आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा वारेन्ट जारी भएका ४ जना फरार

आइतबार, ३१ वैशाख २०८०, १५ : १४
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पुर्जी (वारेन्ट) जारी भएका ४ जना प्रहरीको खोजी सूचीमा रहेका छन् । 

प्रहरीले सो प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, पूर्वसभासद आङ्टावा शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ । 

यस्तै तत्कालीन गृहमन्त्री बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छाेरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर, चारै जना अहिले फरार रहेपछि प्रहरीले सम्भावित स्थानमा खोजतलासलाई तीव्र बनाइरहेको छ । 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको खबर सञ्चामाध्यममा आउँदा उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा व्यस्त थिए । तर, उनी प्रहरीलाई छल्दै सभामुख देवराज घिमिरेसँग भैरहवासम्म आएपनि त्यहाँबाट फरार रहँदै आएका छन् । 

उनी भारतमा लुकेको हुनसक्ने आशंकासहित प्रहरीको एक टोली यतिबेला भारत पुगेको छ । रायमाझी फरार भएको ११ दिन बितिसक्दा समेत पक्राउ पर्न सकेका छैनन् । बरु उनले एमाले नेतृत्वलाई नै घात गरेको र अनुसन्धानमा सघाउनुको साटो फरार भएको भन्दै पार्टीले सचिवबाट निलम्बन गरिसकेको छ । प्रहरीले साझमाझीका छोरा सन्दीपलाई भने वैशाख २० मै पक्राउ गरेको थियो । 

यस्तै इन्द्रजित राईका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले इन्द्रजितलाई वैशाख १९ मा पक्राउ गरेको थियो । नक्कली शरणार्थी प्रकरणमा राजनीतिक नेतृत्वसँग जोडिएर पक्राउ परेका इन्द्रजित नै पहिलो पात्र थिए । सोही प्रकरणमा राईका छोराको समेत कनेक्सन देखिएर पक्राउ पुर्जी जारी भएपछि उनी आइतबारसम्म पक्राउ पर्न नसकेका हुन् । 

यस्तै पछिल्लो पटक पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा र पूर्वसांसद आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्द्रजित पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएसँगै थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । प्रतीकले यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

यस्तै आङटावा २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । 

भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । 

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको प्रहरीको भनाइ छ ।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप