सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
लघुकथा

दुई लघुकथा

शनिबार, १६ वैशाख २०८०, ०५ : १७
शनिबार, १६ वैशाख २०८०

१ः छोरी

“आमाले खाना र औषधी खानु भयो ?” बढी कामको चापले ढिलो आइपुगेको मैले आउँदा आउँदै श्रीमतीलाई सोधेँ । 

“हजुर ढिलो गरी आउनु भयो नि । आमालाई खाना र औषधी खुवाएर बसेको म त ।” दराजमा ब्याग राखिदिँदै उनले भनिन् । 

म बाथरुम पसेर फ्रेस भएँ । आमाको कोठामा गएँ । 

“आमा कस्तो छ अहिले ?” आमाको हात समातेर सोधेँ । 

“धेरै बिसेक भएको छ बाबु ।’ आमाले भन्नुभयो । 

सायद मेरै प्रतीक्षामा हुनुहुन्थ्यो होला । त्यसैले, निदाउनु भएको रहेनछ । 

“ल म पनि खाना खान्छु है आमा ?” भन्दै म भान्छा कोठामा आएँ र श्रीमतीसँग भने, “आमालाई औषधीले काम गरे जस्तो छ । मुहार पनि हिजो बेलुकाको भन्दा उज्यालो छ ।” 

“औषधीले त काम गर्यो होला । तर, आज नानु आउनु भएको छ, त्यसैले पनि होला । बेला बेलामा नानु आइराखे पनि हुने ।” उनले भनिन् । 

“ए हो ? बैनीलाई त देखिन ।” मैले भने । 

“यतै सोफामा निदाउन खोज्दै हुनुहुन्थ्यो । भोलि बिहान दादासँग भेट हुन्छ । बरु बेडमा राम्रोसँग निदाउनु भनेर पठाएँ ।” उनले भनिन् । 

आज मलाई श्रीमतीको अनुहार हेरिरहौँ जस्तो लाग्यो । 

“तिमी माइत नगएको कति भयो ? आउँदो शनिवार म घरमा आमालाई हेरेर बस्छु । तिमी पनि माइत गएर आमालाई भेटेर आऊ ल ।” मैले भने ।

२ः आमाको गणित 

“आज हाम्रो घरमा बाबा आउनु भएको छ ।” दीपकले भन्यो । 

दीपक मेरो छोराको साथी हो । हामी यहाँ आएदेखि नै मेरो छोराको मिल्ने साथी भएको छ ऊ । म पनि उसँग गफ गर्न मन पराउँछु । 

“घरमा खोज्नु हुन्छ होला नि, अब घर जानु पर्दैन बाबु ?” मैले सम्झाएँ । 

“मामुलाई भनेर आएको हुँ ।” उसले भन्यो । 

उसको मामु पनि दीपक मेरो छोरासँग खेल्दै छ भने पछि ढुक्क हुनुहुन्छ । 

“ए आज त बाबाले राम्रो नाना ल्याउनु भयो होला । चकलेट पनि ल्याउनु भयो होला है ?” मैले जिस्काउदै भने । 

उसले मुसुमुसु हाँस्दै आफूले लगाएको कपडातर्फ हेर्यो । उसले नयाँ कपडा लगाएर देखाउन आएको मैले ख्याल गरेको रहेनछु । 

“आहा, कति राम्रो सुहाउँदो कपडा रहेछ ।” मैले पनि मक्ख पारिदिएँ । 

नयाँ कपडाको खल्तीबाट उसको साथीलाई एउटा चकलेट दियो । 

“धेरै छ चकलेट ? ” मैले जिस्कँदै सोधेँ । 

“अरू त धेरै छ चकलेट । तर यस्तो खाले थोरै भएर घरको सबै जनालाई दुई दुइवटा मात्र दिनु भनेर बाबाले मामुलाई दिनु भएको थियो ।” उसले भन्यो । 

“ए उसो भए एउटा आफूले खाएर एउटा साथीलाई दिएको हो ?” मैले सोधेँ । 

“हैन मैले त दुई वटा खाएँ । हाम्रो ममीलाई गन्ती गर्नै आउँदैन । सधैँ मलाई बढी दिनुहुन्छ ।” दीपकले भन्यो ।

पोखरा–७ मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप