सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
शरणार्थीको नाममा ठगी प्रकरण

दुई थरी प्रतिवेदनबारे प्रहरीले थाल्यो अनुसन्धान

सचिव पाण्डेको बयान–‘मलाई थाहा भएन’
बुधबार, २७ वैशाख २०८०, ०९ : १५
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन खोज्ने गिरोहले ‘शरणार्थी कार्यदल’को प्रतिवेदन नै नक्कली बनाएको भेटिएको छ । पूर्व सह–सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ मा ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन’ कार्यदल गठन भएको थियो । पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र ठगीमा संलग्न गिरोहले पीडितहरूलाई देखाएको प्रतिवेदन फरक–फरक भएको भेटिएको छ ।

संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) र शरणार्थी व्यवस्थापन समितिले गणना हुँदा छुटेका भनेर ४ सय २९ जनाको नाम कार्यदललाई उपलब्ध गराएको थियो । पन्थी नेतृत्वको कार्यदलले सो सूची आफ्नो प्रतिवेदनमा राखेर तत्कालीन गृह मन्त्रालयका सचिव प्रेम कुमार राईलाई बुझाएका थिए । तर, बिचौलियाहरूले गृह मन्त्रालयका उच्च पदस्थहरूसँग मिलेर प्रतिवेदनमा ८ सय भन्दा धेरेको नाम नयाँ अनुसूची बनाएर थपेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । 

कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले २०७७ फागुन ११ मा मन्त्रिपरिषद्को सामाजिक समितिमा अध्ययनका लागी पठाएको थियो । २०७८ पुस ३० मा मन्त्रिपरिषद्ले कार्यदलले दिएका सुझावहरूलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । पन्थी नेतृत्वको कार्यदलले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) र शरणार्थी व्यवस्थापन समितिले दिएको नामावली पुनः प्रमाणीकरण गर्नुपर्ने सुझाएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

‘बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र बिचौलियाले तयार पारेको प्रतिवेदनबारे अनुसन्धान गरिरहेका छौँ’ जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने–‘प्रतिवेदनमा अनुसूची थप्न क–कसले भूमिका खेलेका थिए भन्नेबारे हेर्दै छौँ ।’ 

सञ्चार माध्यममा १८ पेज लामो प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन नक्कली रहेको अनुसन्धान अधिकृतहरूले दाबी गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘१८ पेजभन्दा पछाडि ८ सय भन्दा धेरैको नाम अमेरिकामा पुनर्वास गर्नुपर्ने भन्ने अनुसूची थप गरिएको छ ।’ 

गृह मन्त्रालयलाई कार्यदलले बुझाएको प्रतिवेदन दुई थरी कसरी भयो भनेर अनुसन्धान अधिकृतहरूले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रश्न गरेका छन् । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका पाण्डेले बयानमा भनेका छन्–‘मलाई थाहा भएन ।’ 

प्रहरी वृत्तमा भेट्न पुग्ने आफ्ना हितैषीहरूसँग पाण्डे भन्छन्–‘मैले अनुसन्धानमा सहयोग गरेको हुँ, मेरो गल्ती छैन ।’

शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो प्रकरणमा संलग्न आरोपमा पूर्व गृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित प्रहरीको हिरासतमा छन् । डा. राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् । मंगलबार (२६ वैशाख)मा सो प्रकरणमा संलग्न आरोपमा गोविन्द चौधरी र रामशरण केसी पक्राउ परे । रामशरणले डा. इन्द्रजित र उनका छोरा निरजले ५ करोड ५० लाख रकम लिएर काम नगरिदिएको भन्दै यसअघि नै उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थिए । 

तर, अनुसन्धानको क्रममा उनको समेत संलग्नता भेटिएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १० जना पुगेको छ । 

वास्तविक नाम र शरणार्थी नाम 

नेपालीको वास्तविक नाम परिवर्तन गरेर ठगीमा संलग्न गिरोहले फरक नाम अनुसूचीमा समावेश गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतका अनुसार अहिलेसम्म ६१ जनाको नाम परिवर्तन गरेर प्रतिवेदनमा समावेश गरेको फेला परेको छ । यस्तो छ सूची :

name-change

भुटानी शरणार्थीमा परिवर्तन गरिएकाहरूको नेपाली नागरिकता भेटिएको छ । सुशील वली, प्रमोद राणा र प्रेमनाथ योगी लगायतको नेपाली नागरिकता भेटिएको छ । ठगीमा संलग्नहरूले धेरैलाई शरणार्थी परिचय पत्र बनाएर दिएका छन् । निर्मल केसी, राजेशराज डाँगी, पदम आचार्य, दीपेश गौतम, सुशील वली, दीपेन्द्र बुढाथोकी, प्रमोद राणा, रञ्जित अधिकारी र अमृत कँडेलको नाममा शरणार्थी परिचय पत्र जारी भएको भेटिएको छ । 

यो पनि पढौँ...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप