सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युरोपा लिग फुटबल : बोभेले जिताए रोमालाई

शुक्रबार, २९ वैशाख २०८०, ०८ : ११
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौं । युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेग खेलमा इटालियन क्लब रोमा विजयी भएको छ । रोमाले बिहीबार राति खेलिएको खेलमा जर्मन क्लब बायर लेभरकुसेनमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । 

उक्त खेल रोमाको घरेलु मैदानमा खेलिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा २० वर्षीय इटालियन मिडफिल्डर एडोआर्डो बोभेले गोल गर्दै घरेलु समर्थकलाई खुसी तुल्याएका थिए । 

बोभेले खेलको ६२औं मिनेटमा गोल गरेका थिए । उनले युरोपियन प्रतियोगिताहरुमा गरेको यो पहिलो गोल पनि हो । पहिलो लेगमा जित हासिल गरेसँगै पोर्चुगिज नागरिक होजे मोउरिन्होको प्रशिक्षकत्वमा रहेको रोमाका लागि फाइनल यात्रा केही सहज बनेको छ । 

सेमिफाइनलको दोस्रो लेग खेल आगामी जेठ ५ गते जर्मन क्लबको घरेलु मैदानमा खेलिने छ । रोमाले हालसम्म युरोपा लिगको उपाधि जित्न सकेको छैन । सन् १९९१ मा रोमा युरोपा लिगको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा रोमालाई अर्को इटालियन क्लब इन्टर मिलानले हराएको थियो ।
 
बायर लेभरकुसेनले भने हालसम्म १ पटक युरोपा लिगको उपाधि जितेको छ । सन् १९८८ मा भएको युरोपा लिगको फाइनलमा जर्मन क्लब लेभरकुसेनले स्पेनिस क्लब स्पान्योललाई हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप