सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माननीयबीच ‘घोचपेच’ र ‘शुभकामना’ आदान–प्रदान

मङ्गलबार, २२ फागुन २०७४, १६ : ०१
मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं–देश संघीय संरचनामा गएपछि बनेको संसदको आज दोस्रो दिनको बैठक ।

सवैले सवैलाई चिनेका पनि छैनन्, धेरै नयाँ अनुहार संसदमा छन् ।

तर, प्रतिनिधिसभाको मंगलबारको बैठक निकै रोचक बन्यो ।

बैठकमा सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने औपचारिक मिति तय गर्ने कार्यसूची थिए ।

यसबाहेक कार्यसुचीमै थियो–प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने ।

संघीय संसदमा नेताहरुको पहिलो संबोधन थियो ।

त्यसैले नेताहरुको पहिलो संबोधन कस्तो होलाल भनेर संसद सदस्य आफै पनि र तिनका नेता–कार्यकर्ताबाहेक सर्वसाधरणको पनि चासो थियो ।

सम्बोधनका क्रममा प्रमुख दलका नेता ‘सभ्य र शालिन’ ढंगबाट प्रस्तुत भए ।

तर, मर्यादाको सीमाभित्र बसेर उनीहरुले ‘राजनीतिक हमला’ गर्न चाहिँ बाँकी राखेनन् । एकअर्कालाई ‘घोचपेच’ गर्न छुटाएनन् ।

नेताहरुले ‘घोचपेच’ र ‘ठट्यौली’ पारामा एकअर्कावीच बधाई र शुभकामना पनि साटासाट गरे । संसदको दृश्य र नेताहरुको अभिव्यक्तिले उनीहरु अझै संविधान निर्माण र  निर्वाचनमा जस्तै  एकआपसमा सहकार्य गर्न आतुर रहेको भान हुन्थ्यो ।

सामन्यत नयाँ निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई पहिलो बैठकमै धारणा राख्न दिने परम्परा छ । त्यहि परम्परालाई निरन्तरता दिदै संसदको अन्तरिम कार्यविधि बनाइएको थियो ।

तर, यो पटक पहिलो बैठक नभएर दोस्रो बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका नेतालाई आफ्नो धारणा राख्न दिइएको थियो । पहिलो बैठकमा (अधिवेशन सुरु भएकै दिन) सम्बोधन गर्ने तयारी थियो । तर, त्यसैदिन पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका र संसद बैठक एकै समयमा पर्यो । त्यसपछि नेताहरुको सम्बोधन दोस्रो बैठकमा सारियो ।

पार्टीको हैसियत अनुसार नेताहरुले बोल्नक्रम थियो । बैठकको सुरुमा बोलेका थिए, पहिलो दल एमाले नेता माधवकुमार नेपाल । त्यसपछि बोल्ने पालो थियो, दोस्रो दल काँग्रेसका शेरबहादुर देउवाको । तेस्रोमा बोलेका थिए–तेस्रो दलको हैसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । प्रचण्डपछि राजेन्द्र महत्तो र उपेन्द्र यादवले आ–आफ्नो धारणा राखे ।

सवैजसो नेताले सम्बोधनका क्रममा उखान टुक्का हाले । यसमा संसद सदस्यले आनन्द लिए ।

नेपालको सुझाव

पहिला बोलेका नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई देखिनेगरी काम गर्न सुझाव दिए ।

कार्यतालिका नै बनाएर काम गर्न सुझाव दिदै उनले प्रतिपक्षीको पनि रचनात्मक सहयोग आवाश्यक रहने अपेक्षा गरे ।

‘बहुमतको सरकार छ’ भन्दैमा प्रतिपक्षको बेवास्ता गर्न नहुँने नेपालको भनाई थियो । यस्तो ‘दम्भ’ले सरकार लक्ष्यमा पुग्न नसक्ने नेपालको भनाई थियो । नेपालले आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीमाथि निशाना साधेका थिए ।

उनले देश डुव्न लागेका बेला बामपन्थीको बहुमत आएकाले यसलाई सदुपयोग गर्न सक्नुपर्ने सुझाए । भने ‘देश डुव्न लाग्यो..... असल माझिको खोजी भइरहेको छ....’ । प्राय सिधा भाषण गर्ने नेता नेपालले यो पटक उखान र टुक्का मिसाउँदै भने ।

नेता नेपालले प्रमुख प्रतिपक्षलाई पनि सम्झाउने प्रयास गरे । भने ‘कम्युनिष्टहरु अधिनायकबादी होलान कि भन्ने आशंका नगर्न आग्रह गर्छु । कम्युनिष्टहरुले अव चुनाव गराउँदैनन् कि भनेर तर्सिनुपर्ने अवस्था छैन ।’

उनले प्रतिपक्षी र सत्तापक्ष दललाई हातेमालो गरेर अघि बढ्न सुझाव दिदै भने, ‘जित्नेले अहंकार र हार्नेले निरुत्साहीत नभई मुलुकको विकास र सम्वृद्धिका लागि हातोमालो गरेर अघि बढ्नुपर्छ । संसदीय व्यवस्थाको सुन्दरता भनेकै सत्ता पक्ष र प्रतिपक्ष हातेमालो गरेर अघि बढ्नु हो ।’  

नेता नेपालले पराजयबाट अहिले नै आत्तिएर ‘सुरु देखि नै विरोध गर्छु र हनिमुन पिरियड पनि विताउन दिन्न’ भन्नु गलत भएको बताए । काँग्रेस सभापति देउवाले संसदीय दलको नेतामा चयन भएपछि सरकारलाई ‘हनिमून’ मनाउन दिने अबस्था नरहेको बताएका थिए ।

नेता नेपालको पुराना कुरामा नअल्झेर एकता र विश्वासको आधारमा अघि बढ्नुपर्नेमा जोड थियो । कुनैपनि मुलुकको विकासको पहिलो शर्त दिगो शान्ति भएको उल्लेख गर्दे उनले दिगो शान्तिको आधारसिला तयार पारिसकेकाले अब विकासको गति अघि बढाउनुपर्ने बताए ।

सरकार संचालन गर्ने सन्र्दभमा राज्यकै विभिन्न संयन्त्रले हात बाध्ने काम हुने गरेको भन्दै सरकारलाई पुर्णरुपमा काम गर्ने वातावरण मिलाउनुपर्नेमा नेता नेपालले ध्यानाकर्षण गराए ।

देउवाको ठट्टा

काँग्रेस सभापति देउवाले सम्बोधनको सुरुमै प्रधानमन्त्री केपी ओलीमाथि व्यङ्ग ठोके । ‘ओलीजी चुनाव नै गराउँदैन भन्नुहुन्थ्यो, अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई सफल कार्यकालको शुभकामना छ ।’ देउवाले भने ।

त्यसपछि देउवाले सांसदहरुलाई पनि बधाई तथा शुभकामना दिए ।

त्यसपछि विषयबस्तु प्रवेश गरेका देउवाले संविधानको आधारभूत संरचना नै भत्काउने गरि संविधान संसोधन नगर्न सरकारलाई सचेत गराए ।

‘संविधान संसोधन गर्नुपर्छ भन्नेमा काँग्रेस सहमत र सकारात्मक रहेपनि आधारभूत संरचना नै भत्काउने प्रयास भए स्वीकार्य हुँदैन’ देउवाले सम्बोधनका क्रममा चेतावनी दिए ।

बामगठबन्धन मधेशवादी दलसहित दुई तिहाईको सरकार बनाएर संविधान संसोधनको तयारीमा लागिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो ।

‘अदालतलाई तर्साउने–धम्क्याउने र प्रेसलाई तर्साउने–धम्क्याउने विषय लोकतन्त्रवादी हँुदैन, सत्तापक्षले प्रतिपक्षीलाई गर्ने व्यवहार हेरेर काँग्रेस अघि बढ्छ ।’ पुर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले आफुलाई नआत्तिन भनेको विषयलाई समेटदै देउवाले थपे, ‘प्रधानमन्त्रीलाई खुसी पार्नुपर्ने होला । त्यसमा मैले केही भन्ने कुरा भएन ।’

देउवाले  असहज र अप्ठ्यारो अवस्थामा पनि प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउन सकेकोमा आफुलाई सन्तोष लागेको बताए ।

नेता देउवाले संविधान जारी गर्दा ‘संविधान राष्ट्रहित विपरित छ’ भन्नेहरुले अहिले समर्थन गरेको देख्दा आफुलाई खुसी लागेको स्मरण गरे । देउवाले नामै नलिइ सरकारमा जान खुट्टा उचालिरहेका मधेशवादी दलका नेतामाथि हमला गरे ।

२००७ सालको परिर्वतन देखि कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वय प्रक्रिया अघि बढेको भन्दै उनले मुलुकको सम्वृद्धि र आर्थिक विकासका लागि आफुहरुको सधै समर्थन रहने विश्वास दिलाए ।

प्रचण्डको केन्द्र

माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधन सांसदलाई शुभकामना दिएर सुरु गरे ।

शुभकामना दिएपछि प्रचण्डले राष्ट्रिय राजनीतिलाई आफ्नो सम्बोधनको विषयबस्तु बनाए ।

‘संयोग नै मान्नुपर्छ म र नेकपा माओवादी सधै केन्द्रमा पर्ने गरेको छु, मलाई यो अवसर प्राप्त भएकोमा यो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्छु’ बोल्नेक्रममा आफुवीचमा परेको प्रसंग कोट्टाउँदै प्रचण्डले भने, ‘म मध्यविन्दुमा छु । राजनीतिमा म केन्द्रविन्दुमा पर्दै आएको छु । यो अवसरको जिम्मेवारी म पुरा गर्नेछु ।’

सम्बोधनका क्रममा उनले आफु जनयुद्धकाल देखि अझै पनि नेपाली राजनीतिको केन्द्रमा रहेको दावी गरे ।

उनले अब सत्ताको लागि गरिने चलखेल अन्त्य गर्न सङकल्प गर्नुपर्ने समय आएको पनि भन्न भ्याए । जवकि यस अघि माओवादीसँग मिलेर कहिले काँग्रेसले त कहिले एमालेले र कहिले माओवादी आफैले सरकार गठन गरेका थिए ।  

‘देश अब नयाँ मोडमा उभिएकाले सत्ताको लागि राजनीतिक चलखेल अन्त्य गरेर देश विकासमा लाग्नुपर्छ । आजैबाट नै नयाँ नेपाल बनाउने भनेर हामी आफैले संकल्प गर्नुपर्ने छ ।’ प्रचण्डले भविष्यको कुरा गरे, ‘देशमा सुशासन व्यवस्था गर्ने नसके यो नेतृत्व सरकारको कुनै उपलव्धि हुँदैन । देशमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्ने बेला आएको छ । नेपाल कुनै देशको परस्त छैन ।’

उपेन्द्रलाई एनजिओको डर

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधनको सुरुमै वाम गठबन्धनलाई सफलताको शुभकामना दिए । फोरम आफै सरकारमा जाने तयारीमा छ । सत्तारुढ दल र फोरमवीच वार्ता जारी छ ।

यादवले संसदमा आफ्नो सम्बोधनको समय ‘एनजीओ’ र ‘आइएनजिओ’ माथि केन्द्रीत गरे । ‘एक क्षण त्यस्तो आउँछ डर छ । सरकार बनाउने, चुनाव लडाउने र जिताउने तिनै आइएनजिओ हुन्छन् कि भन्ने छ । हाम्रो भाषा धर्म संस्कृति र राष्ट्रिय एकतामा पनि आइएनजिओको प्रभाव परिरहेको हुन्छ ।’ उनले भने, ‘नेपालमा चार हजारभन्दा बढी विदेशी संस्था काम गर्छन् । सरकारको रेकर्डमा कोही पनि छैनन् । यो खतरनाक छ ।’

यादवले सरकार त्यस्ता संस्थाप्रति बेखवर भएकोमा गुनासो पोखे । भने, ‘विदेशबाट विभिन्न मिसनका लागि फन्ड आउछ र परिचालित हुन्छ । राष्ट्रबैंकलाई थाहा हुँदैन, बजार सरकारको नियन्त्रण र नियमनमा पनि छैन ।’

भ्रष्टचार नियन्त्रण गर्नुपर्छ भन्नेमा आफु पनि सहमत रहेको यादवले सुनाए । ‘भ्रष्टाचार र कमिशनतन्त्रलाई नियन्त्रण नगरी मुलुक अगाडि बढ्न सक्दैन ।’ उनले भने ।

प्रदेश सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न बनाएर संघीयता मजबुत हुने उनको भनाई छ । ‘अहिलेको शिक्षा प्रणाली राखेर कहाँसम्म विकासको परिल्पना गर्ने हो ? यादवले प्रश्न तेसर््याए ।

राष्ट्रियताको भावनालाई जोडेर लैजानका लागि संविधानलाई संशोधन परिमार्जन गर्दै अगाडि बढ्नुपर्नेमा यादवको जोड थियो । ‘संविधानमा रहेका कमीकमजोरी र त्रुटीलाई सच्याएर सबै समुदायले स्वामित्व गर्ने र गर्व गर्ने अवस्थासम्म पु‍र्याउनुपर्छ’ उनले भने ।

राजेन्द्रलाई रेशमलालको माया

राजपा, नेपालका नेता राजेन्द्र महत्तोले आफ्नो पुरै सम्बोधन हिन्दीमा गरे ।

उनले कैलालीका सांसद रेशम चौधरीलाई आरोप मात्रै लागेको बताए ।

‘कसैले कसैलाई आरोप लागाएको हो । रेशमलाल चौधरी जनताको प्रतिनिधि हो । यो संसदमा हुनुपर्छ’ उनको पहिलो माग थियो ।

विगतमा दुष्मनीपूर्ण सम्बनध रहेपछि महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने आश्वसन दिए ।

‘देश र जनताको भलाइका लागि अगाडि बढ्नुस् प्रधानमन्त्रीजी । हामी काँधमा–काँध मिलाएर अगाडि बढाउन तयार छौँ’ महतोले सरकारलाई सहयोग गर्ने आशय प्रकट गरे ।

त्यस्तै उनलेसंविधान संशोधनप्रति प्रधानमन्त्री ओलीलाई प्रतिवद्धता जनाउन आग्रह गरे । ‘बारम्बार सम्झौता गरेका छौँ । अब त्यस्तो सम्झौता नगरिदिनुस् । विश्वास दिलाउनुस् प्रतिवद्धता व्यक्त गर्नुस्’ महतोको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप