आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खगराजलाई मुख्यमन्त्री पाण्डेको जवाफ– तपाईंले जे सिकाउनुभयो, त्यही गरेँ

बिहीबार, २१ वैशाख २०८०, १६ : ३१
बिहीबार, २१ वैशाख २०८०

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्व मुख्यमन्त्री तथा प्रतिपक्षी दलका नेता खगराज अधिकारीले उठाएका प्रश्नको जवाफ दिएका छन् ।
प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले अधिकारीका प्रश्नलाई सम्बोधन गरेका हुन् ।

अधिकारी मुख्यमन्त्री हुँदा विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्ष दलसँग गरेको अपेक्षा र सोही अनुसार लेखेको पत्र अनुशरण गर्दै आफूले पनि अहिले एमालेसँग विश्वासको मत मागेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

अधिकारीले प्रमुख प्रतिपक्षले सरकारलाई विश्वासको मत दिनु संविधानवादको विरुद्ध हुने भन्दै संसदीय व्यवस्थामा सदन प्रतिपक्षबिनाको हुन नसक्ने जिकिर गरेका थिए ।
 मुख्यमन्त्री पाण्डेले भने अधिकारीलाई मुख्यमन्त्रीका रुपमा आफूले त्यतिबेला विश्वासको मत माग्दाको समय स्मरण गराए ।

मुख्यमन्त्री पाण्डेले आफू त्यतिबेला प्रमुख प्रतिपक्ष दलको नेता रहँदा अधिकारीले मुख्यमन्त्रीको हैसियतमा संसदबाटै र पत्रमार्फत समेत आफूसँग विश्वासको मत मागेको स्मरण गराए । सोही अनुसार अहिले आफूले पनि प्रमुख प्रतिपक्षसँग विश्वासको मत मागेको उनको जवाफ थियो ।

‘उहाँले जे बाटो देखाउनुभयो, मैले त्यही गरेँ । मैले पनि पत्र पठाएँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘आफूले गर्दा ठिक र अरुले त्यही कुरा गर्दा बेठिक भन्नु उचित होइन । विश्वासको मत दिँदैमा संविधानवादको खिलाप हुन्छ भन्ने मलाई लाग्दैन ।’

मुख्यमन्त्री पाण्डेले संविधानवाद, लोकतन्त्र, राष्ट्र र राष्ट्रियताका विरुद्ध हुने गरी कांग्रेसले कहिल्यै कसैसँग सम्झौता नगरेको र नगर्ने प्रस्ट पारे ।

चुनावको गठबन्धनभन्दा बाहिर गएर सरकार बन्दा ‘म्याच फिक्सिङ’ भएको तर अहिले ‘कोर्ष करेक्सन’ गर्दै चुनाव लड्दाकै गठबन्धन मिलेर सरकार बनेको दाबी पनि मुख्यमन्त्री पाण्डेले गरे ।

उनले गठबन्धन गरेपछि ‘आलोपालो’ नेतृत्व हुनु स्वाभाविक रहेको बताए । एमाले र माओवादी केन्द्रबीच एकता भइ नेकपा बनेपछि आलोपालो मै सरकारको नेतृत्व गर्ने सहमति भएको स्मरण गराउँदै मुख्यमन्त्री पाण्डेले भने, ‘त्यही सहमति पालना नगर्दा नेकपा नै भङ्ग हुने प्रकृयाको सुरुवात भएको पनि म स्मरण गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप