आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्छ : अर्थमन्त्री

बिहीबार, १४ वैशाख २०८०, २१ : ००
बिहीबार, १४ वैशाख २०८०

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको अर्थतन्त्रको गतिरोधको अन्त्यका लागि पनि मौद्रिक नीति खुकुलो बनाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा बिहीबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । 

‘अर्थतन्त्रमा के कारणले शिथिलता आयो, निजी क्षेत्र यस विषयमा जानकार छ । समस्याको निराकरण कसिलो नीतिले मात्र सम्भव छैन, केहीँ लचकता अपनाउन पनि जान्नुपर्छ’ डा. महतले भने, ‘अहिलेको गतिरोध अन्त्यका लागि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ ।’

‘अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ । एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो । कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु । उनले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाए । ‘म पर्खेर बसेको छु’ उनले भने ।

ब्याजदरले अवश्य समस्या सिर्जना गरेको बताउँदै मन्त्री डा.महतले मौद्रिक नीतिमार्फत बजारमा पूँजी प्रवाह गर्न जरुरी रहेको र यसमार्फत उद्योग व्यवसायलाई मद्दत पुग्ने बताए । उनले भने, ‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छन् । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन, तर समस्या समाधानमा मेरो इमानदार कोसिस हुनेछ । समर्पित भएर म काम गर्दैछु । कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप