आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फलोअप

शरणार्थीको नाममा ठगी धन्दा : प्रहरीसमक्ष डा. इन्द्रजितको इन्कारी बयान

बिहीबार, २१ वैशाख २०८०, ११ : ०२
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका डा. इन्द्रजित राईसँग प्रहरीले बयान लिएको छ । पूर्व गृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित मंगलबार ललितपुरबाट पक्राउ परेका हुन् । बुधवार साँझ उनको बयान पूरा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

रामबहादुर थापा गृहमन्त्री हुँदा डा. इन्द्रजित उनको सुरक्षा सल्लाहकार थिए । त्यसै बेला भुटानी शरणार्थीको नाममा ठगी धन्दा चलाउनेहरूलाई डा. राईले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर, डा. राईले सो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

‘डा. राईले सबै इन्कारी बयान दिएका छन्’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्–‘उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।’

प्रहरी र सरकारी वकिल कार्यालयसँगको बयानमा डा. राईले भनेका छन्–‘यो मलाई फसाउने योजना हो, षडयन्त्र हो ।’

इन्द्रजितको मोबाइल बरामद गरेर प्रहरीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । ठगीमा संलग्न ललितपुरका सानु भण्डारीको डायरीमा डा. इन्द्रजितले १ करोड ५० लाख लिएको विवरण भेटिएको छ । प्रहरीसँगको बयानमा सानु भण्डारीले डा. इन्द्रजितलाई ५ करोड ५० लिएको दिएको जिकिर गरेका छन् ।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा डा. इन्द्रजितका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी  जारी भएको छ ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् ।

शरणार्थीकै नाममा ठगी धन्दा चलाउने मध्येका मुख्य योजनाकार सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए । उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे सहित सो प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप