आउनुस् स्त्री र पुरुषको स्वतन्त्र सम्बन्धलाई स्वागत गरौँ
प्रेम, विवाह र त्यसका मानवीय आयाम
विवाह दुई विपरीत लिङ्गीहरू सम्मिलित मानव निर्मित सामाजिक संस्था हो, जहाँबाट समाज सुरु हुन्छ । मानव विकासको ऐतिहासिक प्रवाहमा विवाहले अनेक रूप परिवर्तन गरे पनि जैविक आवश्यकताले उत्पन्न यौन संसर्ग र सन्तान उत्पादनको उद्देश्य प्राचीनकालदेखि अहिलेसम्म यथावत छ । पछि विविध परिवर्तनसँगै यसमा अन्य तत्वहरू थपिँदै गएका हुन् । जस्तै आर्थिक, धार्मिक, संस्कृतिक, राजनीतिक र वैयक्तिक । मानवीय इतिहासमा प्रकृति र मानवबीचको सम्बन्ध तथा श्रम र उत्पादनबीचको सम्बन्धमा आउने परिवर्तनहरूले मानवको विविध समूहबीच द्वन्द्व र साहचर्यको नयाँ अवसर र परिस्थितिहरू सृजना गर्यो ।
यसले प्राचीन समाजमा प्रचलित स्वच्छन्द कामाचारलाई पनि प्रभावित र नियमन हुन बाध्य गर्यो । यसै क्रममा विवाह नामक सामाजिक संस्था अस्तित्वमा देखियो । मानव विकासको इतिहासमा विवाहको तीनवटा रूप पाइन्छ¬– युथ, युग्म र एकनिष्ठ । युथ विवाह दुई भिन्न मानव समूह वा गोत्रबीच हुने विवाह हो । विवाहको प्राचीनतम रूप युथ विवाहमा एक समूहको स्त्री वा पुरुष अर्को समूहको स्त्री वा पुरुषसँग यौन संसर्ग गर्ने गर्दथे । तर आआफ्नै समूहमा बस्दथे ।
यस विवाहले यौन संसर्गको क्षेत्र मात्र निर्धारण गथ्र्याे । तर जीवनका जटिलताहरूले यसमा परिवर्तन ल्यायो । एउटै गोत्रभित्र उपगोत्रहरू र गोत्रभित्रै स्त्री र पुरुषबीच यौन संसर्गको स्थिति देखिन थाल्यो, जसलाई युग्मविवाह भनिन्छ । प्रायः निश्चित स्त्री–पुरुषबीच विवाह भए पनि पत्नीले अर्को पुरुषसँग र पतिले अर्की स्त्रीसँग यौन संसर्ग गर्ने गर्थे । युथ विवाहले यौन संसर्गको क्षेत्र मात्र निर्धारण गरेको थियो भने युग्मविवाहले यौन सम्बन्धलाई भूगोल र सामाजिक क्षेत्र निर्धारणतिर अग्रसर गरायो ।
विवाहका यी दुई प्रकृतिका पछाडिको तत्कालीन सामाजिक अवस्थालाई विचार गर्दा युथ विवाहको बहुप्रचलनको समयसम्म स्त्री र पुरुष समान थिए भने युग्म विवाहको चरणमा पुरुषवर्चस्व स्थापित भइसकेको थियो । सन्तान उत्पादन र पालन–पोषण तथा फलाहार सङ्कलन जस्ता सामान्य प्रकृतिको आहार सङ्कलन स्त्रीको दायित्व तथा हिंसक पशुहरूको शिकार तथा शत्रुसँगको सङ्घर्षमा नेतृत्वकारी भूमिका खेल्ने दायित्व पुरुषहरूको निम्ति निश्चित भइसकेको थियो । यसले पुरुषहरूलाई पति (स्वामी, मालिक, अधिकारसम्पन्न) र स्त्रीलाई भार्या (भरण–पोषण वा पालन गर्नुपर्ने) र पत्नी (पालित) मा परिणत गरिसकेको थियो ।
साली विवाह, देवर विवाह र मन्दिरहरूमा देवदासी वा देउकी युथ विवाहकै अवशेषहरू हुन् । उन्नाइसौँ शताब्दीमा नृजाति विज्ञानका पिता मानिने एल.एच. मोर्गनले ‘प्राचीन समाज’ नामक वैज्ञानिक ग्रन्थमा यसबारेमा सटिक वैज्ञानिक विवेचना प्रस्तुत गरेका छन् । त्यसतै मौर्गनको खोजलाई स्वागत गर्दै तर उनको एकाङ्गी दृष्टिकोणको आलोचना गर्दै लेखिएको फ्रेडरिक एङ्गल्सको ‘परिवार, निजी सम्पत्ति तथा राज्यको उत्पत्ति’ तथा युगान्तकारी जीववैज्ञानिक डार्बिनको विकासवादी मतसम्बन्धी रचनाहरू यस विषयमा अध्ययनका निम्ति आवश्यक सामग्रीहरू हुन् ।
यस विषयमा पूर्वीय एतिहासिक साक्ष्यहरू समेत पर्याप्तरूपमा उपलब्ध छन् । कामाचारमा सामान्यतः आलोचित तर एकनिष्ठताको अभाव भएको युग्म विवाहको उदाहरण हाम्रा वैदिक र पौराणिक साहित्य भरिएका छन् । निश्चत पिताको ठेगान नभएका कयौँ ऋषिहरू छन्, जसले वैदमा ऋचाहरूको रचना गरेका छन् । याज्ञवल्क्य रचित वृहदारण्यकका एकजना ऋषि सत्यकाम जाबालीले शिक्षा अध्ययनको निम्ति गएको बेला गौतम ऋषिसँग परिचय दिने क्रममा आफ्नी आमा स्वतन्त्र नारी भएकाले कैयौँ पुरुषसँग गमन गरेको र यसैकारण पिताको ठेकान नभएको भन्दै आमा ‘जाबाली’ को नामलाई नै गोत्रको रूपमा प्रस्तुत गर्दछ ।
महाभारतमा हामी द्रोपदीलाई हेर्दछौँ, जसलाई जितेर वरण त अर्जुनले गरेका थिए तर उनि पाँचभाइ पाण्डवकी पत्नी थिइन् । यो विवाह युग्म विवाहकै एउटा रूप थियो । युग्म विवाहका अन्य उदाहरणहरूमा वृहस्पतिकी पत्नी तारा आफूले मन पराएर वृहस्पतिकै शिष्य चन्द्रमासँग भागेर गइन् । चन्द्रमाबाट एउटा सन्तान बुधको जन्म पनि भयो । पछि देउताहरूको बैठकले छोरा बुधलाई त चन्द्रमाकै भने तर तारामाथिको स्वामित्व वृहस्पतिकै कायम गरे ।
अहिले यस प्रकारका प्रसङ्ग र सम्बन्धहरू अनौठो लागे पनि तत्कालीन समाजमा यो मान्य र स्वाभाविक थियो । अहिलेको समाजमा यस प्रकारका सम्बन्धहरू आलोच्य भए पनि बहुपत्नीत्व र लुकाएरै भए पनि महिलाहरूले जार राख्ने घटनाहरू तिनै प्राचीनकालीन मानसिकताका अवशेषहरू हुन् ।
एकनिष्ठ विवाहको विकास युग्म विवाहबाट भएको हो । समाजमा धन (अधिशेष अथवा सरप्लस) वा सञ्चित वस्तु, आरक्षित वा अधिकारयुक्त क्षेत्रको उत्पत्ति र यसको गुम्ने, प्राप्त गर्ने तथा उत्तराधिकारको अवधारणा वस्तुगत् कारणहरू थिए भने पुरुष वर्चस्व तथा उमेरको कारण यौन आनन्द वा तृप्ति वैयक्तिक सामाजिक कारणहरूले युग्मविवाहलाई एकनिष्ठ विवाहतर्फ प्रेरित गर्यो । ‘धन’को उत्तराधिकारी आफ्नै वीर्यबाट जन्मेको सन्तान होस् भन्ने ध्येय पनि विवाहमा एकनिष्ठ वर्जनाको बलियो कारण बन्यो ।
यहाँ रोचक सन्दर्भ के हुनसक्दछ भने विवाह परम्परामा एकनिष्ठताको विकास न भएसम्म स्त्री–पुरुषबीच यौनप्रेम अझ आधुनिक अर्थमा स्त्री–पुरुषबीच प्रेमग्रन्थहरूमा व्याख्यायित आत्मिक प्रेम जन्मेको थिएन । यहाँ के स्पष्ट हुनु जरुरी छ भने आत्मिक प्रेम भने पनि अथवा प्रेमका जतिसुकै दार्शनिक व्याख्या गरिए पनि स्त्री–पुरुषबीचको प्रेमाकर्षणको आधार विपरीत यौनिक आकर्षण नै हो ।
प्रारम्भमा यो यौनिकप्रेम विवाहेत्तर सम्बन्धहरूमा बढी देखियो । यसको प्रबलता प्राचीनकालदेखि प्रकारान्तरले वर्तमानमा पनि देखिन्छ । यद्यपि वर्तमानमा यस प्रकारको प्रेमसम्बन्ध कठोर आलोचना र वञ्चनाको सीमा पार गरेर एकनिष्ठ वैध विवाहको रूपमा पनि परिणत हुने गरेको थोरै भए पनि देखिएको छ । यसप्रकार हामी के भन्न सक्दछौँ भने प्राचीनकालमा न त परिवार थियो, न प्रेम, त्यहाँ यौन इच्छा मात्र थियो ।
तपाईंले पौराणिक कथाहरू, मिथकहरूमा नायकको वंशावली, वंशगत र वैवाहिक सम्बधहरू त पाउनु हुन्छ, तर त्यहाँ प्रेम, वियोग, विरह आदि भावनाहरूको चर्चा पाउनु हुन्न । ऋगवेदमा यौनिक प्रेम प्रसङ्गहरूको चर्चा किन छैन ? भन्ने सोच्नुभएको छ ? यसको निम्ति तपाईंले पौराणिक उत्तरकाल र त्यसपछिको कालमा रचिएको महाभारत आदि साहित्यप्रधान काव्यहरूलाई हेर्नुपर्दछ । ध्यान दिनुस्, कृष्ण र सत्यभामा–रुक्मिणी होइन, कृष्ण–राधा, अर्जुन र द्रोपदीको होइन अर्जुन र सुभद्रा, दुष्यन्त र उनको विवाहित रानी होइन दुष्यन्त–शकुन्तला आदि सामाजिक मान्यता प्राप्त विवाहभन्दा इतर विवाह वा अवैध यौन प्रेम सम्बन्धहरू एकनिष्ठरूपमा देखिएका छन् ।
यसमा राम–सीताको प्रसङ्गसमेत उठाउन सकिन्छ तर वाल्मिकीको भनाइमा रामायण रच्नुको र राम र सीताको अवतरणको उद्देश्य एकनिष्ठ विवाहको मर्यादा स्थापित गर्नका निम्ति भएको हो । यसमा विचार गर्ने हो भने पनि त्यतिबेला समाजमा विवाहेत्तर सम्बन्धहरू व्याप्त थिए भन्ने तथ्य स्पष्ट छ । गौतम–अहिल्या–इन्द्र प्रसङ्ग, दण्डकारण्यमा सुपर्णखाले सहजै राम र लक्ष्मणसामु विवाह प्रस्ताव राख्ने प्रसङ्ग आदि यसका सहज प्रमाण हुन् । यस अतिरिक्त एउटा महत्वपूर्ण विषय के छ भने रामायणमा वर्णित समाज एउटा सामाजिक र राजकीय मान्यतामा सुव्यवस्थित हुन–हुन लागेको देखिन्छ भने महाभारतको समाज प्राचीनकालदेखि मिथकीय युगको अन्तसम्मको समाजको वर्णन बुझिन्छ ।
प्राचीन युनानी मिथकहरूमा प्रेमको देवता होइन, कामको देवता ‘एरोस’ प्रकट हुने गर्दछ । त्यहाँ प्रेम त रखौटेहरू तथा दासहरूमा थियो । तर यो विगत दुई सय वर्ष अर्थात आधुनिक चेतनामा विकसित यौन र दार्शनिकभावको संयोजन जस्तो प्रेम होइन ।
‘परिवार, निजी सम्पत्ति तथा राज्यको उत्पत्ति’ नामक आफ्नो प्रसिद्ध पुस्तकमा माक्र्सवादका प्रवर्तक द्वयमध्येका एक फ्रेडरिक एङ्गेल्स यसबारे लेख्छन्– ‘प्राचीनकालीन सरल यौन इच्छा, एरोस भन्दा हाम्रो यौनप्रेम धेरै भिन्न छ । एक त हाम्रो यौन प्रेमले के ठान्दछ भने यो दुईतर्फी हुन्छ, जसमा प्रेम गरियो भने प्रेम पाइन्छ । यसरी स्त्रीको दर्जा पुरुषको बराबरी हुन्छ, जबकि प्राचीनकालीन एरोसमा हरेक पटक स्त्रीसँग राय सोधिँदैन । त्यस्तै, यौनप्रेम यति तीव्र र स्थायी रूप धारण गर्दछ कि दुवै पक्ष यस्तो मनस्थितिमा पुग्दछन्, मानौँ उनीहरूले एकअर्कालाई पाउन सकेनन् भने वा एक–अर्कासँग बिछोडिनु पर्यो भने ठूलो दुर्भाग्य अवश्य हुनेछ । एकअर्कालाई पाउनका खातिर उनीहरूले ठूलोभन्दा ठूलो खतरा मोल्छन् । यहाँसम्म कि यसको निम्ति उनीहरूले आफ्नो जीवन सङ्कटमा पार्न पनि हिचकिचाउँदैनन् । प्राचीनकालमा यस्ता कुरा, अधिकतम्, विवाहेत्तर यौन व्यापारमा हुने गर्दथ्यो र अन्तिम कुरो के छ भने अचेल सम्भोगको औचित्य वा अनौचित्य एउटा नयाँ नैतिक मानदण्डबाट निर्धारित हुने गर्दछ । अब, सम्भोग वैध अथवा अवैध भन्ने मात्र सोधिँदैन, बरु त्यो पारस्परिक प्रेमको परिणाममा अडिएको छ कि छैन भन्ने पनि सोधिन्छ ।’
पौराणिक साहित्यहरूमा आर्य परम्परालाई एकनिष्ठ विवाहमा नियमन गर्ने श्रेय श्वेतकेतुलाई दिइएको छ । छान्दोग्य उपनिषद्को यस ऋषिकी आमाको अपहरण एकजना ब्राह्मणले गरे । यसबाट दिक्दार भएका श्वेतकेतुले विवाहित स्त्रीले पतिबाहेक अन्य पुरुष राखेमा वा विवाहित पुरुषले अन्य स्त्रीसँग संसर्ग गरेमा भ्रूणहत्याको पाप लाग्ने सिद्धान्त बनाए । यस विषयमा याज्ञवल्क्य आदि अन्य ऋषिहरूले पनि विवाहलाई नियमन गरेको पाइन्छ । बाल्मिकीको रामकथामा यसैलाई अनुकरण र मर्यादित गर्ने प्रयास गरिएको छ ।
मध्यकालमा विवाहेत्तर सम्बन्धहरू आलोच्य त थियो तर रोकिएको थिएन । पुरुष वर्चस्वको कारण स्त्री लौकिक र पारलौकिक सुख अर्थात पृथ्वीमा सन्तान जन्माएर धन र क्षेत्रको उत्पादन र रक्षा तथा मृत्यु संस्कार गरेर पिता–मातालाई स्वर्गीय सुख दिलाउने साधन मात्र थिइन । जैविक अर्थमा पुरुषको निम्ति पुत्र जन्माउने यौनिक पात्र मात्र थिइन् स्त्री । यसको कारण थियो आर्थिक तथा विधि थियो धार्मिक । अतः मध्यकालमा समेत एङ्गेल्सले भनेजस्तै स्त्री र पुरुषबीच बराबरीको स्तरमा वैध प्रेम जन्मेको थिएन । यो विवाह बाध्यता र यान्त्रिक दायित्व मात्र थियो । अपवादमा कहीँकतै स्वतन्त्र प्रेम थियो भने दास–दासीहरू बीच वा राजा र योद्धाहरूको विवाहेत्तर सम्बन्धहरूमा । यद्यपि यी सम्बन्धहरूमा समेत पुरुष वर्चस्व त थियो नै तर पारम्पिरिक यौन इच्छाभन्दा भिन्न तुलनात्मक रूपमा यसमा बढी स्वतन्त्रता थियो ।
वर्तमान समयमा हामी वैश्विक समाजमा बाँचिरहेका छौँ । आधुनिक चेतनाहरूले मानवीय सामाजिक र वैयक्तिक सम्बन्धहरूलाई समष्टि र व्यष्टि दुवैस्तरमा परिवर्तित हुन प्रेरित गरिरहेको छ । विश्वभरि भएका विविध मुक्तिसङ्घर्षहरू र सामाजिक आन्दोलनहरूले वैचारिक स्तरमा नारी र पुरुषबीच समानस्तरमा सम्बन्धबारे विविध बहसहरू सृजना गरेका छन् । तर हाम्रो हिन्दू र मुस्लिम समाज अझै मध्यकालीन पुरुष वर्चस्वको धार्मिक रुढ सामाजिक व्यवस्थाबाट निस्कन सकेको छैन । जहाँ स्त्री यौनिकयन्त्र मात्र हो र पुरुष स्वामी, धन र स्वर्गको रक्षक ।
अहिले हामी बाँचिरहेको समाजमा जात–पातको सङ्कीर्णता, दाइजो र तल्लो–माथिल्लोको अमानवीय वातावरण व्याप्त छ । यसमा धन र धर्म दुवै पुरुषको वर्चस्वको साधक बनेको छ । यस अर्थमा विवाह यस एक्काइसौँ शताब्दीमा पनि स्त्री र पुरुषबीच स्वतन्त्र सम्बन्धको सिद्धान्तमा आधारित छैन । बरु विवाह दुई परिवारबीचको सामाजिक सम्बन्धको छद्म तर्कमा आधारित छ । यसमा अर्थ र धर्म दुवै कारक छ । पिताले छोरीको हात समाएर पुरुषको जिम्मा लगाउँछ र आफूलाई ठूलो पुण्यको भागी सम्झेर कृत्कृत्य हुन्छ ।
यसको निम्ति दुलाहाको बाउलाई दाइजोसमेत दिने गर्दछ । यसमा घटी–बढी भएमा दुलहीको जीवन नारकीय भएको र दुलहीको हत्यासमेत हुने गरेका घटनाहरू सामुन्ने आएको देखिन्छ । यसका पछाडि निश्चित रूपमा पुँजवादी युग, जसका हरेक अवयव र कृत्यहरूका पछाडि नाफा र पुँजी हुनु तथा यसको पिछलग्गु धर्म वा धार्मिक विधि वा कर्मकाण्डीय रीतिरिवाज हुनु हो । यसै कारण प्राचीन र मध्ययुग जस्तै आधुनिक युगमा पनि स्त्री र पुरुषबीचको अधिकांश दाम्पत्य सम्बन्धमा स्वतन्त्र यौनिक प्रेमभन्दा पनि पुरुष वर्चस्वको यान्त्रिक यौनेच्छा मात्र व्यक्त हुनु स्वाभाविक नै छ । त्यसैले विवाहेत्तर सम्बन्धहरू, जतिसुकै आलोचना गरिए पनि अहिले पनि जारी नै छ । एङ्गेल्सले ठिकै भनेका छन्– वर्तमान समाजमा एकनिष्ठ प्रेम कि त समान हैसियतमा स्त्री–पुरुषको स्वतन्त्र यौनिक प्रेममा कि त वेश्यागमनमा अभिव्यक्त हुन्छ ।
आधुनिक अर्थमा प्रेमविवाह पुरातन चिन्तन, धन र धर्मको सामाजिक व्यवस्था विरुद्धको प्रतिरोधी चेतना र कार्य हो । पारम्परिक हिन्दु र मुस्लिम समाज अझै यसको विरुद्ध र निर्मम देखिन्छ । बौद्धिकता, समझदारी, प्रतिष्ठा र सामाजिक सहमति अझै पारम्परिक विवाहसँगै छ । वैश्विकताको कारण कानुनले स्त्री र पुरुषलाई स्वतन्त्र स्वीकार गरे पनि जडचेतन पारम्परिक समाज अझै यसको विपक्षमा नै देखिन्छ । तर सामाजिक सहअस्तित्व, आधुनिक शिक्षा र चेतना, विविध धर्म र जातिका मानिसहरूको मिश्रित समाज, जाति, धर्म र संस्कृतिभन्दा भिन्न आर्थिक र वर्गीय सम्बन्ध र सहकार्यले आधुनिक समाजमा प्रेम विवाहको (वास्तविक अर्थमा एकनिष्ठ) चेतना बढ्दो छ ।
गहिरिएर हेर्ने हो भने यस धर्मनिष्ठ जातीय समाजको आधार भत्किन सुरु भइसकेको छ । यो आवश्यक पनि छ । विवाह जसरी आर्थिक भार र धनको प्रतिष्ठा प्रदर्शनमा परिणत हुँदैछ तथा स्त्रीहरू गरिब मातापिताको निम्ति आर्थिक र सामाजिक चिन्ताको कारण बन्दैछन् । त्यस्तो सामाजिक परिपाटीमा यो आवश्यक छ । जातिको नाममा उच्च र निम्नको असमान सामाजिक श्रेणी र व्यवहारले गर्दा हाम्रो समाज सर्वतोमुखी विभाजित र पछौटे समाज हो । समृद्ध समाजको निम्ति एकीकृत हुन जाति, धर्म र संस्कृतिभन्दा माथि उठेर मानवीय र समान चेतनाको आधारमा स्त्री–पुरुषबीचको सम्बन्ध स्थापित हुनुपर्दछ र यसको निम्ति प्रेमविवाह उपयुक्त छ ।
प्रेमविवाह पारम्परिक सामाजिक संरचनाविरुद्धको प्रतिरोधी चेतना हो भनेर पहिले नै भनिसकियो । तर असमान सामाजिक श्रेणीको कारण कतिपय अवस्थामा यो भावनात्मक मात्र र अपरिपक्व सावित भएको छ । पारम्परिक सामाजिकताभन्दा भिन्न सिनेमाई कथाहरूमा वर्णन गरिएजस्तै उत्कृट यौनेच्छा र हार्मोनल असन्तुलनबाट निःसृत भावनात्मक प्रेमविवाहहरू पुनः पुरुष वर्चस्वको पारम्परिक दाम्पत्यमा परिणत हुने गरेका छन् । समाजिक बहिष्करण र असहयोगको कारण कतिपय प्रेमविवाहहरू असफल हुने गरेका छन् । यस प्रकारका असफलताका पछाडि असमान चेतना तथा अपरिपक्व भावनात्मक निर्णयहरू पनि छन् ।
यसलाई सामाजिक दृष्टिकोणले हेर्ने हो भने यस प्रकारका असफलताहरूले अन्ततः समाजभित्र विविध विकृतिहरू र सामाजिक पछौटेपनका अप्रत्यक्ष कारणहरू जन्माउँदछन् । वैश्विक आधुनिक शिक्षा, सहवास र यसबाट उत्पन्न चेतना तथा सम्बन्धका कारण प्रेम सम्बन्धलाई रोक्न सकिँदैन । बरु यसलाई सहजमा स्वीकार गर्नु नै बुद्धिमानी हुनेछ । आउनुस स्त्री र पुरुषको स्वतन्त्र सम्बन्धलाई स्वागत गरौँ जो आधुनिक छ । धन, धर्म, संस्कृति तथा पुरातनताभन्दा माथि छ । वैध वा अवैधभन्दा पनि पारस्परिक प्रेमको परिपक्व परिणाम छ, हार्दिक छ र मानवीय छ ।