आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ लाख प्रवासी नेपाली लगानीकर्ता धितोपत्र बजारमा जोडिने

मङ्गलबार, २६ वैशाख २०८०, १५ : १६
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ ।  गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालमा लगानी बढाउन जोड दिएका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा समस्या रहेको बताउँदै विदेशी लगानीमा न्युनत २ करोडको सिलिङ्ग तोकिनु व्यवहारिक नभएको बताए । 

उनले संघले अघि सारेको १० अर्ब लगानीको परियोजनामा सा–साना लगानीकर्ताहरु जोड्ने उद्देश्यले सामूहिक लगानीको परियोजना अघि सारिएको बताए । उनले निकट भविष्यमा सो फण्डमा न्यूनतम २ सय ५० डलर लगानी गर्नसक्ने नेपालीलाई जानकारी दिने उद्देश्यले रोड शोको आयोजना गरिने जानकारी  दिए । डा. केसीले गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न केही ऐन तथा कानूनहरुमा अझै पनि संशोधनको आवश्यक रहेको बताए । 

समृद्धिका लागि गैरआवासीय नेपालीहरुको संयुक्त लगानी विषयको अन्तरक्रियामा  संघका निवर्तमान अध्यक्ष कुमार पन्तले नेपालमा आर्थिक लगानीका अतिरिक्त ज्ञान र सिपसमेत भित्र्याउन जोड दिए । पन्तले गैरआवासीय नेपालीहरुको दर्दिखोला जलविधुत आयोजनामा भएको सामूहिक लगानी सफल भएको चर्चा गरे । 

उनले विदेशमा रहेका नेपालीहरुको ससानो पुँजीलाई देशको समृद्धिका जोड्नको लागि नेपालमा १० अर्बको लगानी परियोजना अगाडि सारिएको बताए । पन्तले १० अर्ब लगानीमा भएको साना लगानीबाट पनि ठूलो मुनाफा हुने जिकिर गरे । पन्तले विदेशमा बस्ने ६ लाख नेपालीलाई धितोपत्र बजारमा जोड्ने लक्ष्य राखेर आइपीओ जारी गर्न लागिएको जानकारी दिए । उनले गैरआवासीय नेपालीहरुको सयुक्त लगानीमा स्थापना गरिएको एन.आर.एन नेपाल डेप्लोमेन्ट फण्डमा ढुक्क भएर लगानी भित्र्याउन आग्रह गरे । 

एन.आर.एन नेपाल डेप्लोमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले नेपाल सरकारले गैरआवासीय नेपालीको लगानीलाई स्वीकृत गर्ने, लेखांकन गर्ने र न्यूनतम सिमा सहजिकरण गरेको बताए । उनले गैरआवासीय नेपालीहरुले १० अर्बको फण्डमा लगानी गर्न चाहना राखेमा २ सय ५० डलरबाट सुरु गर्न सक्ने बताए ।  भट्टराईले १० अर्ब फण्डको लागि सर्वसाधारणको लगानीको लागि धितोपत्र बजारमा ६ महिनाभित्र जाने गरी काम थालिएको बताए । 

अष्ट्रियाका लागि नेपाली राजदूत भरतराज रेग्मीले गैरआवासीय नेपाली संघले भूकम्प, कोभिड जस्ता प्राकृतिक प्रकोपको बेला देशको लागि ठूलो सहयोग गरेको चर्चा गरे । उनले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको आर्थिक डिप्लोमेसी, पर्यटन प्रर्वधन लगायतका क्षेत्रमा ठूलो सहयोगको अपेक्षा नेपाल सरकारको रहेको बताए । 

कार्यक्रममा महिला व्यवसायी अनुजा प्रधानले गैरआवासीय नेपाली महिलालाई व्यवसायी बनाउने नीति ल्याउन जोड दिइन् । उनले आफ्नो बैंक खातामा भएको पैसा लगानी गर्न आग्रह गर्दै समृद्ध हुनको लागि एक मात्र विकल्प लगानी भएको बताइन् ।   

कार्यक्रममा संघका उपाध्यक्ष आरके शर्माले खाडी क्षेत्रमा नेपालीहरुले बगाएको पसिनालाई सदुपयोग गर्ने तर्फ नेपाल सरकारको ध्यानकर्षण गराए । उनले श्रमिकहरुलाई मात्र सामूहिक लगानीमा जोड्न सके मात्र ८० अर्बसम्मको लगानी भित्र्याउन सकिने बताए। उनले १० अर्बको लगानी समृद्ध नेपालको लागि पहिलो खुडकिलो भएको बताए । 

संघका प्रवक्ता शिवकुमार बरुवाले संचालन गरेको कार्यक्रममा संघका उपाध्यक्षहरु महेशकुमार श्रेष्ठ, आरके शर्मा, राज रेग्मी, अनुजा प्रधान लगायतले आआफ्ना भनाइ राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप