आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१३२ वर्ष पुरानो मे दिवसको परम्पराको आजकाे औचित्य के ?

सोमबार, १८ वैशाख २०८०, १२ : २३
सोमबार, १८ वैशाख २०८०

विगत तीन दशकको विश्वव्यापीकरणले रोजगारीको परिभाषा र प्रकृति नै परिवर्तन गरेको छ । काम गर्ने तरिकामा धेरै परिवर्तन आएको छ, कोरोना संक्रमणको समयमा, विश्व भरी रिमोट वर्किङ (कार्यालयभन्दा बाहिरको स्थान) को रूप पनि देखियो ।

मजदुर र मजदुरी दुवैको अर्थ समय सँगै फेरिएको छ । यस्तोमा १३२ वर्ष पुरानो मे दिवस परम्पराको आजको औचित्य के त ? 

अहिलेको समयमा पनि मजदुर दिवस चाहिन्छ ?

गुडविभ इन्टरनेशनल नामको एक संस्थाले सन् २०२० मा गरेको सर्वेक्षण अनुसार महामारीका कारण मजदुरहरू ऋणमा फस्ने जोखिम तीन गुणा बढेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार सन् २०१६ मा विश्व भरी ४ करोडभन्दा बढी मानिस बँधुवा मजदुरीका सिकार थिए ।

अनुमानका अनुसार यीमध्ये ७१ प्रतिशत महिला थिए । आइएलओको सन् २०२१ को रिपोर्टमा बताइए अनुसार विश्वमा बाल मजदुरको सङ्ख्या बढेर १६ करोड भएको छ । कोभिड–१९ महामारीको असरले यो सङ्ख्यामा सन् २०२२ को अन्त्यसम्म ९० लाखसम्म वृद्धि हुनसक्ने रिपोर्टले चेतावनी दियो ।

मे १ मा नै किन मजदुर दिवस ?

विश्वभरका समाजवादी र मजदुर दलहरूको सङ्गठन द सेकेन्ड इन्टरनेशनलले सन् १८८९ को पेरिस सम्मेलनमा मजदुरको हक अधिकारको आवाज उठाउन मे १ का दिन रोजेको थियो ।

यो पश्चिममा औद्योगिकीकरणको युग थियो र कामदारहरूबाट सूर्योदयदेखि सूर्यास्तसम्म काम गर्ने अपेक्षा गरिन्थ्यो । अक्टोबर १८८४ मा अमेरिका र क्यानडाका ट्रेड युनियनहरूको सङ्गठन फेडरेशन अफ अर्गनाइज्ड ट्रेड्स एन्ड लेबर युनियनले मे १, १८८६ पछि मजदुरहरूले दिनमा ८ घण्टाभन्दा बढी काम नगर्ने निर्णय गरे । मे १ आएपछि अमेरिकाका विभिन्न सहरमा लाखौँ मजदुर हडतालमा उत्रिए ।

सिकागो यी आन्दोलनको केन्द्रमा थियो । यहाँ दुई दिनसम्म हडताल शान्तिपूर्ण रूपमा चल्यो । तर मे ३ को साँझ म्याककोर्मिक हार्वेस्टिङ मेसिन कम्पनी बाहिर हिंसा भड्कियो, जसमा प्रहरीको गोली लागेर दुई कामदारको मृत्यु भयो ।

भोलिपल्ट फेरि दुई पक्षबीच झडप हुँदा ७ प्रहरीसहित १२ जनाको ज्यान गयो । यसै कारणले दोस्रो अन्तर्राष्ट्रियले मे १ दिन रोजेको थियो । सुरुमा दिनको ८ घण्टा कामको मागका लागि विश्वभरका श्रमिकलाई एकताबद्ध हुन भनिएको थियो ।

यसपछि १८८९ देखि १८९० सम्म विभिन्न देशमा मजदुरहरूले प्रदर्शन गरे । सन् १८९० को मे पहिलो दिन बेलायतको हाइड पार्कमा तीन लाख मजदुर ८ घण्टा कामको माग गर्दै सडकमा उत्रिए । समय बित्दै जाँदा यो दिन मजदुरका बाँकी अधिकारप्रति ध्यानाकर्षण गर्ने अवसर पनि बन्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप