आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

निरा हत्याकाण्ड : ४ कोणबाट प्रहरीको अनुसन्धान, सीसी क्यामेराको फुटेज सङ्कलन

मङ्गलबार, १२ वैशाख २०८०, २० : १७
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । वैशाख ७ मा दिउँसो कपन स्थित सरस्वती नगरमा भाँडा पसल चलाउने निरा पाण्डे आचार्यको पसलमा पुग्दा ग्राहकले उनलाई देखिनन् । दुलाल चोकमा बस्ने कविता ज्ञवाली (नाम परिवर्तन) सामानको पैसा तिर्न जाँदा उनलाई नदेखेपछि निराक पति योगेन्द्र आचार्यलाई फोन गरिन् । करिब ३ सय मिटर पर इलेक्ट्रिक सामग्री पसल चलाउने योगेन्द्रले भने–‘निरा पसलमै छिन्, बाहिर गएकी छैनन् ।’

ग्राहक त्यसपछि भित्र पसिन्, बोलाउँदै काउन्टर नजिक पुगिन् । काउन्टर भित्रपट्टि निरा रगतपच्छे भएर ढलेकी थिइन् । ज्ञवालीले फोन गरेर घटनाबारे जानकारी गराएपछि योगेन्द्र पसलमा पुगेका थिए ।

घटनाबारे उनीहरूले प्रहरी कन्ट्रोलमा ३ बजेर ४० मिनेटमा खबर गरे । प्रहरी प्रभाग कपनकी इन्स्पेक्टर स्मृति सिल्वाल आफ्नो टिम सहित ३ बजेर ४६ मिनेटमा घटनास्थलमा पुगिन् । निराको शरीरमा मन्द ताप थियो तर, बाँच्ने आशा थिएन । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे ।

३५ वर्षीया निराको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले हत्याबारे अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरूले ४ कोणबाट आरोपीको खोजी गरिरहेका छन् । अनुसन्धान अधिकृतहरूको एउटा टिमले आर्थिक पाटोको विश्लेषण गरिरहेको छ । निराको आर्थिक व्यवहार, पसलको आर्थिक कारोबार र उनीसँग भएको सुनचाँदीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

निराले त्यसैदिन टिकटकमा पोस्ट गरेको भिडियोमा उनको गलामा सिक्री लगाएको देखिन्छ । ‘सिक्री लुटपाट गर्न हत्या भएको हो होइन ? भनेर प्रहरी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । तर, उनले त्यस दिन सुनको सिक्री लगाएको अथवा नलगाएको यकिन भैसकेको छैन ।

निरा र पति योगेन्द्र आचार्य बीचको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । निरा र अन्य मानिसहरू बिचको सम्बन्ध पनि अनुसन्धान अधिकृतहरूको केलाएका छन् । ‘निराको सामाजिक सम्बन्धबारे पनि अनुसन्धान गरिरहेका छौँ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘अनुसन्धानमा चारवटा कोणबाट अनुसन्धान भइरहेको छ ।’

अनुसन्धान अधिकृतहरूले घटनाबारे प्राविधिक विश्लेषण गरिरहेका छन् । घटनास्थल वरपरको  क्लोज सर्किट (सीसी) क्यामेराको फुटेज सङ्कलन गरिएको छ । निराको मोबाइलको विवरण पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनाबारे फरक–फरक कोणबाट अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए । डा. केसीले रातोपाटीसँग भने–‘परिणाम आउनेगरी अनुसन्धानमा हाम्रो टिम लागिपरेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप