सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘काँडेतार’ सेन्सर लफडा : अदालत जाने निर्देशक नवलको चेतावनी

सेन्सर बोर्ड भन्छ–मिडियाबाजीले डराउनौं
बुधबार, १३ वैशाख २०८०, १८ : ४८
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । फिल्म सेन्सरको विषयले बेला बेलामा चलचित्र क्षेत्र गर्माउने गर्छ । फिल्म रिलिजको समय कतिपय निर्माताले सेन्सरको विषय चर्चाका लागि बाहिर ल्याउने र स्क्यान्डल गर्ने गर्छन्, भने कतिपयले सेन्सर बोर्डले फिल्म नबुझेको आरोप समेत लगाउँछन् ।

यतिबेला फिल्म ‘काँडेतार’ को सेन्सर विषय चर्चामा छ । सोमबार भएको सेन्सरमा फिल्मले रिलिज अनुमति नपाएपछि यो विषयले चर्चा पाएको हो । चलचित्र सेन्सर बोडले ‘काँडेतार’लाई रिलिज अनुमति नदिएको भन्दै निर्माता निर्देशक नवल खड्काले आपत्ति जनाउँदै आएका छन् । उनले यो विषयमा आफू अदालत समेत जाने चेतावनी दिएका छन् ।

‘सेन्सर बोर्डले प्रदर्शनका लागि हामीलाई सर्टिफिकेट दिएको छैन । हामीले फिल्म बिना काटछाट प्रदर्शन गर्न पाउनुपर्छ भन्ने हो’, नवलले भने ‘सेन्सरले केही संवाद र दृश्यहरू सुधारेर ल्याउन सुझाव दिएको छ । त्यो दृश्य काट्दा फिल्म बिग्रन्छ ।’ आफूले कुनैपनि दृश्यहरू नकाटी दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको र उक्त अपिल सेन्सर बोर्डले नसुने अदालत जाने नवलले बताए । सेन्सरले बिना कारण आफूलाई दुःख दिएको नवलको भनाई छ ।

‘सेन्सरले सहयोग गरेर भनेर म भन्दिन धेरै सहयोग गर्नु भएको छ । तर जुन दृश्य काट्नु भनेको छ । त्यो हटाउन म तयार छैन’ नवलले थपे । आफूले राष्ट्रको मुद्दा फिल्ममा उठाउँदा दुःख पाएको उनले सुनाए ।

चलचित्र सेन्सर बोर्डका अध्यक्ष नेत्र सुवेदीले काँडेतारका निर्माता निर्देशक नवल खड्काले सानो कुरो ठुलो बनाएर प्रचारबाजी गरेको आरोप लगाए । फिल्मको विषयमा चलचित्र सेन्सर बोर्डले केही लफडा नदिएको बरु केही लिखित सुझाव दिएको र त्यो सच्चिएर आए प्रदर्शन अनुमति पाउने सुवेदीले बताए ।

‘एउटा नेपालीले फिल्म बनाएको छ । कारोबार गर्न खोजेको छ हामी त्यसको विरोध गर्दैनौ’, सुवेदीले भने ‘फिल्ममा दुई देशको मामलाको विषय छ, अलिअलि शब्दहरुमा केही निकायलाई होच्याएइको छ ।  केही सरकारी निकाएको बोर्ड प्रयोग गरिएको छ । त्यही सच्याउन भनेका हौ ।’

फिल्ममा कुनैपनि सरकारी निकायको ओरिजिनल बोर्ड राख्न नपाइने बताउँदै सुवेदीले भने, ‘त्यो बोर्ड हटाउन भन्नु गलत हो र ? ।’

‘कि मैले डकुमेन्ट्री बनाएको भन्नुपर्‍यो । फिल्म बनाएपछि राज्यले निर्धारण गरेको केही मर्यादा पालना गर्नुपर्छ’ सुवेदीले अगाडि थपे ‘एक दृश्यमा मोटरसाइकल चालकले हेलमेट लगाएको छैन । त्यस्तो दृश्यमा ट्राफिक नियम पालना गरौं भनेर लेख्नुस् भनेका छन् । के यो गलत हो ?’ फिल्म सन्सेरमासँगै बसेको र त्यसपछि छलफल गरेर नवल खुसीकासाथ दिएको सुवेदीले खुलाए । ‘नवल जीलाई भेटे भने तपाईको असन्तुष्ट के हो भनेर प्रश्न गर्न मन लागेको छ’, सुवेदीले थपे ‘मिडियामा यसरी हल्ला गर्दैमा प्रेसर पुग्छ भनेर उहाँले सोच्नु भएको होला । यस्तो कुरोमा म डराउनेमा पर्दिन ।’ 

कस्तो फिल्म ‘काँडेतार’ ?

‘काँडेटार’ राष्ट्रियताको विषयमा निर्माण भएको फिल्म हो । सीमाना क्षेत्रको विभिन्न समस्या र सीमाना क्षेत्रमा काँडेतार लगाउनुपर्ने विषय मुद्दाको रुपमा फिल्मले उठाएको छ । एउटा नागरिकले आफ्नो भूमि संरक्षण र नागरिकलाई राष्ट्रियता बोध गराउने कथा समेत फिल्मको विषयवस्तु भएको निर्देशक खड्काले बताए ।

फिल्ममा नवल खड्का, गौरव पहाडी, सुरवीना कार्की, रेबिका गुरूङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवी शाह, ज्ञानेन्द्र कोइराला, अञ्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्काको अभिनय फिल्ममा छ । गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्मका निर्माता माकिको राई र अञ्जु केसी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप