सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

शुक्रबार, २२ वैशाख २०८०, २० : ४०
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ ।

ललितपुरस्थित दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग ४–२ गोल अन्तरले पराजित भएको हो । यस्तै पुलिस दरशथ रंगशालामा हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएको हो ।

अघिल्लो खेलमा पनि नेपाल पुलिससँग २–१ गोल अन्तरले पराजित भएको जावलाखेल युथ क्लब शुक्रवार खुमलटारसँग स्तब्ध भएको हो । यससँगै शीर्ष स्थानको जावलाखेलले लगातार दोस्रो खेलमा विपक्षी टोलीलाई नतिजा सुम्पिएको छ । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा खुमलटारलाई जित दिलाउनका लागि स्टेफेन समिरले ह्याट्रिक पूरा गर्दा मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । यस्तै जावलाखेलका विनोद केसीले एक गोल फर्काउँदा जावलाखेलका रोहित सुब्बाले उपहरा गोल दिए ।

अघिल्लो खेलको हारले स्तब्ध भएको जावलाखेलले आक्रामक खेल देखाएको थियो । तर सम्हालिएको प्रदर्शन गरेको खुमलटारले सुरुआती अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई शुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा पुगेको थियो । 

पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गरेपछि खुमलटारले पहिलो हाफमा २–१ को अग्रता निकाल्न सफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको खुमलटारका लागि ५१ औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गरेका थिए । बाँकी समयमा  दुवै टोलीबाट थप गोलका लागि प्रयास भएपनि दुवैै टोलीले राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् । शीर्ष स्थानमा अग्रता फराकिलो पार्न निकै संघर्ष गरेको जावलाखेलका लागि इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित निश्चित गरेका थिए ।

रोमाञ्चक जितपछि खुमलटारले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको छ । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ । यस्तै जावलाखेलले जारी लिगमा पाँचौ हार भोग्न बाध्य भएको छ । पराजित भएपनि जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

लिग अन्तर्गत शुक्रवारै दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस हिमालयन शेर्पासँग २–१ गोल अन्तरले स्तब्ध भयो । रेलिगेशन क्ष्ोत्रबाट बच्न संघर्षरत गरिरहेको पुलिसलाई यस हारले थप संकट परेको छ । उता जित निकालेको हिमालयन शेर्पा भने सातौं स्थानमा उक्लिएर रेलिगेशन खतराबाट टाढिएको छ भने हिमालय शेर्पा पछिल्ला पाँच खेलमा अपराजित रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिष्पर्धामा दुवै टोलीले पहिलो हाफ १–१ गोलको बराबरी खेलेका थिए । रेलिगेशन क्षेत्रको पुलिसमाथि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको हिमालयन शेर्पाका लागि अबायोमी फाकुन्लेले १४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । ३०औं मिनेटमा सौजन राई गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । खेलमा फर्किएसँगै आक्रामम देखिएको पुलिसले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुने सकेन । त्यसपछि दोस्रो हाफको खेलमा हिमालयन शेर्पाले शुरुवात गरेको लयलाई निरन्तरता दियो । ५१औं मिनेटमो अमृत श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई स्पष्ट तीन अंक दिलाउन सफल भए ।

लगातार पाँच खेलमा अपराजित रहेको हिमालयन शेर्पाले १५ खेलबाट २० अंक बनाएको छ । हिमालयन शेर्पा तालिकाको सातौं स्थानमा उक्लिएको छ भने पराजित पुलिसको रेलिगेशन खतार अझै टरेको छैन् । पुलिसले १५ खेलबाट १५ अंक बनाएको छ ।

लिगमा शनिवार तीन खेल हुनेछन् । पहिलो खेल चर्च ब्वाईज र न्युरोड टिम (एनआरटी) बीच च्यासल मैदानमा प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेल सातदोबाटो र मनाङ मस्र्याङ्दीबीच दशरथ रंगशालामा खेल हुनेछ । यस्तै अन्तिम खेल दशरथ रंगशालामा थ्री स्टारले फ्रेण्ड्स क्लवलाई आतिथ्यता गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप