मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बारा–२ मा  ३१ उम्मेदवारको जमानत जफत

बिहीबार, १४ वैशाख २०८०, १६ : ०९
बिहीबार, १४ वैशाख २०८०

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–२ मा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ३१ जना उम्मेदवारको जमानत जफत भएको छ ।  बारा २ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि सत्ता गठबन्धनको तर्फबाट विजयी भएका उपेन्द्र यादव, सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा र नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल बाहेकका उम्मेदवारको जमानत जफत भएको हो । १० प्रतिशतभन्दा कम मत ल्याएपछि उनीहरूको जमानत जफत भएको हो ।

बारा–२ मा कुल मतदाता सङ्ख्या १ लाख ५ हजार २४८ रहेकोमा ६९ हजार २२ अर्थात ६५.५८ प्रतिशत मत खसेको थियो । जसमा ८३० मत बदर भएको थियो भने सदर मत ६८ हजार १९२ थियो । जम्मा खसेको सदर मत ६८ हजार १९२ को दश प्रतिशत मतका लागि ६ हजार ८१९ मत ल्याउनु पर्ने हुन्छ । तर, बारा–२ मा तीन उम्मेदवारबाहेक ३१ उम्मेदवारले जमानत जफत जोगाउन सकेनन् ।

घण्टी चुनाव चिह्न भएका रास्वपाका उम्मेदवार रमेश खरेलले जम्मा २ हजार ८२९ मत मात्रै प्राप्त गर्न सके । दश प्रतिशत मत ल्याउन नसक्दा उनको पनि जमानत जफत भएको छ । यस्तै, आम जनता पार्टीका अरुण कुमार ज्ञवालीको  जमानत जफत भएको छ । मोबाइल चुनाव चिह्न लिएर उठेका उनले २ हजार ७३८ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेलीले ११९ र नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारीले १०९ मत पाएका छन् । यसबाहेक अन्य उम्मेदवारले भने सय मत पनि कटाउन सकेनन् ।

उम्मेदवारहरूले चैत २० गते उम्मेदवारी मनोनयन दर्ता गर्दा १० हजार धरौटी जम्मा गरेका हुन्छन्  । सो रकम कुल सदर मतको १० प्रतिशत कटाउनेको हकमा फिर्ता हुन्छ भने १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारहरूको सो रकम जफत हुन्छ ।

आइतबार भएको उपनिर्वाचनमा बारा–२ बाट जसपा नेपालका अध्यक्ष एवं उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।  उनका निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै यादव निर्वाचित भएका हुन् । बारा २ मा उम्मेदवारी दिएका मध्ये ३ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सकेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए ।

सो उपनिर्वाचनमा यादवले २८ हजार ४१५ मत ल्याए भने कुशवाहाले २३ हजार ३३४ मत पाए । यस्तै एमाले उम्मेदवार पौडेलले १० हजार २१६ मत ल्याएका छन् । 

५ वटा स्थानीय तह र ४४ वटा वडा रहेको बारा २ मा  एउटा वडा सदस्यसम्म नजितेको सिके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनसँग ५ हजार मतले मात्रै पछि पर्‍यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप