प्रतिनिधिसभा बैठक : चार सांसदको विदा स्वीकृत, कोइरीको विदा स्वीकृत भएन
काठमाडौँ । प्रतिनिधिसभा सांसदहरु मनोरमा शेरचन, बीनाकुमारी थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत भएको छ । शुक्रबार राति बसेको प्रतिनिधिसभा दोश्रो बैठकले चार सांसदको विदा स्वीकृत गरेको हो ।
सभामा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विदा भने स्वीकृत भएन । उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने बताइएको छ ।
दिउँसो बसेको संसद बैठकमा हत्या आरोप लागेर फरार रहेका सांसद कोइरीको विषयलाई लिएर विवाद भएको थियो । बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले यो अधिवेशनभर संसद्मा अनुपस्थित भएका सांसदहरूको नाम सुनाएका थिए । एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सूचना सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा लगायतका सांसदहरुले विरोध जनाएका थिए ।
सांसद खतिवडाले विरोध जनाएसँगै कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरू उठेर विरोध गरेका थिए । सभामुखले फरार सांसद कोइरीको बारेमा बिरामी विदा लिएको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने माग समेत सांसदहरुले गरेका थिए ।