सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जमुनाहा नाका दुई दिन बन्द हुने

सोमबार, १८ वैशाख २०८०, १० : ४०
सोमबार, १८ वैशाख २०८०

नेपालगञ्ज । नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । मङ्गलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म  नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए । यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उनले उल्लेख गरे । 

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको हो । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको छ ।

नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलताअनुसार काम गर्ने सहमति भएको छ ।  सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमानाका बन्द हुँदै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप