आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

दोस्रो प्रयासमा निराको हत्या, समय ७ मिनेट

आइतबार, १७ वैशाख २०८०, १९ : १९
आइतबार, १७ वैशाख २०८०

काठमाडौं । कपनस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्या दोस्रो प्रयासमा भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘निरु किचेन’को सञ्चालिका निरा पाण्डे आचार्यको हत्या दोस्रो प्रयासमा भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए । 

हत्यामा संलग्न आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर–१० घर भएका ३५ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

कराँतेमा ‘ब्ल्याक बेल्ट’ पाएका विनोदका लागि सरस्वतीनगर नौलो ठाउँ थिएन । चाबहिल स्थित डिस्कोमा काम गर्दा उनी सरस्वतिनगरमा सानीआमाकोमा बस्थे । विनोद क्लबहरूमा ‘बाउन्सर’को काममा पोख्त छन् । झापाको बेबिलोन क्लबमा पनि उनले ‘बाउन्सर’को जागिर खाएका थिए । पछिल्लो समय ठमेल स्थित भाइब्रेट क्लबबाट उनले जागिर छाडेका हुन् । 

वैशाख ७ मा विनोद भक्तपुर मनोहराफाँट स्थित बिपी स्मृति आँखा अस्पताल नजिकैबाट बस चढेर चुच्चेपाटी स्थित केएल टावरमा गए । मनोहरा स्थित होटल ‘पिजा हब’ मा उनी एक महिनाअघि देखि साथीहरूसँग बस्दै आएका थिए । त्यसदिन २ बजे उनी निराको पसलमा पुगेका हुन् । 

निराको पसलमा सुरुमा विनोद भाँडा किन्ने बहानामा प्रवेश गर्छन् । ‘चिया कप’ लगायतका सामान प्याक गर्न लगाउँछन् । सामान किन्ने बहाना बनाइरहेको बेला निराकी १० वर्षीया छोरी चिया लिएर आइन् । त्यसपछि विनोद पसल बाहिर निस्किए । ‘दिउँसो २ बजेर ३४ मिनेटमा आरोपी एटिएम बुथमा गएर पैसा लिएर आउँछु भनेर निस्केको देखिन्छ’ अनुसन्धान समितिका सदस्य समेत रहेका एसएसपी दिनेश आचार्यले भने–‘बाहिर चुरोट खाएर आरोपी फेरि पसलमा प्रवेश गरेको देखिन्छ ।’ 

मनोहराबाट विनोद ११ बजेतिर चाबहिलतर्फ लागेका थिए । मध्यान्ह २ बजेर ४४ मिनेटमा आरोपी फेरी निराको पसलमा प्रवेश गर्छन् । पसलमा दोस्रो पटक छिरेको ७ मिनेटपछि विनोद ३५ वर्षीया निराको विभत्स हत्या गरेर बाहिरिन्छन् । 

मुक्का प्रहार, त्यसपछि चक्कु 

दोस्रो पटक पसलमा प्रवेश गरेर विनोदले निरालाई लुट्न खोज्छन् । निराले गलामा सुनको सिक्री लगाएकी थिइन् । सिक्री लुट्ने उद्देश्यले आरोपीले निरालाई पछाडिबाट मुक्का प्रहार गर्छन्। अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘मुक्का प्रहार गरेपछि निराले प्रतिवाद गर्छिन्, त्यसपछि पैसा निकाल भनेर आरोपीले चक्कु देखाउँछन् ।’

निरा कराउन खोज्छिन् । निराले आफ्नो हात समातेपछि विनोदले निराको मुख थुनेर हातमा बेजोडले टोकेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार निराको नाडीमा टोकेको डोब देखिन्छ ।

‘प्रतिवाद गर्न थालेपछि बाहिरबाट मानिस आउने डरले विनोदले अन्धाधुन्ध चक्कुले प्रहार गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न ती अधिकृत भन्छन्–‘कराँतेको ब्ल्याकबेल्ट भएको हुनाले विनोद शारीरिक रूपमा मजबुत रहेछन् ।’ 

हत्या गरेर आरोपीले निराको गलाको सिक्री र काउन्टरको १२ सय नगद लिएर हिँडेको थाहा भएको छ । क्लोज सर्किट टेलिभिजन (सिसिटिभी)को रेकर्ड अनुसार विनोद २ बजेर ५२ मिनेटमा त्यहाँबाट हिँडेको भेटिएको छ । करिब ७ मिनेटमा हत्या गरेर उनी सफा टेम्पोमा तेन्जिङ चोक हुँदै चाबहिल तर्फ लागेका थिए । चाबहिल चोकको ओरालोमा पुगेपछि पठाओमा ‘अफलाइन’ जडीबुटीसम्म गए । जडीबुटीबाट फेरि अर्को पठाओ लिएर आरोपी मनहरा पुल नजिक रहेको होटलमा गएको अनुसन्धानबाट थाहा भएको छ । 

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार विनोद ३ बजेर ३३ मिनेटमा मनहरा स्थित ‘पिजा हब’मा पुगे । जहाँ उनी १ महिनादेखि बस्दै आएका थिए । मनहरामा पुगेर हत्या गर्दा प्रयोग गरेको सर्ट, पाइन्ट र झोला राखेको उनले प्रहरीलाई बताएका छन् । 

पसलमा बेच्न राखेकै चक्कु प्रहार गरेर निराको हत्या भएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । एआईजी बज्राचार्यले भनिन्–‘छुरा मनोहरा खोलमा फालेको आरोपीको भनाई छ, हाम्रो टिमले खोज्दै छ ।’ 

लुटेको सिक्री ५५ हजारमा बालाजु स्थित तार्केश्वर पाथीभरा सुनचाँदी पसलमा बेचेको भेटिएको छ । सो सिक्री प्रहरीले बरामद गरेको छ । ‘सुन लुट्नकै लागी हत्या भएको देखिन्छ’ एसएसपी दिनेश आचार्य भन्छन्–‘मृतक र आरोपीको बिचमा यसअघि चिनजान सम्बन्ध थिएन ।’ 

निराको हत्या गरेको ६ दिनपछि आरोपी काठमाडौँबाट बस चढेर झापा तर्फ लागेका थिए । शनिबार उनी झापाबाट पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप