सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

बुधबार, २० वैशाख २०८०, १२ : ०६
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । देशका विभिन्‍न स्थानबाट ११ जना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेबाट अवैध लागुऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उत्तम रिजालको घरबाट ६ वटा बोरामा रहेको १ सय ८४ किलो १ सय ग्राम गाँजा, नगद ५५ हजार ३ सय ६५ रूपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट १२ वटा बोरामा रहेको ३ सय २७ किलो ८ सय ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय निमेश राईलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसबाट अवैध लागुऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका–१८ शितल बस्ती बस्ने २५ वर्षीय वसन्त सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८७१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियाको गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–३ भग्रैया बस्ने ३० वर्षीय रोजन पुरी र सोही नगरपालिका–२ ओराली बस्ने २१ वर्षीय अबिनाश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गणेशपुरबाट गुलरियातर्फ जाँदै गरेको ना.२८ प ९२८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका(२ त्रिनगर ब्यारेलबाट अवैध लागुऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय तरूण जोशी समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको  हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका–६ बैशाखापुलबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पर्दाथ ४९ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–२ तेघरी बस्ने २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाई बस्ने २३ वर्षीय प्रकाश नाथ र सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र साउँद रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको म.२ प ४३६४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप