मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बैंगलोरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो मुम्बई

बुधबार, २७ वैशाख २०८०, ०७ : ५३
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको मंगलबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्सले सजिलो जित हात पारेको छ । मुम्बईले आफ्नो पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हरायो । जितसँगै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९९ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले भने १६.३ ओभरमै केवल ४ विकेट गुमाएर विजयलक्ष्य पूरा ग¥यो ।

मुम्बईको जितमा सूर्यकुमार यादव र नेहाल वादेराले उत्कष्ट ब्याटिङ गरे । यी दुबै ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सूर्यकुमारले ८३ रन बनाए ।

सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका सूर्यकुमारले केवल ३५ बलको सामना गरी ६ छक्का र ७ चौका हिर्काएका थिए । सोही योगदानका कारण उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

नेहालले पनि टोलीको खातामा अविजित ५२ रनको योगदान गरे । चौथो नम्बरका ब्याट्सम्यान नेहालले ३४ बलको सामना गरी ३ छक्का र ४ चौका हिर्काएका थिए । सूर्यकुमार र नेहालले तेस्रो विकेटका लागि १ सय ४० रनको साझेदारी गरेका थिए ।

घरेलु मैदानमा खेलेको मुम्बईका लागि ओपनर ब्याट्सम्यान ईशान किशनले पनि ४२ रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान किशनले केवल २१ बलको सामना गरी ४ छक्का र ४ चौका पनि हिर्काएका थिए ।

किशनले कप्तान रोहित शर्मासँग मिलेर ओपनिङ विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । रोहितले ८ बलमा १ चौकाको मद्दतले ७ रन बनाएका थिए । १७औं ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै नेहालले मुम्बईलाई जित दिलाएका थिए ।

बैंगलोरका बलर विजयकुमार बैशक र वानिन्दु हसारंगाले २÷२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतकीय पाली खेलेका थिए । तर, उनीहरुको अर्धशतक टोलीको जितका लागि अपर्याप्त रह्यो ।

कप्तान फाफ डु प्लेसिसले ६५ रन बनाएका थिए । ओपनर ब्याट्सम्यानका रुपमा क्रिजमा ओर्लिएका उनले ४१ बलको सामना गरी ३ छक्का र ५ चौका पनि हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका म्याक्सवेलले ३३ बलमा ४ छक्का र ८ चौकाको मद्दतले ६८ रन जोडेका थिए । फाफ डु प्लेसिस र म्याक्सवेलले तेस्रो विकेटका लागि १ सय २० रनको साझेदारी गरेका थिए ।

बैंगलोरले आफ्ना प्रभावशाली ओपनर ब्याट्सम्यान विराट कोहलीलाई भने १ रनमै गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले ३० रन बनाए । उनले १८ बलको सामना गरी १ छक्का र ४ चौका पनि हिर्काए ।

केदार जादव र वानिन्दु हसारंगा १२÷१२ रनमा अविजित रहे । मुम्बईका बलर जासन बेहरेन्डर्फले ३ विकेट लिए । क्यामरुन ग्रिन, क्रिस जोर्डन र कुमार कार्तिकेयले पनि १÷१ विकेट हात पारे ।

जितसँगै ११ खेलबाट १२ अंक जोड्दै मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । मुम्बईले हालसम्म ६ जित र ५ हारको नतिजा निकालेको छ । बैंगलोर भने ११ खेलबाट १० अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप