आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चितवन, बारा र तनहुँ उपनिर्वाचन

तीनवटै जिल्लाका मतपेटिका धमाधम संकलन : सर्वदलीय बैठकपछि मात्र मतगणनाको टुंगो लाग्ने

आइतबार, १० वैशाख २०८०, २१ : १८
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । उपनिर्वाचन भएका चितवन,बारा र तनहुँका मतदान केन्द्रबाट मतपेटिकाहरु मतगणनास्थलमा धमाधम मतपेटिका संकलन भइरहेको सम्बन्धित निर्वाचन क्षेत्रका अधिकारीहरुले जनाएका छन् । मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेकाले कतिवेलाबाट मतगणना हुन्छ भन्ने एकिन नभएको तीनवटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुले जनाएका छन् ।

निर्वाचन आयोगले मतपेटिका संकलन लगत्तै सर्वदलीय बैठक राखेर मतगणना गर्न दिएको निर्देशन र व्यवस्थाअनुसार सवै स्थानका मतपेटिका संकलन गरेर सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ ।

बारामा संकलनलगत्तै सर्वदलीय बैठक
बारा २ मा मतदान केन्द्रका मतपेटिका संकलन कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्रका सबै स्थानका मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय गर्ने तयारी रहेको छ । बारा जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीका अनुसार मत पेटिका संकलनको काम अन्तिम चरणमा पुगेको छ ।

‘मतपेटिका संकलनको काम भइरहेको छ । लभभग सवै स्थानको मतपेटिका आइसकेको छ । तर रुजु गर्न समय लाग्छ’, प्रमुख चौधरीले रातोपाटीसँग भने, ‘संकलनको काम सकिएपछि सर्र्वदलीय बैठक राख्छौ । सर्वदलीयमा जे सहमति हुन्छ । त्यसपछिमात्र गणना कतिबेलाबाट हुन्छ भन्ने टुंगो लाग्छ ।’

प्रमुख चौधरीले कुनै मतपेटिका रुजु गर्दा २ मिनेटमा पनि सकिने र कुनैलाई २० मिनेट पनि लाग्न सक्ने भन्दै रुजु सक्न अझै दुई तीनघण्टा लाग्न सक्ने बताए । बाराको मतगणना कलैया उपमहानगरपालिका वडा नम्बर ३ को गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा गरिँदै छ । सो स्थनामा सुरक्षाका लागि मतगणनास्थलको भित्री भागमा तारजाली लगाइनुका साथै सिसिटिभी जडान गरिएको बताइएको छ । बारामा कुल एकलाख २३ हजार मतदाता संख्या रहेकोमा ६० प्रतिशत मतदान भएको छ ।

तनहुँमा सोमबारबाट मात्रै गणना
तनहुँँमा मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेपनि सवैतिरको आउन करिब १२ बज्ने बताइएको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालकाअनुसार अहिलेसम्म ३० वटा केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ । अरु ठाउँबाट पनि मतपेटिका आउने क्रम जारी छ ।

तनहुँमा ६३ हजार ७ सय ५७ मत (५१.७ प्रतिशत) खसेको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालकाअनुसार  सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय  ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो । आँबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार ८ सय ५४ मत, बन्दिपुरमा ७ हजार ८ सय ३० मत, भानु नगरपालिकामा २० हजार ८ सय ७९ मत खसेको छ ।

‘मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा ल्याउने काम भइरहेको छ । देवघाटतिरबाट आउन अझै ४/५ घण्टा लाग्छ,’ प्रमुख ढकालले भने, ‘राति १२ बजेसम्म संकलन गर्न लाग्छ । यसपछि राजनीतिक दलहरुको संयुक्त बैठक बसेर मत गन्ने प्रक्रिया अगाडि बढ्छ ।’ निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । ‘भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लाग्छ । यसपछि मात्र गणना थाल्छौं,’ प्रमुख ढकालको भनाइ छ ।

चितवनमा संकलन सकियो, रातीबाटै गणनाको तयारी

चितवन–२ का सबै केन्द्रहरूमा मतदान सकिएलगत्तै मत पेटिकाहरू गणनास्थल भरतपुर ल्याइएको छ । महानगरका सबै मतदानस्थल र केन्द्रबाट मत पेटिकाहरू संकलन भइसकेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यको भनाइ छ ।

टाढा रहेका कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट पनि मत पेटिका राति १० बजेसम्म आइसक्ने सहायक निर्वाचन अधिकृत आचार्यले बताए । मत पेटिकाहरू संकलन सकिएपछि सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने बारेमा निर्णय हुनेछ । उनका अनुसार आइतबार रातिबाटै मतगणना सुरू गर्ने कार्यालयको तयारी रहेको छ । चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप