आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
निर्वाचन समीक्षा

उपनिर्वाचनले कांग्रेसलाई झड्का : तनहुँको मतमा कसलाई फाइदा कसलाई घाटा ?

मङ्गलबार, १२ वैशाख २०८०, ०८ : ००
मङ्गलबार, १२ वैशाख २०८०

वैशाख १० गते सम्पन्न उपनिर्वाचनले नेपाली कांग्रेसलाई नराम्रो झड्का दिएको छ । मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट विजयी भएको कांग्रेस उपनिर्वाचनसम्म आइपुग्दा पराजित हुन पुग्यो । कांग्रेस पराजित मात्रै भएन, उसको मतसमेत घटेको छ । 

मंसिर ४ को निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालीन गठबन्धनको बलमा २५ हजार ३६१ मतका साथ विजयी भएका थिए । यो निर्वाचनमा पनि गठबन्धन कायमै रहेपनि कांग्रेसले आफ्नो मत जोगाउन सकेन। 

पौडेल राष्ट्रपति चयन भएपछि सांसद पद रिक्त हुँदा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा तनहुँकै पुराना नेता गोविन्द भट्टराईलाई कांग्रेसले उतारेपनि उनको पक्षमा नतिजा आउन सकेन । परिवर्तनको पक्षमा भन्दै जनताले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई मत हाल्दा नतिजा अर्कै बन्न पुग्यो । 

निर्वाचनमा रास्वपाका उम्मेदवार वाग्ले ३४ हजार ९१९ मतका साथ विजयी भएका हुन् । जवकि मंसिर ४ मा रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मतमात्रै पाएका थिए । यो आधारमा रास्वपाले २८ हजार ८७५ मत बढाएको छ । 

तर, गोविन्दले २० हजार १२२ मत मात्रै पाए । यो आधारमा अघिल्लो चुनावको तुलनामा उपनिर्वाचनमा कांग्रेसको ५ हजार २३९ मत घटेको छ । 

यसैगरी एमालेको मत पनि थप खस्किएको छ। अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार एक बहादुर रानाले १९ हजार ९८१ मत पाएकामा अहिले ह्वात्तै घट्यो । अर्थात् एमालेका उम्मेदवार सर्वेन्द्र खनालले मात्र ८ हजार ४८८ मत पाए । यो आधारमा एमालेको धेरैमत रास्वपातिर गएको देखिन्छ । पाँच महिनाको अवधिमा एमालेलाई ११ हजार भन्दा धेरै मत कम परेको देखिन्छ । 

यस्तै राप्रपाको पनि उपनिर्वाचनमा ह्वात्तै मत घटेको तथ्यांकले देखाएको छ।  निर्वाचनका आयोगका अनुसार मंसिर ४ को निर्वाचनमा राप्रपाले २ हजार ४८४ मत पाएको थियो । तर उपनिर्वाचनमा राप्रपाकी शोभा गुरुङले मात्र २१८ मत पाइन् । 

उपनिर्वाचनमा ९ दल सहभागी भएकामा ५ दलले २०० मत पनि कटाउन सकेनन् । यस्तै मंसिर ४ को निर्वाचनमा १५ जना उम्मेदवार थिए । त्यतिबेला स्वतन्त्रबाट उम्मेदवारी दिएर गोविन्दराज जोशीले ६ हजार ८६८ मत मत पाएका थिए । यो निर्वाचनमा उनले रास्वपालाई सघाएको बताइएको छ । 

मंसिर ४ को निर्वाचनमा सहभागी १५ दलमा ४ दल र एक स्वतन्त्रबाहेकका उम्मेदवारले ४०० मत पनि कटाउन सकेका थिएनन् । 

जनताको परिवर्तनप्रतिको आकांक्षा र ह्वीमले रास्वपाले राम्रो फाइदा लिएको मतपरिणामले देखाएको छ । तर, कांग्रेसले सांसद पद गुमाएको निर्वाचमा  एमाले र राप्रपाले मतमा धक्का खानु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप