आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

इन्द्रजितको आरोह अवरोह : बादलदेखि ओलीसम्म यसरी भयो ‘कनेक्सन’

जनयुद्धकै समयमा सेनाका अधिकृतलाई पढाउँदा पढाउँदै माओवादीमा ‘इन्ट्री’
मङ्गलबार, १९ वैशाख २०८०, १४ : ३४
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाएर मानव तस्करी गरेको आरोपमा पक्राउ परेका छन् । माओवादी जनयुद्धकालमा ‘द्वन्द्व विशेषज्ञ’का रुपमा आफूलाई चिनाउने उनी पछिल्लो समय पूर्वमाओवादी नेता तथा हाल नेकपा एमालेमा रहेका पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’को निकट मानिन्छन् ।

इन्द्रजितले भारतको भुपाल नोवल्स विश्वविद्यालयबाट सैन्य क्षेत्रमा विद्यावारिधि गरेको बताउने गरेका छन् । तत्कालीन गृहमन्त्री बादलले उनलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेका थिए । उनी २०७४ साल फागुन १४ गतेदेखि ०७८ असार २९ गतेसम्म गृहमन्त्रीको सुरक्षा सल्लाहकारका रुपमा काम गरेका थिए । जबकि गृह मन्त्रालयमा सुरक्षा सल्लाहकारको दरबन्दी नभएकाले मन्त्रिपरिषद्बाट निर्णय गराएर उनको नियुक्ति भएको थियो ।

गृहमन्त्रीको सुरक्षा सल्लाहकार हुँदा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको आरोपमा मंगलबार प्रहरीले इन्द्रजितलाई पक्राउ गरेको हो ।

आमचोक गाउँपालिका–१, भोजपुरमा जन्मिएका इन्द्रजितका बुबा भारतीय आर्मी थिए । त्यसैले उनले उच्च शिक्षा भारतबाटै हासिल गरे । भारतबाट सैन्य क्षेत्रमा विद्यावारिधि गरेर फर्किएका इन्द्रजितले लामो समय तत्कालीन शाही नेपाली सेनाका अधिकृतलाई अध्यापनको काम गरे ।

माओवादीसँग इन्द्रजितको ‘कनेक्सन’

तत्कालीन माओवादीमा पूर्वी क्षेत्रका बुद्धिजीवीलाई पार्टीमा जोड्ने क्रममा माओवादीले सैन्य क्षेत्रका जानकार भएकाले कुमार फुदुङ र इन्द्रजित राई दुबैलाई तत्कालीन माओवादी नेता गोपाल किरातीले जोडेका थिए ।

माओवादीमा बुद्धिजीवी कम भएकाले आफूले नै कुमार र इन्द्रजित दुबैलाई जोडेको किरातीले बताए । कुमार तत्कालीन शाही नेपाली सेनाको मेजर जनरलबाट रिटायर भएका थिए भने राई सैन्य क्षेत्रका विज्ञ भएकाले उच्च प्राथमिकता दिएर पार्टी निकट बुद्धिजीवीमा राखिएको किरातीले बताए ।

माओवादीको पूर्वी कमाण्डको नेतृत्व बादलले सम्हालेको समयमा बादल र इन्द्रजितबीच आफूले नै भेट गराएको किरातीले दाबी गरे । पछि बादलले नै इन्द्रजितलाई प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गराएका थिए । त्यसपछि इन्द्रजित आफैँले प्रचण्ड र बाबुरामसँग सम्बन्ध विस्तार गरेका हुन् ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि हरेक नेपालीलाई तीन वर्षसम्म सैन्य तालिम दिनुपर्ने अवधारणा सार्वजनिक गर्‍यो । माओवादीले ल्याएको सैन्य तालिमको अवधारणा असाध्यै ठिक भएको भन्दै मेजर जनरलबाट सेवानिवृत्त भएका कुमार फुदुङले पत्रिकामा लेख लेखेरै समर्थन जनाए । नेपाली सेनाभित्र यस्ता मान्छे पनि छन् भन्दै गोपाल किराती लगायत अधिकांश माओवादी नेताहरुले कुमारको प्रशंसा गर्न थाले । त्यसपछि इन्द्रजितभन्दा पनि कुमारमाथि प्रचण्ड, बाबुरामदेखि अधिकांश माओवादी नेताहरुको नजर पर्न थाल्यो ।

माओवादी कोटाबाट ८३ जना अन्तरिम विधायक पठाउने भएपछि कुमार र इन्द्रजित दुवैको नाम सिफारिसमा पर्‍यो । तर यी दुईमध्ये एक जनामात्र अन्तरिम विधायकमा छान्नुपर्ने अवस्था आयो । अन्तिममा कुमार अन्तरिम विधायक हुन सफल भए भने इन्द्रजित सो सूचीमा परेनन् ।

‘कुमार फुदुङ असाध्यै भद्र थिए । धेरै बोल्दैन थिए, चाहिएको मात्रै बोल्थे । मेजर जनरलबाट रिटायर भएकाले तौलिएर मात्रै बोल्थे,’ माओवादीका अर्का एक नेताले भने, ‘इन्द्रजित सबैतिर लोभ गर्ने, सबैतिर मुख गाड्ने भएकाले नेताहरुले त्यति पत्याएनन् । उनी अन्तरिम विधायक हुन सकेनन् ।’

त्यसपछि इन्द्रजित ‘सैन्यविद्’ का रुपमा विश्लेषण गर्दै हिँड्न थालेका थिए । पहिलो संविधानसभा (२०६४ साल)मा माओवादी पहिलो शक्ति भएपछि समानुपातिक कोटाबाट इन्द्रजित सभासद् भएका थिए । माओवादी सेना समायोजन हुँदा पार्टी निकट भएकैले इन्द्रजितले निर्णायक ठाउँमा बसेर काम गर्ने अवसर पाएका थिए ।

ओलीमार्फत बादललाई प्रेसर दिएर सुरक्षा सल्लाहकार नियुक्त

०६९ सालमा मोहन वैद्य किरणले पार्टी विभाजन गरी आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेपछि इन्द्रजित एमालेसँग नजिकिन थालेका थिए । माओवादी दोस्रो संविधानसभा चुनावमा तेस्रो शक्तिमा खुम्चिएपछि इन्द्रजितले एमालेसँग सम्बन्ध विस्तार गरेको भोजपुरकै एक माओवादी नेताले बताए ।

२०७४ सालको निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री भए । त्यतिबेला इन्द्रजितले प्रधानमन्त्रीको सचिवालयमै बसेर काम गर्न खोजेका थिए । तर सम्भव नभएपछि अन्तिममा ओलीलाई भेटेर उनले गृहमन्त्रीको सुरक्षा सल्लाहकारका रुपमा नियुक्ति लिन सफलता पाए ।

‘इन्द्रजित राईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा सल्लाहकार हुन प्रयास गर्नुभएको थियो, ओलीले आवश्यकता नठानेर राख्नु भएन । त्यसपछि गृहमन्त्री बादलको सुरक्षा सल्लाहकार बस्न अनेक प्रयास गर्नुभयो,’ तत्कालीन गृहमन्त्री बादलको सचिवालयमा बसेका एक सदस्यले भने, ‘बादल कमरेडले गृह मन्त्रालयमा सुरक्षा सल्लाहकार राख्ने दरबन्दी छैन, पूर्व सभासद् भइसकेको व्यक्तिलाई त्यस अनुसारको सेवा सुविधा दिने अवस्था पनि छैन भन्नुभयो तर अन्तिममा केपी ओलीबाटै प्रेसर गराएर सल्लाहकारको नियुक्ति लिनुभयो ।’

बादलको सुरक्षा सल्लाहकार भएर आएपछि इन्द्रजितले कुनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको ती सचिवालय सदस्यको दाबी छ । अहिले आएर इन्द्रजितले त्यतिबेला गरेका गैरकानुनी कामको फेहरिस्त सार्वजनिक भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप