सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : पुलिससँग जावलाखेल पराजित

मङ्गलबार, १९ वैशाख २०८०, १८ : ४७
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो राउण्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब रेलिगेशन क्षेत्रको नेपाल पुलिससँग स्तब्ध भएको छ ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिससँग जावलाखेल २–१ गोल अन्तरले पराजित भएको हो । 

खराब नतिजाबाट पहिलो राउण्डको खेलमा गुज्रिरहेको पुलिसले दोस्रो राउण्डको पहिलो खेलमा भने उत्कृष्ट शुरुवात गरेको छ । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे भने मोसेस ग्याबाह र अहमद हिजाजीले एक/एक गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काएका थिए ।

प्रतिष्पर्धात्मक बनेको खेलको ३५ औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । मोसेसले अजित भण्डारीको फ्रिकिकलाई हेडमार्फत जाली चुमाउन सफल भएका थिए । त्यसपछि दबाबमा परेको जावलाखेलले खेलमा फर्किन निकै प्रयास गरेपनि पहिलो हाफमा सफल हुन सकेन । 

गोलका लागि बारम्बार अगाडि बढेर खेलेको जावलाखेलले दोस्रो हाफमा पनि अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन । अगाडि बढेको मौकामा ८८ औं मिनेटमा अहमदले पुलिसको अग्रता दोब्बर बनाए । अहमदले मोहम्मद थ्रो बललाई नियन्त्रणमा लिँदै उकृष्ट गोल गरे ।

त्यसको एक मिनेट नबित्दै जावलाखेलका विपिनले गोल गर्दै अग्रता घटाए पनि बाँकी समयमा थप गोल गर्न सकेन र नतिजा पुसिललाई सुम्पियो । यससँगै लिगमा पुलिस चौथो जित निकालेको छ । जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ । उता पराजित जावलाखेलले पनि जारी लिगमा चौथो हार भोगेको छ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

लिग अन्तर्गत ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टार क्लब र खुमलटार युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । तेस्रो मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो । लाकेन लिम्बूले गोल गर्दै थ्री स्टारलाई अग्रता दिएपछि पहिलो हाफको इन्जुरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । दोस्रो हाफमा थप आक्रामक रणनीतिका साथ मैदान उत्रिएको थ्री स्टार हिलाम्मे मैदानमा सम्हालिएको प्रदर्शन गर्न सकेन । अगाडि बढेको मौकामा खुमलटारले गोल गर्दै अग्रता उल्टाउन सफल भएको थियो । समिर विनोङले गोल गर्दै खुमलटारको अग्रता उल्टाएका थिए । तर ६७ औं मिनेटमा भने थ्री स्टारले पेनाल्टीबाट खेल बराबरीको अवस्थामा ल्याउन सफल भयो । आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै टोलीलाई हराबाट जोगाउन सफल भए ।

यससँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । १४ खेलबाट २३ अंक बनाएको थ्री स्टार तालिकाको दोस्रो स्थानमा यथावत् रहँदा समान खेलबाट १४ अंक बनाएको खुमलटार तालिकाको पुछारमा झरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप