सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेरो भन्ने आँट छैन, उताबाट पनि अफर आएन – अभिनेता विजय बराल

शुक्रबार, २५ फागुन २०७४, ११ : ११
शुक्रबार, २५ फागुन २०७४

विजय बराल पछिल्लो समय निर्माता तथा निर्देशकको रोजाइमा पर्न सफल कलाकार हुन् । जुनै भूमिकामा पनि अभिनय गर्न सक्ने कलाकार भएकाले पनि उनी सबैको रोजाइमा पर्न सफल भएका हुन् । करिब दर्जन चलचित्रमा सफल अभिनय गरेका उनले अभिनयमार्फत दर्शक हसाउन र रुवाउन माहिर छन् । ‘छड्के’बाट चलचित्र अभिनयमा चित्रिएका उनी अभिनित ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘हाउ फन्नी’ लगायत चलचित्रमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । उनी थिएटरमा पनि चिनिएका कलाकार हुन् । थिएटरबाट चलचित्रमा जम्प मारेका उनी पर्दामा जति माहिर देखिए पनि वास्तविक जीवनमा भने लजालु स्वभावका छन् । सानैदेखिको लाज लाग्ने अहिले पनि रहेको उनले बताए । विजय यतिखेर चलचित्र ‘हुर्रे’का कारणले चर्चामा छन् । उनको मुख्य भूमिका रहेको यो ‘हुर्रे’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘हुर्रे’ मार्फत पहिलो पटक चलचित्रको केन्द्रीय भूमिकामा देखिएका विजयलाई रातोपाटीका दश प्रश्न । 

‘हुर्रे’ आजबाट प्रदर्शनमा आएको छ । आफ्नो भूमिकाको बारेमा केही  भनिदिनुस् न ?
– मेरो भूमिका सामान्य जीवनमा देखिरहेको, भोगिरहेको जस्तो देखिन्छ । प्रोमोमा देखाइएको भूमिका अनुसार आफू हिरो हुँ भन्न सक्दिन । तर चलचित्रको विषयवस्तुअनुसार मुख्य कलाकार मै हुँ । म सँगसँगै यसको कथा कुदिरहेको हुन्छ । राम्रो उद्देश्य केही नभएको केटाले एक केटी पाउन सङ्घर्ष गर्ने भूमिका मेरो छ । जितपछिको हुर्रे, केही कुरामा खुसी हुँदाको हुर्रे, प्रेम प्राप्त गर्दाको हुर्रे यस्तैयस्तै कथामा छ– चलचित्र ‘हुर्रे’ ।

ट्रेलर र टिजरमा छाउनुभएको थियो । चलचित्र प्रदर्शनमा आउँदा कतिको एक्साइटेट हुनुहन्छ ?
– कबड्डी अभिनय गर्दा केही थाहा थिएन । ती चलचित्रमा आफूभन्दा सिनियर दाइहरू थिए । हिट पनि भयो । त्यसको श्रेय पनि पाएँ । ‘हुर्रे’मा आफूभन्दा सिनियर दाइहरू छैनन् । चलचित्रको सेन्टर क्यारेक्टरमा मै छु । यो चरित्रमा भएपछि कि त चलचित्र बोक्नुपर्ने हुन्छ, कि त आफूले राम्रो गर्नुपर्ने हुन्छ । स्पोटमा अभिनय गर्दा रमाइलो रमाइलोमै पूरा भयो । डर पनि केही थियो ।  लिड क्यारेक्टरमा अभिनय गर्न सक्छु कि सक्दिनँ भनेर । अहिले आएर राम्रो नराम्रो जे भए पनि स्वीकार्छु भन्ने लागेको छ ।

पर्दामा हिरोइज्म देखाउन कतिको सहज रहेछ ?
– त्यस्तो हिरोइज्म देखाउने अभिनय त अहिलेसम्म गरेकै छैन । तर पर्दामा लिड क्यारेक्टर निर्वाह गर्न गाह्रो रहेछ । 

आफूलाई कसरी हिरो देखाउनुहुन्छ ?
म हिरो लुक्स भएको मानिस होइन । तर कहिले कहिले दाह्री पालेर ऐना अगाडि हेर्दा आफू त राम्रो देखिँदो रहेछु । तर आफूले आफैलाई मेन्टेन चाहिँ नगरेको रैछु भन्ने लाग्छ । एक्सरसाइज गर्नुपर्ने रैछ । लिड क्यारेक्टरका लागि अझै मैले मिहिनेत धेरै गर्नुपर्छ भन्ने महसुस भएको छ । 

फेसनतिर कतिको रुचि छ ?
– फेसनमा धेरै कमजोर छु । हुन त थिएटर अभिनय गर्ने फेसनको मामलामा राम्रो हुँदैन भनिन्छ तर त्यो पनि होइन । नर्मल फेसन मनपर्छ । निलो निलो खुल्ला कलर मेरो रोजाइको कलर हो । 

अभिनयले खोसेको खुसी ?
– म त सानैदेखि अभिनय गर्थें । कक्षा ८ पढ्दा आफ्नै गाउँको भएकाले नारद खतिवडा जेजे गर्थे, त्यस्तै क्यारिकेचर गर्न थालेँ । स्कुलमा सबैमाझ क्यारिकेचर गरेर देखाउँथे । साथी, शिक्षक सबैले त अभिनय गर्न सक्छन् भनेपछि हौसिएर कलाकार बन्न काठमाडौँ छिरिहालँे । हजुरबुबाको चाहिँ मलाई बैङ्कमा जागिर खुवाउने इच्छा थियो । त्यो पूरा गर्न सकिनँ । 

मनपर्ने केटी ?
– अहिलेसम्म प्रेम गरिएको छैन । बोल्ड किसिमको केटी मनपर्छ । यसको मतलब जथाभावी गर्ने, चुरोट खाने खालको भन्न खोजेको होइन । लिडर, पर्सनालिटी हेर्दा नै बोल्ड देखिने, बौद्धिक कुरा गर्ने मनपर्छ । फेसमा त्यति ध्यान्न दिन्नँ । 

अहिलेसम्म प्रेम नहुनुको कारण ?
– स्कुल, कलेज पढ्दा लाज लाग्थ्यो मलाई । मेरो घर स्कुलबाट फर्किने बाटोमा पथ्र्याे । सँगै पढ्ने केटीसाथीहरू घरमा पानी खान आउँथे । उनीहरू आउँदा पनि म लाजले भित्र लुक्थेँ । उनीहरू गएको ढोकाको प्वालबाट चिहाएर हेर्थें र गएपछि निस्किन्थेँ । ब्याचलर पढ्दा पनि मलाई केटीहरूसँग बोल्न लाज लाग्थ्यो । जब थिएटर आएँ तब बोल्न थालेँ । थिएर स्ट्रगल समय भएकाले हल बनाउने, नाटक गर्नेलगायतका कारणले प्रेमतिर ध्यान गएन । अहिले एउटा केटी साथी हुनुपर्दाे रहेछ । जोसँग सबै कुरा सेयर गर्न मिल्छ, दुःख सुख साट्न मिल्छ भन्ने लागेको छ । 

केही सपना छ कि ?
– एक सपना अभिनयको विषयमा अझ धेरै अध्यायन गर्नुपर्छ भन्ने छ । अर्काे राजधानीमा सानो भए पनि एउटा जग्गा किन्नुपर्छ र साथीभाइको भेट हुने जक्सन बनाउनुपर्छ भन्ने लागेको छ । 

डेटको अनुभव छ कि छैन ?
– छैन, छैन । म लजालु स्वभाव भएको मानिस हुँ । म त कुनै केटीलाई प्रेम गर्छु, डेट गरौँ भन्ने आँट नै छैन । उताबाट पनि अहिलेसम्म यस्तो अफर आएन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप