सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जावलाखेल मनाङसँग बराबरीमा रोकिए

आइतबार, ३१ वैशाख २०८०, १७ : ५९
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । ८० मिनेटसम्म लिएको अग्रतालाई अन्तिम १० मिनेट कायम राख्न नसक्दा जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । 

लतितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मर्स्याङ्दी क्लवबिरुद्ध २–२ को बराबरीमा रोकिएको हो । निकै रोमाञ्चक बनेको खेलमा जावलाखेलका लागि एनकोटो मासोबी र हिसुब थपलियाले शुरुवाती अग्रता दिलाए पनि मनाङका लागि विशोन गुरुङ र सुमित श्रेष्ठले अन्तिम १० मिनेट भित्र दुई गोल गरेपछि मनाङले अंक खोस्न सफल भएको हो ।

बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ । शुरुवातमा आक्रामक खेल्दै मनाङलाई दबाबमा राखेको जावलाखेलका लागि खेलको ३४औं मिनेटमा मासोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

विनोद केसीले प्रदान गरेको बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई  बिट गर्दै मासेबीले जाली चुमाउन सफल भएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र जावलाखेल पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो । ७५ औं मिनेटमा हिसुबले जावलाखेलको अग्रता दोब्बर बनाए ।

 हिसुबले फोडे फोफनाको पासलाई सदुपयोग टोलीलाई अगाडि बढाउँदा ८१ औं मिनेटमा विसोनले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । विसोनले कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गर्न सफल भएका थिए । त्यसपछि तालमेलेको अभावको फाइदा उठाउँदो मनाङले अन्तिम मिनेटमा गोल थप्दै खेल २–२ को बराबरीमा ल्यायो र दुवै टोलीबाट थप गोल हुन सकेन । बाँकी समयमा बल पोजिसनमा अगाडी देखिएको मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन ।

यससँगै लिगमा मनाङबिरुद्ध जावलाखेल अपराजित रह्यो । पहिलो लेगमा जावलाखेल ३–० ले विजयी भएको थियो । यस बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर गुमाएको हो । जावलाखेलको १८ खेलमा ३१ अंक छ ।  एक खेल कम खेलेको चर्च ब्वाईज ३० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । मनाङ १८ खेलमा २२ अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत आईतवार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पनि न्युरोड टिम (एनआरटी) र फ्रेण्ड्स क्लवले पनि समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिए पनि फ्रेण्ड्स क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ । खेलको २८ औं मिनेटमा रफिक अमिनुले  फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलमार्फत एनआरटी बराबरीमा आएको थियो । ६६ औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेण्ड्सलाई २–१ ले अगाडी बढाए । ८९ औं मिनेटमा निकोलस सङ्गले गोल गर्दै एनआरटीलाई हारबाट जोगाए । 

लिगमा एनआरटीबिरुद्ध फ्रेण्ड्स अपराजित रहेको हो । पहिलो लेगमा फ्रेण्ड्स ३–१ ले विजयी भएको थियो । यस बराबरीसँगै १८ खेलमा २० अंक जोडेको फ्रेण्ड्स १२ औं स्थानमा उक्लिएको छ ।  फ्रेण्ड्स रेलिगेशन क्षेत्रको नेपाल पुलिस क्लवको भन्दा मात्र एक अंक बढी हो । एनआरटी १८ खेलमा २२ अंकका साथ नवौं स्थानमा यथावत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप