आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

लुम्बिनीमा कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

बिहीबार, १४ वैशाख २०८०, ११ : ४५
बिहीबार, १४ वैशाख २०८०

बुटवल । लुम्बिनीमा सत्तारुढ गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रदेश सरकारको नेतृत्वका लागि सहमति भएको छ । सोही अनुसार पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने बताइएको छ ।

प्रदेश प्रमुखले अमिक शेरचनले नयाँ सरकार गठनका लागि दिएको समयभित्र सत्ता गठबन्धनमा आवद्ध ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउँदै छन् ।

प्रदेश प्रमुखसमक्ष ५३ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्ने तयारी भएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले रातोपाटीलाई बताए ।

उनले भने, ‘हामीले सबैकुरा हिजो नै तयार गरेका राखेका छौं । प्रदेश प्रमुखले समय दिनासाथ हामी हस्ताक्षर लिएर जान्छौं ।’

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार सरकार गठन आह्वान गर्दा बिहीबार अपराह्न ४ बजेसम्मका लागि समयसीमा तोकेका छन् ।

आलोपालो नेतृत्व

लुम्बिनी प्रदेशमा माओवादी र नेपाली कांग्रेसबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । चौधरीले भने, ‘हामीबीच पहिले नै आधाआधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ, त्यसमा कुनै विवाद छैन ।’

सो सहमति अनुसार चौधरीपछि माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महरा मुख्यमन्त्री बन्ने छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४÷४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३÷३ जना, राष्ट्रिय जनमोर्चाका १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र १ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप