सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँडाघारी घटना : रहस्यमय बन्यो १ करोड १० लाख चोरी, प्रहरीले भेट्टाएन क्लु

मङ्गलबार, १९ वैशाख २०८०, १२ : २३
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पुष्पा गुरुङको घरमा भएको चोरी रहस्यमय बन्दै गएको छ । वैशाख १५ मा मान्छे नभएको मौकामा १ करोड १० लाख रुपैयाँ बराबरको सुन, अमेरिकी डलर र नेपाली रुपैयाँ चोरी भएको पीडितले प्रहरीलाई जानकारी गराएकी छन् ।

पुष्पा दुई महिनाअघि अमेरिकाबाट नेपाल फर्केकी थिइन् । अमेरिकाबाट फर्किँदा ल्याएको ३० हजार अमेरिकी डलर चोरी भएको छ । प्रहरी वृत्त बानेश्वरमा पुष्पाले डलर र नेपाली रुपैयाँसहित ६० लाख नगद र ६६ तोला सुन चोरी भएको उजुरी गरेकी छिन् ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेका छन् । चोरीमा संलग्नबारे अहिलेसम्म कुनै क्लु फेला नपरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । राठौरले भने, ‘अनुसन्धान भइरहेको छ, अहिलेसम्म कुनै क्लु भेटिएको छैन ।’

वैशाख १५ मा बिहान ११ बजे खाना खाएर घरधनी कोटेश्वर आएकी थिइन् । उनी घर फर्किँदा राति साढे ९ बजेको थियो । घर पुग्दा ढोकाको इन्टरलक समेत फुटाएर नगद र गहना चोरी भएको देखेपछि उनले प्रहरीलाई खबर गरिन् ।

साढे २ तलाको घरमा दुई तला भाडामा लागेको थियो । माथिल्लो तलामा पुष्पा बस्थिन् । बिहान ११ बजेबाट राति साढे ९ बजेको बिचमा चोरले ढुक्कसँग चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्,‘चोरले ढुक्कसँग चोरी गरेको देखिन्छ ।’

पुष्पा व्यवसाय गर्न भनेर दिनभर कोटेश्वर आसपासमा होटलको खोजीमा जुटेकी थिइन् । पुष्पा करिब १० वर्ष अमेरिका बसेर नेपाल फर्केकी हुन् ।   

घटना कागेश्वरी मनोहरा नागरपालिका–९ स्थित मेडिकल चोकको हो । सो घर र आसपासमा सिसिटिभी नभएको हुनाले अनुसन्धान असहज भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप