सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.बरमेजो नेपाल आउने

शुक्रबार, १५ वैशाख २०८०, १२ : १७
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा.अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन् । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घले पनि उक्त महासङ्घको सदस्यता प्राप्त गरेको छ  ।

सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्य गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ । 

महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रोपटक नेपाल भ्रमण हुन लागेको सङ्घले जनाएको छ ।  भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा.बरमेजोको द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको सङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । पाँचदिने नेपाल भ्रमणका क्रममा महानिर्देशक डा.बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च पदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्नुहुने कार्यतालिका रहेको छ ।   

यसैगरी भ्रमणको क्रममा उनले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन् । सोही क्रममा उनले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । महानिर्देशक डा.बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाइएको छ । 

मूलतः गरिब, सीमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ । हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सीमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पु¥याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ । 

सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत तथा जोखिम समुदायका रहेका छन् । कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो ।  यसैगरी, सङ्घले पछिल्लो समयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल तथा लेजर थेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । साथै, टेष्टयुब बेबी तथा बाँझोपन उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ । 

महानिर्देशक डा.बरमेजोको नेपाल भ्रमणले नेपालमा परिवार नियोजन सेवा तथा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा सङ्घले गरेको छ । महासचिवको भ्रमणले नेपालको दुर्गम क्षेत्रमा बसोबास गर्ने तथा सेवाको पहुँचबाट वञ्चित सेवाग्राहीमा सेवाको पहुँच बढाउन तथा उनीहरुको प्रजनन स्वास्थ्यको अधिकारलाई स्थापित गर्नको लागि सहयोग पुग्ने अपेक्षा  सङ्घले गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा महिला सहायकमन्त्री द्वारिकादेवी ठकुरानीले नेपाल परिवार नियोजन सङ्घको स्थापना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप