मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक्कासि साँझपख किन नारायणहिटी दरवार पुगे प्रचण्ड ? (फोटो र भिडियोमा हेर्नुहोस्)

बिहीबार, २४ फागुन २०७४, २२ : ०७
बिहीबार, २४ फागुन २०७४

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी हाताभित्र निर्माण भएको गणतन्त्र स्मारकको अवलोकन गरेका छन् । 
बिहिबार साँझ साढे ६ बजे पुगेका उनले झन्डै आधा घण्टा स्मारकको अवलोकन गरेका हुन् । 

२०६५ मा आफू प्रधानमन्त्री छँदा नारायणहिटीमा गणतन्त्र स्मारक निर्माणको पहल गरेका उनले स्मारकको भौतिक संरचना निर्माण सम्पन्न भएपछि अचानक भ्रमण गरेका हुन् । स्मारक निर्माण गर्ने जिम्मा पाएका बंगलामुखी कन्सट्रक्सनका प्रोजेक्ट डाइरेक्टर रोशन श्रेष्ठ लगायतले स्वागत गरी स्मारक क्षेत्रको भ्रमण गराएका थिए । 

स्मारक अवलोकन पछि बोल्दै अध्यक्ष प्रचण्डले हजारौंको बलिदान पछि गणतन्त्र आएको बताँउदै गणतान्त्रिक पहिलो प्रधानमन्त्रीको हैसियतले यो स्मारक नारायहिटीमै बनाउनुपर्छ भनेर अगाडि बढाउने जमर्को गरेको स्मरण गरे । 

गणतन्त्र स्मारक परिवर्तनको पक्षमा लडेका र संघर्ष गरेका सबैका लागि खुसी र गौरवको कुरा भएको बताउदै आफ्नो लागि झन् बिषेश भएको बताए । 

गणतन्त्र ल्याउन आफूले ठूलो संघर्ष गरेको बताउदै उनले माओवादीको सरकारको पालामा काम अघि बढेको र स्मारक निर्माणको काम पूरा हुन लागेकोमा खुसी ब्यक्त गरे । उनले स्मारक मार्फत गणतन्त्रका लागि लडेका हजारौं शहिद र बेपत्ताको सपना साकार भएको महशुस गरेको उल्लेख गरे । 

स्मारको संरचनालाई अझ बिस्तार गर्ने र बिदेशीलाई पनि नेपाल आएको बेला घुम्नैपर्ने स्थलको रुपमा बिकास गर्दै गणतन्त्रको गौरब, महिमा र इतिहासलाई उजागर गर्नुपर्ने बताए । 
यस्तो छ स्मारक 
गणतन्त्र स्मारक निर्माणका लागि २०६९ मंसिर २१ गते सम्झौता भएपनि २०६९ चैतको अन्तिम साताबाट निमार्ण कार्य  सुरु भएको थियो । 

सम्झौता भएको ४ महिनासम्म सेनाले जग्गा दिन आनाकानी गरेका कारण काम रोकिएको बंगालामुखी कन्सट्रक्सनका प्रोजेक्ट डाइरेक्टर रोशन श्रेष्ठले बताए ।  
उनले भने–‘३ बर्षभित्र निमार्ण काम सक्नुपर्ने सम्झौता थियो । भूकम्प तथा नाकाबन्दीका कारण आयोजनको काम दुई बर्ष ढिला भयो । अहिले अन्तिम चरणमा । अब हस्तान्तरणको प्रक्रिया बाँकी छ । जेठ १५ गते गणतन्त्र दिवसको दिन हस्तान्तरण गर्छौं ।’

भिडियो 

नारायणहिटी दरबारको पूर्वी भागमा नेपाली सेनाले दिएको ३५ रोपनी जग्गामा स्मारक बनाईएको छ । यसको मास्टर प्लान अनुसार ५३ रोपनी थियो । स्मारक टुकुचा भित्र मात्र निमार्ण गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार यसको योजना ८२ रोपनीमा थियो । 

दक्षिण भागमा पर्याप्त जमिन रहेका कारण ८२ रोपनीमा यसलाई अझै बिस्तार गर्न सकिने निर्माण व्यवसायी रोशन श्रेष्ठ बताउछन् । तर त्यसका लागि उच्चस्तरीय पहल आवश्यक छ । 
स्मारक भित्रका दुई बिशाल हलमा जनआन्दोलनका क्रममा घाइते भएका, बेपत्ता भएका, अंगभंग भएका र हराएका हरुको प्रसंगलाई समेट्ने गरी म्युजियम बनाइदै छ ।  यसको काम भवन डिभिजनले गर्नेछ । 
स्मारक निमार्णका लागि सम्झौता २५ करोडको भए पनि हालसम्म ४० करोड रुपैँया खर्च भएको श्रेष्ठले बताए । 

गणतन्त्र स्मारकको निमार्ण बि कोई निमार्ण कम्पनी, स्काई बिल्र्डस र बंगलामुखी कन्स्ट्रक्सन गरी ३ निमार्ण कम्पनीले संयुक्त रुपमा काम गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप