आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्याट्सम्यानसँग बम्किए दिल्लीका कप्तान वार्नर

आइतबार, ३१ वैशाख २०८०, १२ : १८
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको पछिल्लो खेलमा पराजित भएपछि दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नर आफ्ना ब्याट्सम्यानहरुसँग बम्किएका छन् ।

३६ वर्षीय अस्ट्रेलियन खेलाडी वार्नरले ब्याट्सम्यानहरुको लगातारको निराशाजनक प्रदर्शनकै कारण जारी आईपीएलमा दिल्लीले एकपछि अर्को निराशाजनक नतिजाको सामना गर्नुपरेको बताए ।

दिल्ली शनिबार राति भएको खेलमा पञ्जाब किङ्ससँग ३१ रनले पराजित भएको थियो । उक्त पराजयसँगै दिल्ली उपाधि होडबाट पनि बाहिरिएको थियो ।

पञ्जाबबाट दिल्लीले केवल १ सय ६८ रनको विजयलक्ष्य पाएको थियो । तर, दिल्लीले त्यो लक्ष्य पनि भेट्टाउन सकेन । दिल्लीले निर्धारित ओभरमा १ सय ३६ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि ओपनर ब्याट्सम्यान वार्नरले सर्वाधिक ५४ रन बनाएका थिए ।

ओपनिङ विकेटको जोडीले ६९ रनको साझेदारी ग-यो । अर्का ओपनर फिल साल्टले २१ रन बनाएका थिए । साल्ट आउट भएपछि दिल्लीको अन्य ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । तेस्रोदेखि छैटौं नम्बरसम्मका ब्याट्सम्यानले त दोहोरो सँख्यामा समेत रन बनाउन सकेका थिएनन् ।

दिल्लीले १०.१ ओभरमै ८८ रनको कुल स्कोरमा आफ्ना ६ महत्वपूर्ण विकेट गुमाइसकेको थियो । ‘हामीले थुप्रै खेल ब्याटिङकै कारण हारेका छौं,’ वार्नरले भनेका छन्, ‘आज फेरि हामीले ब्याटिङमै निराशाजनक प्रदर्शन दोहो-यायौं,’ उनले भनेका छन् ।

हालसम्म १२ खेल सकेको दिल्ली ८ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औं स्थानमा छ । केवल ४ खेलमा जित हात पारेको दिल्ली ८ खेलमा पराजित भएको छ । दिल्लीले जारी सिजनको आईपीएलमा अब २ खेल खेल्न बाँकी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप