आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वसांसद आङटावा शेर्पाको ‘कनेक्सन’ खोज्दै प्रहरी

हिरासतमा पुगेर दुलाल र भण्डारीसँग भेट
शुक्रबार, २९ वैशाख २०८०, १९ : १९
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । भुटानी शरणार्थीको नाममा ठगी धन्दा चलाउने गिरोहसँग साँठगाँठ देखिएको आशंकामा पूर्वसांसद आङटावा शेर्पामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा नेपाली कांग्रेसमा आबद्ध छन् । उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्न केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेको खुलेको छ । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो ।

आङटावाले दुलाललाई प्रहरी वृत्त कालिमाटी र भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपितहरुलाई पूर्व गृहमन्त्री बालकृष्ण खाणको नाम बयानका क्रममा नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले आरोपितहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने, ‘केशव दुलाल र सानु भण्डारी थुनामा परेपछि उनीहरुका दाजु–भाइसँग शेर्पाले बालकृष्ण खाणले लिएको रकम फिर्ता गर्ने कागजसमेत गरेको थाहा भएको छ ।’

तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरुलाई बताएका हुन् । बयानमा उनले भनेका छन्, ‘मन्त्री खाण र सचिव टेकनारायण पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौं ।’

१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाणलाई वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव पाण्डे पनि थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । केसीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएको छ ।

२०४९ मा जिल्ला विकास समिति रामेछापको उपसभापति निर्वाचित भएका आङटावा शेर्पा गोकुलगंगा गाउँपालिका–१, चुचुरेका स्थानीय हुन् । शेर्पाले आफ्नै वडाका व्यक्तिहरुलाई ‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर रकम लिएको स्थानीयहरु बताउँछन् । एकजना स्थानीयले रातोपाटीसँग भने, ‘५० हजार कटाएर १० जनाको रकम भर्खरै फिर्ता गरेका छन् ।’

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा खेमाका शेर्पा पहिलेदेखि नै खाणसँग निकट थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार शेर्पाले रामेछाप र दोलखाका ७० जनाभन्दा धेरै स्थानीयलाई ‘शरणार्थी कोटामा अमेरिका पठाउँछु’ भनेर रकम असुलेको थाहा भएको छ ।

पैसा बुझाउनेमा उनका आफन्त नै धेरै भएको र फिर्ता गर्ने आश्वासन दिएको हुनाले पीडितहरुले उनीविरुद्ध उजुरीसमेत गरेका छैनन् ।  उनी निर्माण व्यवसायीसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप