राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारी : विद्याबिरुद्ध कि पार्टी राजनीतिका लागि ?
काठमाडौं– राजनीतिमा ‘हार’ निश्चित हुँदाहुँदै पनि मैदान खाली गरिँदैन ।
राजनीतिक अस्तित्व र भविष्यका लागि ‘हार’ स्वीकार गरिन्छ र मैदानमा प्रवेश गरिन्छ ।
तर, काँग्रेसकै केही नेतालाई मान्ने हो भने राष्ट्रपति चुनावमा काँग्रेस मैदानमा उत्रिने ‘मूड’ मा थिएन ।
किनभने बामगठबन्धनसँग राष्ट्रपतिका लागि सुविधाजनक बहुमत छ ।
तर, काँग्रेसले राष्ट्रपतिको चुनावलाई ‘राजनीतिक लडाईं’ भन्दा पनि ‘इगो’ का रुपमा लियो ।
जव एमालेले राष्ट्रपतिका लागि हालकी राष्ट्रपति विद्यादेवि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गर्यो, त्यसको १२ घण्टा नबित्दै काँग्रेसले आफ्नो पनि उम्मेदवार छान्यो ।
काँग्रेसले उम्मेदवार यस्तो छान्यो, राष्ट्रपतिको उम्मेदवारका लागि उनी आफै पनि तयार थिइनन् र राष्ट्रपतिको उम्मेदवार बनाउँदा काँग्रेसको ‘पोलिकिटल मार्केटिङ’ होस् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका पछिल्ला निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘असहयोग’ गरेकी थिइन् भन्ने काँग्रेसको बुझाई थियो ।
यसैकारण काँग्रेसले राजनीतिक परम्पराका लागि भन्दा पनि विद्यादेवी भण्डारीका विरुद्ध आफ्नो उम्मेदवार अगाडि सार्यो ।
एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु अगाडि नै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीसँगको कुराकानीमा भनेका थिए, ‘बामगठबन्धनले विद्यालाई अगाडि सारे, काँग्रेसले पनि महिला नै अगाडि बढाउँछ । त्यसो नभए मानबहादुर विश्वकर्मा उम्मेदवार हुन्छन् ।’
प्रवक्ता शर्माको यो भनाईले पनि काँग्रेसले आफ्नो राजनीति अस्तित्वका लागि नभई विद्याका विरुद्ध चुनाव लडेको सहज संकेत गर्छ ।
काँग्रेसले विद्या विरुद्ध नै उम्मेदवार उठाएको अर्को संयोग हो, गृहजिल्ला । राष्ट्रपतिका लागि काँग्रेसबाट उम्मेदवार बनेकी कुमारीलक्ष्मी राई भोजपुरकै हुन् । राष्ट्रपति भण्डारी पनि भोजपुरकै हुन् ।
राष्ट्रपति विद्या भण्डारीको विरासत मदन भण्डारीको पत्नीका रुपमा छ ।
उता कुमारीलक्ष्मीको विरासत सहिद दिवानसिंह राईको छोरीका रुपमा छ ।
काँग्रेसभित्र ‘हार्ने’ चुनावका लागि पनि टिकट लिन मारामार हुन्छ । तर, यसपाली कुमारीलक्ष्मी राई निर्विरोध उम्मेदवार बनिन् ।
बुधवार विहान ९ वजेको लागि काँग्रेस बैठक डाँकिएको थियो ।
निर्धारित समयभन्दा करिव एक घण्टापछि शुरु भयो ।
९ः४५ मा केन्द्रीय कार्यालय पुगेका सभापति देउवा केहिबेर आफ्नै कार्यकक्षमा भुले ।
मंगलवारमात्रै बुधवारका लागि बैठक आव्हान गरिएको थियो ।
बैठकमा रामचन्द्र पौडेलपक्षधर केही नेताहरु आएनन् ।
बैठकमा रामचन्द्र पौडेलबाहेक कोषाध्यक्ष सीतादेवी यादव र पूर्वमहामन्त्री प्रकाशमान सिंह देखिएनन् । कृष्णप्रसाद सिटौलापक्षका नेता पनि वैठकमा उपस्थित थिएनन् ।
८१ सदस्यीय केन्द्रीय कार्यसमितिमा एक तिहाई जति नेता मात्रै सहभागी भए ।
काँग्रेस कार्यालयको तेश्रो तल्लामा वैठक हल छ ।
त्यहीँ बसेको बैठकमा राष्ट्रपति उम्मेदवारका विषयमा छलफल शुरु गरियो ।
बैठकको शुरुमै सभापति देउवाले राष्ट्रपतिको उम्मेदवारका लागि कुमारीलक्ष्मी राईको नाम प्रस्ताव गरे । हिजोसम्म नेता मानवहादुर विश्वकर्मा राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा थियो ।
केन्द्रीय कार्यलयका सचिव डा.प्रदीप पराजुलीका अनुसार सभापतिले गरेको प्रस्ताव वैठकले एकमतले पारित गरेको थियो ।
राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय त्यहीँ भयो ।
लगत्तै केन्द्रीय समितिले दलको नेता चयन भएकोमा देउवा र उप नेता चयन भएकोमा विजयकुमार गच्छदारलाई बधाई दियो ।
त्यसपछि देउवाले बैठक सकिएको घोषणा गरे ।
राष्ट्रपतिको उम्मेदवार चयनका लागि वोलाइएको बैठक करिव १५ मिनेटमा सकियो ।
राष्ट्रियसभाका लागि देउवा सरकारले सिफारिस गरेका तीन जनाको नाम राष्ट्रपतिले ‘होल्ड’ गरेकी थिइन् ।
यस विषयले काँग्रेस र राष्ट्रपतिबीचको दूरी बढाएको थियो ।
देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेको थियो ।
पछि केपी ओली नेतृत्वको सरकारले निर्णय उल्टाँउदै डा.युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सिफारिस गरेको थियो । यो विषय अदालतसम्म प्रवेश गर्यो । अदालतले तत्काल सपथ नगराउनु भन्ने अन्तरिम आदेश दिएको छ ।
काँग्रेस नेता मीन विश्वकर्माले राष्ट्रपतिले आफ्नो मर्यादा कायम गर्न नसकेकोले उनीबिरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको बताए ।
काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले राष्ट्रपतिले राजनीतिक पूर्वाग्रह राखेको बताइन् । भुसालले राष्ट्रपतिको उम्मेदारी व्यक्ति विशेषसँगको विरोधलाई जोडेर हेर्न भने नहुने बताइएन् ।
उनले ‘तटस्थ’ मतको प्रावधान हटेकोले काँग्रेसले आफ्नो स्ट्याण्ड देखाउन पनि उम्मेदवारी दिन परेको बताइन् ।
अर्का केन्द्रीय सदस्य आनन्द ढुंगानाले ‘विगतमा राष्ट्रपतिले संसदीय अधिकार भन्दा वाहिर गएर असंवैधानिक कार्य गरेकोले भण्डारीको विरोध स्वरुप उम्मेदवारी दिएको’ बताए ।
अध्यादेश रोक्ने तथा सिफारिस गरिएका सदस्यलाई संविधान अनुसार मनोनित नगरेकोले उम्मेदवारी दिनुपरेको उनले बताए ।
सरकार गठन र राष्ट्रियसभा सदस्य मनोनयमा राष्ट्रपतिले गलत नजिर बसालेको आरोप पनि लागेको छ ।
अहिले काँग्र्रेसका पक्षमा कुल एक सय ९० मत छ ।
काँग्रेसका प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरि ६३ सदस्य छन् ।
प्रदेश सदस्यबाट एक सय १४ सदस्य छन् ।
राष्ट्रिय सभामा १३ सदस्य छन् ।
काँग्रेसबाट उम्मेदवार बनेकी राईको पक्षमा दुई सय मत कट्ने विश्वकर्माले दावी गरे ।
राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्तापछि उनले देशको विकास र समृद्धिका लागि आफ्नो उम्मेवारी रहेको बताइन् । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेत्री राईले आफ्नो जीत सुनिश्चित रहेको दावी पनि गरिन् । उम्मेदवार राईको उम्मेदवारी मनोनयनको प्रस्तावकमा काँग्रेस सांसद चित्रलेखा यादव, मान बहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाईँ, सुजता परियार, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, र राधा घले छन् ।
नेत्री राई नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका चर्चित नेता देवानसिंह राईकी छोेरी हुन् ।
फागुन २९ गते निर्वाचन हुनेछ ।
नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।
राष्ट्रपतिबाहेक अन्य पदमा काँग्रेसको निर्णय आउन वाँकी छ ।
थप समाचार