आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस सांसदलाई अर्थमन्त्रीको सन्देश–बजेटमा तपाईंहरुका सबै माग समेटिँदैन

मङ्गलबार, १२ वैशाख २०८०, १७ : १९
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ मा सांसदहरूको सबै माग समेट्न नसक्ने जानकारी दिएका छन् । कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ गर्दै अर्थमन्त्री डा. महतले सांसदको माग समेट्न नसक्ने जानकारी दिएका हुन् ।

सोमबारदेखि सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय तलको कार्यालयमा बजेटसँग सम्बन्धित सुझाव संकलनको कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम आज दिउँसो १२ बजेसम्म चलेको थियो । करिब ८० जना सांसद उपस्थित उक्त छलफलमा अर्थमन्त्री डा. महतले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम समेट्न नसक्ने स्पष्ट जानकारी दिएका हुन् ।

‘यतिबेला मुलुकको अर्थतन्त्र संकटमा छ । सांसदको सबै नयाँ माग सम्बोधन गर्न सक्ने स्थिति छैन,’ डा. महतले भने, ‘चालू वर्षको बजेटको आकारको तुलनामा आगामी वर्ष झन्डै डेढ खर्बभन्दा धेरेले बजेटको आकार नै घट्छ ।’ अर्थमन्त्री महतले सांसदहरूसँगको छलफलका क्रममा आगामी वर्षको बजेटको आकार नै १६ खर्ब हुने समेत बताएका थिए ।

छलफलमा बजेटका विषयमा करिब ६० जना सांसदले आफ्नो भनाई राखेका थिए । त्यस क्रममा अधिकांशले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समेट्न भनेका थिए । उपस्थिति अधिकांश सांसदले विगतमा ल्याइएका जस्तै लोकप्रिय कार्यक्रम ल्याउन र लोक रिझाउने लक्ष्य राख्न समेत सुझाव  सांसद रामहरि खतिवडाले बताए । आफूले भने ७० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुका लागि निःशुल्क औषधोपचारको व्यवस्था गर्न माग गरेको खतिवडाको भनाई छ ।

तर, राजश्व संकलनको लक्ष्य समेत प्रभावित भइरहेको अवस्थामा विगतका कार्यक्रमलाई निरन्तरता दिन समेत नसक्ने स्थिति रहेकाले नयाँ कार्यक्रमको आस नगर्न मन्त्री महतले स्पष्ट सन्देश दिए । ‘अहिले राजश्व संकलनको लक्ष्य नै प्रभावित बनेको छ,’ डा. महतले भने, ‘कूल लक्ष्यको ४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ । यस्तो अवस्थामा बजेटको आकार नै घट्ने स्थिति छ । नयाँ र तपाईँहरूको चाहनाअनुसारको कार्यक्रमको अपेक्षा नगर्नुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप