सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काइँला, पराजुली र बोटेलाई ‘वानीरा पुरस्कार’

सोमबार, ११ वैशाख २०८०, १० : ११
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । वानीरा फउन्डेसनले साहित्यकारहरू वैरागी काइँला, गोपाल पराजुली र भीमबहादुर बोटलाई पुरस्कृत गरेको छ । मीनभवनस्थित वानीरा फउन्डेसनको सभाहलमा आयोजित कार्यक्रममा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले स्रष्टाहरूलाई पुरस्कृत गरेका हुन् । 
फाउन्डेसनले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्ने प्राज्ञ वैरागी काइँलालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरेको हो । डा. वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।

यसैगरी फाउन्डेसनले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा समर्पित कवि गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गरेको छ । पराजुली उत्तरआधुनिक प्रयोगवादी धारका कविता प्रवर्तनका साथै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानको कदार गर्दै सो पुरस्कार प्रदान गरेको हो । 

सो समारोहमा फाउन्डेसनले भीमबहादुर बोटेलाई पच्चीस हजार रुपियाँ राशिसहित ‘वानीरा सेवा पुरस्कार’ समर्पण गरेको छ । यसैगरी सो समारोहमा वानीरा पुरस्कारबाट सम्मानित वैरागी काइँला र गोपाल पराजुलीले भगवती बस्नेतले सम्पादन गरेको ‘वानीरा अभिलख’को लोकार्पण गरेका थिए । 
कार्यक्रममा वानीरा सङ्ग्रहालयमा रहेको डा. गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरेका गरिएको थियो ।

इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोमा वैरागी काइँला, गोपाल पराजुली, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गरेका थिए ।
कोरानाका कारण २०७८ जेठ ९ गते डा. वानीरा गिरीको निधन भएपछि उनको नाममा इन्जिनियर शङ्कर गिरीले वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालय स्थापना गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप