सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
पुस्तक चर्चा

समयको भरिया ‘अनुभूतिको अवतरण’

शनिबार, १६ वैशाख २०८०, १० : १६
शनिबार, १६ वैशाख २०८०

अनूभूतिहरु जब शब्दमा ओर्लिन्छन्, ती कुनै काव्य बन्छन्, कुनै आख्यान । कविताको स्वर्ग अलङ्कार हो, लक्षणा हो, व्यञ्जना हो । तर कति ठाउँमा कविता पनि निबन्ध बन्धन, कथा बन्छन् । यस्तै कवितात्मक निबन्धसंग्रह लिएर साहित्यकार रञ्जना निरौला आएकी छिन् । 

कवितामय निबन्धहरूको एउटा दरबार जस्तो लाग्छ “अनुभूतिको अवतरण”, जसमा निबन्धकार निरौलाले आफूले आफ्नो जीवनको करिब २ दशक लामो समयसम्म भोगेको समयानुभूतिलाई पोखेकी छिन् । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनाई छ, “निबन्ध टेबुल गफ वा कुराकानी हो । अनुभूतिको अवतरणमा यस्तै कुराकानी छन् । शिरिषसँगको शब्द संवादबाट सुरु गरिएको अनुभूतिको अवतरणभित्र समावेश गरिएका पन्ध्रवटै निबन्धहरू फरक—फरक भाव भूमिका छन् । 

यद्यपि सारभूत रूपमा सबै निबन्धमा अनुभूतिको हवाइजहाजले लामो दुरीको उडान भरेर निबन्धमै अनुभूतिलाई अवतरण गरेका छन् । निबन्धहरू कवितामय छन् । एकलापमा संवादमय पनि छन्  । सशरीर मनुष्य नभए तापनि मनुष्य हुनुको झझल्कोले मनुष्यलाई मनुष्य छ भन्ने भान जसरी दिलाउँछ । 

अर्थात् सूर्य नदेखिए तापनि सूर्यको किरणले सूर्य छ भन्ने विश्वास जसरी दिलाउँछ । ठिक त्यसै गरी साहित्यले समाज कहाँ, कस्तो, कसको, कसरी, कसमा अडिएको छ र के ले जकडिएको छ भनेर स्पष्ट देखाउँछ । सामाजिक संरचना, इतिहासको नालीबेली, प्राकृतिक पराकम्पनहरूको बीचमा त्रासमय हर्षोल््लासको रोचक वर्णन गरिएको छ निबन्धसंग्रहमा । 

१५ वटा आत्मपरक शैलीका निबन्धको संग्रहमा प्रथम निबन्ध शिरिषसँगको शब्दसंवादबाट प्रारम्भ गरिएको छ । यसमा निबन्धकारले नेपाली साहित्यका पाठकमा जिज्ञासाको विषय बनेको र धेरै समयदेखि चर्चाको विषय बनेको शिरिषको फूल उपन्यासमा शङ्कर लामिछानेको भूमिकाबारे गहन वितृष्णा पोखेकी छिन् । 

संसारलाई सम्मोहित गर्न सक्ने आविष्कारको आत्मलापमा निरौला आविष्कारै आविष्कारले भरिपूर्ण यस दुनियाँमा  जीवन सुन्दर तरिकाले जिउनका लागि मोहको आवश्यकता पर्ने उल्लेख छ । मोहको प्राप्तिका लागि मनुष्यले जस्तोसुकै कर्म गर्न पनि आफूलाई तयार पार्छ तर मोहको समाप्ति भएसँगै कर्महरूलाई पनि मनुष्यले पन्छ्याउँदै जाने कुरा निबन्धको सार रहेको छ । 

बलात्कार, काशी, बृन्दावन, राजनैतिक व्यवहार, कुसंस्कार, प्रेम, अध्यात्म विषयक् रहेका यी निबन्ध पठनीय छन्, रोचक छन् । कहीँ कहीँ निबन्ध पढ्दा कविता नै पढेको आभास हुन्छ । 

मनुष्यमाथि आईपर्ने समस्या तिनको समाधानका लागि विज्ञानको उपयोग भन्दा पहिला व्यक्तिको उपयोग हुने कुरा निबन्धमा आएको छ । बेला बखतमा अस्वाभाविक मानव समुदायले भोगिरहेका दैवी प्रकोपका समस्या भनौ या महामारीको सामना गर्न मनुष्यले तयार रहनुपर्ने शास्वत कुराहरु छन् । 

विज्ञान त एउटा सुविधा न हो । एउटा प्रयोग न हो । एउटा आधुनिक तरिका न हो । जीवन जिउन सहज माध्यम सिकाउने एउटा कार्यशैली न हो । जस्तो सुखमा युद्धहरू हुन्छन् र दुःखमा युद्ध गर्नेहरू समेत त्रसित हुन्छन् । यस्तै कुरा छन् निबन्धभित्र । 

अनुभूतिको अवतरणमा आफ्ना अनुभूतिलाई मिसाउँदै पढ्ने हो भने गर्मी समयमा खाएको अमिलो अचारजस्तै हुन्छ यसको अवतरण पनि । 

अनुभूतिको अवतरणमा झण्डै एक चौथाई भागमा प्रेमको चर्चा छ । ती अनुभूतिजन्य प्रेमका अमृतरश्मिले हरेक पाठकको मन उज्याल्छ । प्रेमले कसलाई जित्न सकिँदैन र ? प्रेमकै बीचमा सामाजिक संस्कृति र परम्पराप्रति चम्चमाउँदो सुरिलो खुकुरी प्रहार गरेकी छिन् निरौलाले निबन्धमा । 

यही त हो लेखक हुनुको फाइदा । आफ्नो कुरालाई बढी नै प्राथमिकता दिन पाइन्छ । उसो त आजका दिनमा केही सामाजिक संस्कारहरूप्रति वितृष्णा पनि बढ्दो नै छ । कतिपय संस्कार मानेका कुसंस्कारहरू र समाजका विसङ्गतिहरूप्रति लेखिकाले खेद प्रकट गरेकी छिन् । 

एक्काइसौँ शताब्दीमा विज्ञान र प्रविधिको नवीनतम् प्रयोग भइरहेको समाजमा घट्ने र घटिरहेका आपराधिक घटनाहरू हेर्ने हो भने  बृहत्तर घटना छन् । यी घटना दिनहुँ नवीन रूपमा जन्मिरहेका छन् । यसै बीचमा पछिल्लो समयमा सामाजिक चर्चाको विषय बनेको घटना हो जबरजस्तीकरण । 

जबरजस्तीकरणीका घटनाबारे आर्तनाद शीर्षकको निबन्धमा निरौलाले घोर भर्सना गर्दै खबरदारी गरेकी छिन् । सम्बन्धित निकायप्रति खेद व्यक्त गरेकी छिन यो पढदा लाग्छ उनको अनुभूति हामी सबैको साझा हो  ।

 निबन्धभित्र प्रेमबारे धेरै थोक समेटिएको छ । जस्तैः प्रेम सबथोक हो तर प्रेम केही पनि होइन जीवनका सामु । प्रेम अरूमा निर्भर रहन्छ । प्रेम त जीवनको बोध हुने समयमा मात्र प्रकट हुन्छ । 

मृत्युसँगको जीवनको सम्बन्ध अचम्मको छ । मानिसले अधिकांश कर्महरू जानाञ्जन गर्दछ । तर मृत्युसँगको पूर्ण यात्राको आरम्भ अन्जानपूर्ण हुन्छ । मनुष्य आफैँ बाध्य छ आफ्नै भागको मृत्यु बिर्सनलाई । सम्झोस् पनि कसरी आफ्नै अन्त्येष्टीको कथा ? 

संसार आफ्नै गति र आफ्नै लयमा छ । मनुष्यहरू पनि आफ्नै गति र आफ्नै लयमा छन् । यस्तै सार्वभौम तर पीडायुक्त संसारिक प्रपञ्चका कुराहरु छन् । प्रसून छन् अनुभूतिका अङ्कुर निबन्धभित्र प्रेमिल धर्तीमा । 

कुनै पनि चिज नष्ट नभई नयाँ त के नै अङ्कुराउँछ र ? मातृत्व भेट्टाउनका लागि कुमारीत्वलाई तिलाञ्जली दिनैपर्छ । हर श्वास बाँच्नका लागि भित्रका श्वास पनि त बाहिर फाल्नै पर्छ । 

सकिनु नै नयाँको सृष्टि हुनु हो । गरिबी सकिएपछि धनी भइन्छ । धन सकिएपछि गरिबी आउँछ । यस्तै चाखलाग्दा विषयवस्तु समेटिएको अनुभूतिको अवतरणमा थोरैमा पनि शान्तिप्रिय बन्ने नेपालीको बानीलाई सम्मान गरिएको छ निबन्धमा । 

समग्रमा देशले भोगेका सास्ती, सामाजिक व्यवस्था, उत्पीडनका पीडाले प्रज्वलित भएका राँकेशब्द, प्रेमालयका घुम्ती, जीवनका अनेकौ स्मरणीय पल, रगतले सिञ्चित समय, भरिपूर्ण भित्रको शून्यता, राजधानीप्रतिको मान्यता, राजनीतिक विचलन तथा आस्थाकेन्द्रीत नेतृत्व लगायतका पक्ष निबन्धसङ्ग्रह अनुभूतिको अवतरणभित्रका निबन्धमा छन् । 

अन्त्यमा,

निबन्धकार रञ्जना निरौलाले आत्मपरक शैलीमा लेखिएको प्रस्तुत निबन्धसंग्रहमा परिष्कृत र परिमार्जित भाषा शैलीको प्रयोग छ । अभिव्यक्तिगत शैलीमा पृथक खालको आकर्षण पाइन्छ । पाठकलाई यसरी तान्न सक्नु निबन्धकारको सफलता हो । 

शुक्तिमय र र कवितात्मक प्रस्तुतिले निबन्धमा मिठास थपेको छ । विषयवस्तुको छनौट, भाव विधान र अभिव्यक्ति कला तीनवटै दृष्टिले निबन्ध उत्कृष्ट छन्  । यसमा चिन्तन छ, समाज र मान्छे छन्  । कुरिती, पौरस्त्य दर्शन, विज्ञान र विद्रोह छ । 

निबन्धमा उठान गरिएको विषयवस्तु र तिनको व्यवस्थित गतिशीलता उत्कृष्ट भएर पनि यसभित्र भिन्न भाव, शब्द चयन, प्रस्तुतिमा पुनरावृत्ति भएझैँ लाग्छ । शिखा बुक्सले २०७९ मा प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उमेश अवस्थी आदर्श
उमेश अवस्थी आदर्श
लेखकबाट थप