सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘बेस्ट ब्रेनलाई नेपालमा टिकाउनु चुनौती देखियो’

आइतबार, १७ वैशाख २०८०, १८ : २५
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । नेपालबाट विदेश पढ्न जानेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । प्रत्येक वर्ष हजारौंको संख्यामा विदेश पढ्नका जाने गरेका छन् । 

विदेश पढ्न जानको लागि चाहिने अनुमतिपत्र (एनओसी) एक लाखभन्दा बढी जारी हुन्छ । वर्षेनी अर्बौ रुपैयाँ विदेश विश्वविद्यालयमा तिर्नुपर्ने बाध्यता छ । 

यसरी विदेश पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने एनओसी जारी गर्ने विषयमा सरकारले हालै निर्देशिका जारी गरेको छ । उक्त निर्देशिकाले अहिलेसम्म दिँदै आएको एनओसीलाई व्यवस्थित गर्न बनाइएको सरकारले बताएको छ । 

सरोकारवालाहरूले विदेश जान खोज्ने विद्यार्थीलाई एनओसी जारी गर्न कडाइ गर्नु मूर्खता रहेको बताएका छन् । 

काठमाडौँमा आयोजित नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौँमा आयोजित ‘एडुक्लेभ’ कार्यक्रमका वक्ताहरूले एनओसी दिने विषयमा कडाइ गर्नुभन्दा देशभित्रको शिक्षालाई गुणस्तरीय र व्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । 

हाम्रा शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यकता विषयक छलफल कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले पढ्नको लागि विदेश जान रोक्नुभन्दा देशको सिस्टम परिवर्तन गर्नुपर्ने बताइन् । 

अन्य देशको जसरी काम गर्न नसकिएको भन्दै उनले आफूमा आत्मबल नभएसम्म अरूलाई मात्र राम्रो र बलियो देखिने बताइन् । 

विदेश जाने क्रम रोक्नको सबैभन्दा उत्तम विकल्प भनेको विश्वस्तरी शिक्षाको विकास गर्नुपर्नेमा उनको जोड थियो । 

‘विदेश जान रोक्छु भनेर सकिँदैन । त्यसका लागि मेरो एउटै धारणा सधैँ रहन्छ । हाम्रा विश्वविद्यालयमा गुणस्तरीय शिक्षा दिऔंं । यहि रोजगारीको अवसरहरू सिर्जना गरौं । त्यसपछि जो साँच्चिकै विदेशी शिक्षा लिन खोज्छन्, तिनीहरू मात्र जान्छन् । नत्र ऋण खोजेर भएपनि शिक्षा आर्जन गर्नुका साथै आफ्नो भविष्य सुनिश्चित गर्न जो पनि जान्छन्,’ पौड्यालले भनिन् । 

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आम नागरिकको हिसाबबाट भन्नुपर्दा नेपालमा कहीँ कतै पनि व्यवस्थित नभएको बताए । एनओसी दिएर विद्यार्थीलाई विदेश पठाउन रोक्नुभन्दा भन्दा पहिला आफ्ना विश्वविद्यालय तथा कलेजहरू राम्रो बनाउनुपर्ने उनको भनाई छ । 

‘हाम्रा विश्वविद्यालयले समयमै परीक्षा गर्दैनन् । समयमै नतिजा प्रकाशन गर्दैनन् । सेमिस्टर प्रणाली भनेको छ । त्यो आधारमा काम गर्नको लागि कार्यतालिका छैन । अनि विद्यार्थीहरू विदेश नगएर कहाँ जाने ?,’ पौडेलले प्रश्न गरे । 

विदेश पढ्न जाने विद्यार्थीहरू साँच्चिकै पढ्नकै लागि जान खोजेका हुन वा अवसरका लागि जान खोजेको त्योबारे सोच्नुपर्ने उनले बताए । 

‘छिर्नका लागि पढ्न जाने बहाना बनाएका हुन कि साँच्चै पढ्नकै लागि जान खोजेका हुन् । त्यो कुरा हामीले देखिरहेकै छौं । नेपालमा भविष्य नदेखेर धेरै युवाहरू विदेश जाने गरेका छन् । यसरी सबै विदेशियो भने नेपालमा को बस्ने ?,’ उनले भने । 

राज्यले शिक्षाको दायित्व पुरा गरेको छ कि छैन भन्ने प्रश्न प्रमुख रहेको पौडेलको भनाई छ । 

नेपालको शिक्षा क्षेत्र बिग्रिँदै गएको भन्दै यसको सुधार गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको उनले बताए । 

‘नेपालका विश्वविद्यालय तथा कलेजहरू राष्ट्रिय विद्यार्थी त आकर्षित गर्न सकेको छैन । अन्तर्राष्ट्रिय विद्यार्थी कसरी आकर्षित गर्न सक्छ । पहिला हाम्रा विश्वविद्यालय सुधार गरौं । त्यस्तो गर्न सकियो भने विद्यार्थी विदेश जान बाध्य हुँदैनन्,’ उनले भने । 

नेपाली विद्यार्थीहरू विदेश पठाउने मात्र नभई विदेशी विद्यार्थी पनि नेपाल ल्याउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई छ । 

पूर्व शिक्षा सचिव दीपेन्द्र विक्रम थापाले बेस्ट ब्रेनलाई नेपालमा टिकाउनै समस्या भइरहेको बताए । कतिपय विद्यार्थीहरू विदेशमा अलपत्र पर्ने गरेको भन्दै त्यसमा राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

सरकारले एनओसी दिने विषयमा कडाइ गर्नुका थुप्रै कारणहरू रहेको उनको भनाई छ । ‘एनओसीमा कडाइ धेरै आधारमा देखिएका छन् । एक त यस्तो क्राईसिसका बेला धेरै पैसा विदेशियो भन्ने हो । अर्को कुरा विद्यार्थीहरू अलपत्र परेका घटना धेरै आइरहेका छन् । त्यस्तै नेपालका राम्रा विद्यार्थी विदेशिन थाल्यो भने अर्को समस्या हुन्छ ,’ उनले भने । 

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) अध्यक्ष प्रकाश पाण्डेले नेपालको शिक्षा राम्रो नभएरकाले विद्यार्थीहरू विदेश जाने गरेको बताए । नेपालबाट विद्यार्थीहरू विभिन्न कारणले जाने गरेको उनको भनाई छ । 

‘एउटा विद्यार्थी जो आर्थिक रूपमा सम्पन्न छ । उ साँच्चै नै विदेशी शिक्षा लिन चाहन्छ । त्यस्तै अर्को खालका हुन्छन्, जो आर्थिक रूपमा मध्यम खालका छन्,’ अध्यक्ष पाण्डेले भने, ‘उनीहरू ऋण खोजेर भएपनि जाने गरेका छन् । उनीहरूले नेपालमा आफ्नो भविष्य सेक्युअर देख्दैनन् । त्यसैले विदेशमा गएर पढ्ने र सेटल हुन खोज्छन् ।’ 

नेपालको शिक्षा क्षेत्रमा प्राप्त सुधार गरेर पढेपछि रोजगारीका अवसरहरू सिर्जना गर्ने हो विद्यार्थीहरू आफ्नो भविष्य खोज्न बाहिर जानै नपर्ने उनको भनाई छ । 

कार्यक्रममा सांसदहरू प्रदीप पौडेल र डा. विमला राई पौड्यालले शिक्षा क्षेत्रमा देखिएका समस्या नीति नियमका कारण भए त्यसलाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप