आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

घट्दै उपभोग्य सामाग्रीको मूल्य, गहुँको सिजनमा घट्यो आँटा र मैदाको भाउ

शनिबार, २३ वैशाख २०८०, १५ : ५८
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । नेपाल फ्लोर मिल एसोसिएसनले बजारमा नेपाली उत्पादन आउन सुरु भएपछि गहुँको मूल्य घट्न थालेको जानकारी दिएको छ । यससँगै, गहुँबाट उत्पादित मैदा र आँटाको मूल्य समेत सस्तिन थालेको छ । यतिबेला बजारमा धमाधम नेपाली उत्पादन आइरहेको छ । फलस्वरुप गहुँको मूल्यसँगै यसबाट उत्पादित वस्तुहरूको समेत मूल्य घट्न थालेको हो ।

यसअघि, प्रतिकिलो ५५ रुपैयाँसम्म पुगेको गहुँको मूल्य नयाँ उत्पादन आएपछि ४५ रुपैयाँसम्म सस्तिएको छ । यससँगै, यसअघि प्रतिकिलो १०० रुपैयाँ आसपास पुगेको मैदा र आँटाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँसम्म आइपुगेको हो । नेपाल फ्लोर मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार अग्रवालले नयाँ उत्पादन आएपछि आँटा र मैदाको मूल्य घट्न थालेको बताए ।

‘नेपाली उत्पादन बिक्री हुन थालेपछि गहुँको मूल्य किलोमा १० रुपैयाँ घटेको छ,’ अग्रवालले भने, ‘यससँगै, आँटा र मैदाको खुद्रा मूल्य किलोमा ३० रुपैयाँसम्म घटेको छ ।’ तर, गत वर्षको तुलनामा भने यस वर्ष गहुँको मूल्य १० रुपैयाँ प्रतिकिलोसम्म महँगो छ । अघिल्ला वर्षको सिजनमा गहुँको सुरुवाती मूल्य प्रतिकिलो ३५ रुपैयाँ हाराहारी थियो । जुन, यो वर्ष ४५ रुपैयाँ कायम छ ।

खास गरी, वैशाख र जेठलाई गहुँको सिजन मानिन्छ । यो समयमा किसानले गहुँको उत्पादन भित्र्याइसकेर बजारमा बिक्रीमा लग्छन् । यही क्रममा उद्योगहरूले किसानसँग घरमै पुगेर समेत गहुँ किन्छन् र आवश्यकताअनुसार भण्डारण गरेर राख्छन् । नेपालमा गहुँलाई कच्चा पदार्थका रुपमा प्रयोग गरेर त्यसबाट आँटा र मैदा लगायतको पिठो बनाउने उद्योगहरूको सङ्ख्या ४० वटा हाराहारी छन् ।

यी उद्योगहरूमा समेत गरी वार्षिक कूल ८ लाख मेट्रिक टन गहुँ नेपाली बजारमा खपत हुन्छ । यसमध्ये ५ लाख मेट्रिक टन गहुँ आयात गर्नुपर्ने र बाँकी ३ लाख मेट्रिक टन गहुँ स्वदेशमै उत्पादन हुने गरेको एसोसिएसनको भनाई छ । यो ७० र ३० प्रतिशतको आँकडा हो । तर, भारतले गत वर्षको जेठ पहिलो सातादेखि लागू हुने गरेर गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

रुस–युक्रेन युद्धका कारण विश्वभर गहुँको माग बढ्दै जाँदा त्यसको आपूर्ति शृङ्खला नै प्रभावित बनेको थियो । भारत विश्वको सबैभन्दा ठुलो गहुँ उत्पादक र निर्यातकर्ता मुलुक हो । उक्त समयमा भारतीय आन्तरिक बजारमा निर्यातका कारण गहुँको मूल्य अस्वभाविक रुपमा बढ्न थालेसँगै निर्यात नै प्रतिबन्ध लगाएको थियो । तर, भारतले विश्वका २० देशको सूची तयार पार्दै परिमाणात्मक निर्यातका लागि कोटा तोकेको थियो ।

उक्त कोटा प्रणालीअनुसार नेपाललाई वार्षिक ५० हजार मेट्रिक टन गहुँ निर्यात गर्ने व्यवस्था भारत सरकारले गर्‍यो । जसअनुसार भारतबाट ५० हजार मेट्रिक टन गहुँ चैतदेखि नै आउन थालेको र नयाँ उत्पादन समेत आउँदा मूल्य घटेको हो । तर, गहुँ र यसबाट उत्पादित आँटा तथा मैदालाई कच्चा पदार्थका रुपमा प्रयोग गर्ने उद्योगहरूले बढाएको मूल्य भने फिर्ता भएको छैन ।

गहुँबाट उत्पादित मैदा र आँटालाई कच्चा पदार्थका रुपमा प्रयोग गरेर चाउचाउ, बिस्कुट, पाउरोटी लगायतका वस्तु उत्पादन हुन्छन् । यी उत्पादकहरूले यस्ता वस्तुको मूल्य बढाउनुका साथै उत्पादित वस्तुको परिणाम (तौल) समेत घटाएका छन् । तर, मूल्य घटाउने र तौल बढाउनेतर्फ उनीहरूको ध्यान पुगेको भने देखिँदैन । यसअघि, भारततर्फको निर्यात खुम्चिँदा खानेतेल उद्योगीहरूले समेत मूल्य घटाएका थिए । उनीहरूले प्रतिकार्टुन ५०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म मूल्य घटाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप