्रालयमा मन्त्री छन् । प्रदेश सरकारमा २ जना कांग्रेसका र ४ जना माओवादी केन्द्रका मन्त्री छन् भने ५ मन्त्रालयको भागबण्डा अझै मिल्न सकेको छैन । ती मन्त्रालयमा गठबन्धनका दलहरुको आ–आफ्नै दाबी छ ।

नेकपा एकीकृत समाजवादीले ३ वटा मन्त्रालयमा दाबी गरेको छ भने कांग्रेसले थप ४ मन्त्रालयमा दाबी गर्दै आएको छ । हाम्रो नेपाली पार्टीको पनि एक मन्त्रालयमा सशक्त दाबी छ ।

भागबण्डाको विषय सत्ता गठबन्धनभित्र जटिल बन्दै गर्दा कांग्रेसका सांसदहरु भने मन्त्री बन्न लबिङ गरिरहेका छन् । कांग्रसबाट यस अघि संसदीय दलका नेता बहादुर सिंह लामा र तीर्थ लामा मन्त्री बनिसकेका छन् । कांग्रेसको भागमा अब थप ३ वटासम्म मन्त्रालय पर्न सक्छ । यद्यपि कांग्रेसले थप ४ मन्त्रालयमा दाबी गरिरहेको छ ।

कांग्रेसबाट मन्त्री बन्न विभिन्न सांसदहरु आफ्नो गुटको नेता तथा शीर्ष नेताहरुसमक्ष लबिङ गरिरहेका हुन् । उनीहरु आफू अनुकुल मन्त्रालयका लागि पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटमा व्यस्त बनेका हुन् ।

बागमती प्रदेशमा कांग्रेसभित्रको संस्थापन पक्षमै २ वटा गुट छ । कांग्रेसको इतर समूहले २ वटा मन्त्रालयमा दाबी गर्ने देखिन्छ भने संस्थापनभित्रकै बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँ टिमको पनि आ–आफ्नै दाबी छ ।

लामा टिम कुनै पनि अवस्थामा इन्द्र टिमका सांसदहरुलाई सरकारमा सहभागी हुन नदिने रणनीतिमा छ । जसले गर्दा गत चैत २६ गते मन्त्रिपरिषद् विस्तार हुँदा पनि संसदीय दलको नेता लामा कै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा बागमती प्रदेशमा कांग्रेसलाई बानियाँको नेतृत्वमा सरकारमा सहभागी गराउन चाहन्थे । तर, बानियाँलाई रोक्न कै लागि नेता लामा नै सरकारमा गएका थिए । सोही कारण लामा यस पटक बानियाँ टिमका कुनै पनि सदस्यलाई मन्त्री नबनाउने योजनामा छन् ।

हाल कांग्रेसबाट मन्त्रीमा १३ जनाको चर्चा छ । जसमा कुन्दनराज काफ्ले, रामकृष्ण चित्रकार, उत्तम जोशी, छिरिङ दोर्जे लामा, पुकार महर्जन, दिपेन्द्र श्रेष्ठ, कञ्चनचन्द्र बाँदे, बिमल ठकुरी, सुना परियार, हरिप्रभा खड्गी, मसिना खड्का, उर्मिला नेपाल र याङिकला शेर्पा लगायतको नाम चर्चामा छ ।

मन्त्री बन्ने लिस्टमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कुन्दनराज काफ्ले र उर्मिला नेपालको नाम शीर्ष स्थानमा छ भने रामकृष्ण श्रेष्ठ, उत्तम जोशी, छिरिङ दोर्जे लामा, हरिप्रभा खड्गी र मसिना खड्काको नाम दोस्रो वरीयतामा छ । पुकार महर्जन, कञ्चनचन्द्र बाँदे, दिपेन्द्र श्रेष्ठ, विमल ठकुरी, सुना परियार र याङ्किला शेर्पाको नाम पछिल्लो वरीयतामा छ ।

प्रदेशस्तरबाट मन्त्रालयको भागबण्डा टुङ्गिने अवस्था नरहेपछि सत्ता गठबन्धनका नेताहरु काठमाडौं केन्द्रित भएका छन् । मुख्य गरी कांग्रेसका सांसदहरु मन्त्री बन्ने लबिङका लागि अहिले काठमाडौँमा डेरा जमाएर बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप