आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा सबभन्दा नयाँ पार्टी एमाले हो : केपी ओली

सोमबार, २५ वैशाख २०८०, १७ : ५०
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबभन्दा नयाँ पार्टी र पुरानो पार्टी पनि एमाले नै भएको दाबी गरेका छन् । 

सोमबार पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्वपाप्रति संकेत गर्दै बुढो विचार बोकेर हिँड्नेहरू नयाँ हुन नसक्ने बताएका हुन् । 

‘बुढो विचार बोकेर खोलेको पार्टी कसरी नयाँ’, अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ त्यो एउटा एनेक्स हो । समाजलाई नयाँ परिवर्तनमा पुर्‍याउने कुरा चाहिं नयाँ हो । एमाले सबभन्दा नयाँ पार्टी हो ।’

ओलीले पछिल्लो समय पुराना पार्टी सकिए भन्दै हल्ला  फिँजाइएको र त्यो एमालेलाई टार्गेट गरिएको पनि बताए । नयाँ पार्टीहरुलाई संकेत गर्दै उनले बोतल जुनसुकै कलरका भएपनि रक्सी उही रहेको बताए । छोटो आयु भएको चिज हलक्क बढ्ने भन्दै उनले नयाँ पार्टी तितेपाती र एमाले पिपल भएको बताए । 

पुर्वप्रधानमन्त्री ओलीले भने, ‘तितेपातीले हिउँद देख्यो भने बर्खा देख्दैन।'

ओलीले पार्टीकै केही मान्छेले व्यक्तिगत रुपमा कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई एमालेले नसहने पनि बताए । 

अध्यक्ष ओलीले भने, ‘केही करप्सनका कुरा आउन सक्छन्, कोही कसैले करप्सन गर्ला पनि । व्यक्तिगत तवरमा कसैले गर्यो भने त्यसप्रति एमालेको समर्थन नरहनेमात्रै होइन त्यस्तो करप्ट कुरालाई एमालेले कहिल्यै पनि टोलोरेट गर्दैन ।’

तर अध्यक्ष ओलीले एमालेका विरुद्ध यसलाई पनि र उसलाई पनि तान भनेर निर्देशन दिने कुराहरु भए चुप लागेर नबस्ने बताए । पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोतर्फ संकेत गर्दै उनले एमालेलाई बद्नाम गर्ने दुस्साहस नगर्न चेतावनी पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप