आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक वर्षमा सेयर लगानीकर्ताले ६ खर्ब १२ अर्ब रुपैयाँ गुमाए

बुधबार, २७ वैशाख २०८०, १३ : १७
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । अघिल्लो वर्षको चैत मसान्तदेखि चालू आर्थिक वर्षको चैत मसान्तसम्मको एक वर्षको अवधिमा सेयर लगानीकर्ताहरूले ६ खर्ब १२ अर्ब ५६ करोड रुपैयाँ गुमाउन पुगेका छन् । नेपाल राष्ट्र बैङ्कले बुधवार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस्तो तथ्य पेस गरेको हो । २०७८ चैत मसान्तमा २४१५.२५ रहेको नेप्से सूचकाङ्क २०७९ चैत मसान्तसम्म आइपुग्दा घटेर १९३४.४८ कायम भएको छ । योसँगै समीक्षा अवधिमा बजार पुँजी (मार्केट क्यापिटलाइजेशन) समेत घटेर २८ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ झरेको हो । 

अघिल्लो वर्षको चैत मसान्तमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ बराबर रहेको थियो । २०७९ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २४८ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४१ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६९ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटेल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ चैतमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २२९ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो पत्र बजार पुँजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको छ ।  त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ चैत मसान्तमा सूचीकृत ७ अर्ब १९ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब ९ अर्ब २७ करोड रहेको छ । आर्थिक वर्ष २०७९÷८० को ९ महिनामा १ खर्ब ६५ अर्ब ५६ करोड बराबरको साधारण शेयर, ३५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३१ अर्ब ८४ करोड बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयरगरी कुल २ खर्ब ७१ अर्ब १९ करोड बराबरको थप धितो पत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितो पत्र बोर्डले ११ अर्ब २० करोड बराबरको डिबेन्चर, १२ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ५ करोड बराबरको साधारण शेयर र ९५ करोड बराबरको हकप्रद शेयर गरी कुल ३० अर्ब ३५ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप