सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कविता

गरिबीका विरुद्ध एकजुट होऔँ

शनिबार, १६ वैशाख २०८०, १० : ३४
शनिबार, १६ वैशाख २०८०

हरेक बिहान 
दूधे बालकहरूको रोदनसँगै
बिउँझिन्छ गरिबी
हरेक साँझ मजदुर, किसानको
भोको पेटसँगै
निदाउँछ गरिबी

यो आउँछ
गाउँ बस्तीहरूमा 
सारङ्गी पेट लिएर 
र, भोकाएका बच्चाहरूको 
घाँटी निमोठेर जान्छ ।
यो आउँछ
कोलाहल सहरका गल्लीहरूमा
र, रंगीन सपनाहरूको 
जरा उखेलेर जान्छ ।
यो आउँछ
सबै स्थानमा कष्ट पीडा बोकेर
र, जान्छ रोग, भोक र शोक दिएर
यो आउँछ
अभाव र अन्तहीन विपत्ति बोकेर
र, जान्छ बिर्सिनै नसक्ने 
अनिकालको मृत्यु दिएर

गरिबी एक विपत्ति हो
एक कठोर वास्तविकता पनि हो
यो विश्वले झेलेको छ वर्षौँदेखि
मानवता माथिको कालो दाग यो
जो समाजमा विद्यमान छ युगौँदेखि

विश्वलाई गरिबीबाट मुक्त गर्न
समृद्धिको आशा जगाउन
सामर्थ्यका साथ उठ्नुपर्छ
गरिबीका विरुद्ध संघर्षको
ढोका खोल्न जुट्नुपर्छ ।
विश्वका सबै राष्ट्र एक भएपछि
के हुँदैन र यहाँ ?
एउटा सानो कदमले त बदलिन्छ 
मानिसको जिन्दगी
बदलिन्छ समाज 
बदलिन्छ विश्व
आऔँ, सबै एकजुट भई लडौँ
गरिबीका विरुद्ध
बालौँ, मसाल गरिबीका विरुद्ध
बनाऔँ, योजना गरिबीका विरुद्ध ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शैलेन्द्र ‘विक्रम’ गिरी
शैलेन्द्र ‘विक्रम’ गिरी
लेखकबाट थप