मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नारी दिवसमा मानवताको खोजी

बिहीबार, २४ फागुन २०७४, १२ : ४४
बिहीबार, २४ फागुन २०७४

सुरेन उप्रेती 

    नारी र पुरुष भनेका एक रथका दुई पाङ्ग्राहरू हुन् । महिलाहरू भनेका आधा आकास हुन् । पुरुष शिक्षित भए भने व्यक्ति मात्र शिक्षित बन्दछन् तर नारी शिक्षित भइन् भने परिवार नै शिक्षित बन्दछ । जहाँ नारीहरूको इज्जत र सम्मान हुन्छ, त्यहाँ सम्पत्तिकी देवी लक्ष्मीको वास हुन्छ । यस्तै यस्ता अनेक नाराहरू प्रत्येक वर्ष मनाइने नारी दिवसका सन्दर्भ पारेर वक्ताहरूले भन्ने दिव्य वचनहरू हुन् । वक्ताका सुन्दर भावना गाँसिएका वचनमा उत्साहकासाथ ताली बज्छन् । वक्ताले वाह वाही पाउँछन् । 

तर दिन भर नारी दिवसमा गएर नारीहरूको सम्मान र प्रसंशामा समय खर्चिन्छन् । अनि साँझ परेपछि वर्तमान मापसे केन्द्र भनिने परम्परादेखि भट्टीका नामले चिनिँदै आएको ठाउँमा पस्छन् । सुरा र सुन्दरीबिनाको  साँझ  के साँझ भन्दै  नारीहिंसा सुरु हुन्छ । त्यो हिंसा नेताका स्तर अनुसार बार र तारेसम्मको हुन्छ । 

     हिंसामा पीडित बन्नेहरूका पनि आआफ्नै तह छन् । गाउँबाट पढाउने बहनाबाजीमा ल्याइएका अबोधहरू छन् । सुन्दर सपना रोपेर पढाइसँगै भविष्य फलाउने योजनामा होमिएकाहरू छन् । पढाइ सकेर जागिर र सुख सुविधा पाइने सहरिया जीवनको बल्छीमा उनिएर आएकाहरू छन् । गाउँमै हुँदा विवाह गरेका श्रीमानहरू जागिर खाँदै सहरियामा रूपान्तरण भएपछि स्तर नमिलेको बाहनामा प्रताडित हुनेहरू पर्छन् । अनि समाजमा बाँच्ने अन्तिम अश्रयका रूपमा मजबुरीका नाम माहत्मा गान्धी भन्दै आफू र परिवारलाई बचाउन विवश पीडितहरू छन् । 
  

 मुलुकले महिला राष्ट्रपति पायो । महिला प्रधान न्यायाधीश पायो । महिला सभामुख पायो । गाउँ, नगर, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभामा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको छ । महिलाहरू सरकारी संस्थाहरूमा छन् । गैह्रसरकारी सङ्घ संस्थाहरूमा छन् । शिक्षण पेसा, प्रहरी र सेनामा पनि छन् तर किन झन् धेरै महिला हिंसा भइरहेका छन् ? किन असङ्ख्य अबोधहरू बलत्कृत भइरहेका छन् ? के यस्ता विकृति र अमानवीय कामहरू  विगतमा पनि भइरहन्थे ? के सञ्चार र सूचना प्रवाह हुन नसकेर मात्र लुकेका थिए ? कि वर्तमान अवस्थामा मानिसहरू पशुमा स्खलनहुँदै गैरहेका छौँ ? मानवीयता शून्य हुँदै गइरहेको छ । यो एक्काइशौं शताब्दीको कलङ्कका रूपमा देखा परेको धब्बा हो । 
 

   जब मानिसमा मानवीयताच्यूत भएर जान्छ । बाबुबाट छोरीहरू लुटिन्छन् । दाजुबाट बहिनीहरू बलत्कृत हुन्छन् । समाजमा आमाको दूध खाँदै गरेका बालिकाहरूको अस्मिता लुटिन्छ । आमाहरूले त्यो समाजको इज्जत र प्रतिष्ठाका लागि छोरीहरूलाई बली चढाउँछन् र आँशु पिएर मुखमा ताला लगाएर बस्दछन् । सुरक्षा दिने रक्षकहरू नै  भक्षकहरूमा रूपान्तरण हुन्छन् । पैसामा न्याय किनवेच हुन्छ । पैसा र प्रलोभनले विवेकलाई शून्य बनाइदिन्छ । हामी सभ्यसमाजतर्फ उन्मुख हुँदै छौँ कि जङ्गलीयुग तर्फको बाटो तय गर्दैछौँ, आज यो जटिल प्रश्न उठेको छ । 
  

 महिला हिंसाहरू झन् बढिरहेका छन् । बोक्सीको आरोपमा यातना दिइन्छ । हत्या र हिंसाहरू हुन्छन्, समाज मूक दर्शक बन्दछ । अझ प्रोत्साहन गर्छ । मानिसहरू बीचमा छुवाछूत जस्ता अमानवीय भेदभावहरू छन् । धारा पानी कुवा मन्दिर जस्ता सार्वजानिक स्थानहरूमा भेदभावले हिंसा जन्माउँछ ।  प्रत्येक हप्तामा अनेक हृदयविदाक घटनाहरू सुन्नु, पढ्नु र देख्नु परिरहेको छ । 
पैसाका प्रलोभनमा धेरै घटनाहरू गुपचुप बनाइँदै लगिन्छ । ‘नाति मरेकोमा परेको पीर भन्दा पनि काल पल्केकोमा चिन्ता’ भनेझैँ हाम्रा मानवीय मूल्य र मान्यताहरू सबै ह्रास हुँदै जानु ठूलो चिन्ताको विषय बनेको छ  । 
 

   जबसम्म सबै मानिसहरूलाई मानवीय मूल्य, मान्यता र नैतिकताको आभास हुँदैन । ज्ञान हुँदैन । तबसम्म यी जङ्गली प्रवृत्तिको अन्त्य हुँदैनभन्दा अत्युक्ति नहोला । जबसम्म  सबै मानिसलाई शिक्षाको समान पहँुच हुँदैन । विद्यालयमा मानवीयता नैतिकता  विवेक र चेतनाले विद्यार्थीहरूलाई दीक्षित गराइँदैन । सानै उमेरदेखि बालबालिकाहरूलाई  खराबलाई खराब हो भन्न सक्ने साहस भरिँदैन । ठूलाले गरेका गलत कामलाई पनि गलत हो भन्ने शिक्षा दिइँदैन,  तबसम्म विकृतिरहित समाजाको परिकल्पना गर्न असम्भव छ । 
महिला हुनेवित्तिकै महिलाको हक हितका लागि काम गर्ने महिलावादी हुन्छन् भन्ने छैन । यो एउटा प्रवृत्ति हो । कतिपय पुरुषहरूले पनि महिला हकहितका काम गरिरहेका हुन्छन् । महिलाहरूको चेतना स्तर उच्च बनाउने यात्रामा लागिरहेका हुन्छन् । ती मानिसहरू महिला नभए पनि महिलावादी हुन् । जो महिला महिला भएर पनि महिलाकै विरुद्वमा वकालत गरिरहेका पाइन्छ । 
हिंसामा परेका महिलालाई किन पुरुषहरूसँग जोरी खोज्नुपर्यो जस्ता कठोर वचन प्रहार गर्ने नारी नेतृहरूको कमी छैन । महिला रक्षामन्त्री भएको बेलामा रक्षकहरूद्वारा जलाइएका देवीसराहरूको आत्म अझै न्याय नपाएरै भौँतारिरहेका छन् । 
  

 प्रत्येक वर्ष मनाइने नारी दिवस तब मात्र सार्थक हुन्छ, जबदेखि महिलाहरूले  पुरुषका झैं समान अधिकार प्राप्त गर्न सक्छन् । नागरिकताका अधिकारदेखि पैतृक सम्पत्तिमाथिको अधिकार, शिक्षा र रोजगारीका अधिकार, समान ज्यालाका अधिकार, आफ्ना सन्तानहरूलाई पाल्न र सँगै राख्न पाउने अधिकार । यी सबै अधिकारहरूलाई ऐन र कानुनका किताबमा मात्र सीमित भयो भने पनि यसले सार्थकता नपाउला । सबैमा शिक्षा र चेतना प्रवाह होस् । आत्म निर्भरता र नेतृत्व विकास होस् । विश्वभर रहेका नारीहरूमा नारी दिवस २०१८ को हार्दिक शुभकामना । 

अटवा क्यानडा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप