मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग प्रदेश २ का मुख्यमन्त्री लालबाबुले मागे सिडियो र प्रहरी चलाउने अधिकार

बुधबार, २३ फागुन २०७४, १९ : ०९
बुधबार, २३ फागुन २०७४

काठमाडौं– राष्ट्रपतिको निर्वाचनमा मतदानका लागि काठमाडौैं आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख जिल्ला अधिकारी र प्रहरी आफुले परिचालन गर्न पाउने अधिकार माग गरेका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय सञ्चारमाध्यमका केही सम्पादकहरुसँगको छलफलमा उनले प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको र आफूले ४ वटा बिषय प्रधानमन्त्री समक्ष राखेको खुलासा गरेका हुन् । 

मंगलबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । उनले प्रदेश नम्बर २ मा सुरक्षा संवेदनशीलता उच्च रहेको बताँउदै तत्काल राज्यको तर्फबाट एसपी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारको मातहतमा ल्याउन आफुले आग्रह गरेको उल्लेख गरे । 

तत्काल केन्द्र सरकारले पत्र पठाएर भएपनि यो काम गर्नुपर्नेमा आफुले जोड दिएको उनले बताए । भोलीका दिनमा संविधानले दिएको अधिकार प्रयोग गरेर ऐन नियम ल्याएर प्रजिअलाई आफु मातहत ल्याउन सकिने भए पनि तत्कालका लागि केन्द्र सरकारले सहयोग गर्नुपर्ने उनको तर्क छ । 

एमालेको स्थायी समितिको बैठक चलिरहेका कारण आफुले ३ घण्टा बढी प्रतिक्षा गरेर प्रधानमन्त्रीसँग भेट गरेको बताउँदै प्रधानमन्त्री ओली र नेता माधव नेपालले एउटै परिवारको दाजुभाई जस्तो आत्मियता देखाएको उल्लेख गरे । मुख्यमन्त्री राउतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भने–‘तपाईलाई जे समस्या पर्छ मलाई सिधै सम्पर्क राख्नु, समस्या, चुनौतिहरु के–के छन्, के गर्न सकिन्छ, तपाई योजना लिएर अगाडि बढ्नुस्, त्यसमा हामी पूर्ण सहयोग गर्छौँ ।’

उक्त छलफलमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीसँग आफू केन्द्रसँग दुरी बढाएर जाने पक्षमा नरहेको बताउँदै केन्द्रको सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए । प्रधानमन्त्री ओलीलाई राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका कारण सबैभन्दा बढी ध्यान २ नम्बर प्रदेशमा दिन आग्रह गरेका थिए । 

प्रधानमन्त्रीसँगको भेटमा आफुले अरु प्रदेश भन्दा २ नम्बर प्रदेश संवेदनशील भएकोले बिशेष प्राथमिकता राखेर अघि बढ्न आफुले आग्रह गरेको बताए ।  सम्पादकहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ मा आफुले गरेको कामको बारेमा जानकारी गराँउन राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बन्धित स्थानमै लगेर देखाउने प्रतिबद्धता समेत जनाए ।

उनले भने–‘जुन काम गर्छु, सबै पारदर्शी र सार्वजनिक गर्छु, मसँग यति रुपैया थियो, यति काम गरेँ भनेर राष्ट्रिय मिडियालाई लगेर देखाउँछु । एउटा सामान्य व्यक्तिले जुन अवसर पाएको छु, यसलाई मैले खेर जान दिनु हुँदैन, नत्र मलाई इतिहासले माफ गर्दैन’ । 

आफु सधै पारदर्शी भएर बस्ने बताउँदै उनले २ नम्बर प्रदेशका ढिलासुस्ती र विकासे योजना हुने भ्रष्ट्राचारलाई निर्मुल पार्ने धारणा राखे । आयोजना निर्माण नगरी पैसा बाँढीचुँडी खाने परम्परालाई कुनैपनि हातलमा नछोड्ने बताए । प्रदेश नं.२ मा विकास नहुनुको मुख्य कारण माथिल्लो निकायदेखि तल्लो निकायसम्मको भष्ट्रचार रहेको बताउँदै त्यसलाई निराकरण नगरी त्यो ठाउँको विकास हुन नसक्ने आफूले बुझेको बताए । 

आफुले सुरुदेखि नै ५ स को अवधारणा सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिंचाई ल्याएको बताए । आफूले मुख्यमन्त्रीको सपथ लिएको दिन देखिनै यो विषयमा आफुले सक्ने सम्मको ध्यान दिएको उल्लेख गरे । प्राप्त स्रोत र साधानलाई इमान्दारिताका साथ आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा संचारमाध्यमका सम्पादकहरुले आफुले गरेको काम पारदर्शी रुपमा देखाउन,सञ्चारमाध्यमसँग नजिकको सम्बन्ध राखेर आफुले गरेका काम कारबाहीका बारेमा प्रेसलाई स्पष्ट रुपमा सुचना जानकारी दिन आग्रह गरे । राम्रो कामलाई मिडियाले सहयोग गर्ने भन्दै सम्पादकहरुले देखाउने गरी काम गर्न, तराईमा ब्याप्त दाइजो, भ्रष्ट्राचारलाई जरैदेखि उखेल्न सुझाव दिए ।

अन्तरक्रियामा प्राध्यापक एवम् बुद्धिजीवी विजयकान्त कर्ण, रातोपाटी डटकममा प्रधान सम्पादक ओम शर्मा, नागरिक दैनिकका सम्पादक गुणराज लोहनी, दी रिपब्लिक डेलीका सम्पादक सुवास घिमिरे, नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेत लगायतका सहभागीले मुख्यमन्त्रीले सञ्चारमाध्यमसँग खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप