सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शरीरमा फोलेटको कमी छ ? यसले बनाउँछ शक्तिहीन, ५ सङ्केतबाट बुझ्नुहोस्

सोमबार, ०१ जेठ २०८०, ११ : ५०
सोमबार, ०१ जेठ २०८०

कहिलेकाहीँ यस्तो लाग्छ कि शरीरमा शक्ति नै छैन । सधैँ थकाई मात्र लागिरहन्छ । केही गर्न अल्छी मात्रै लाग्छ । हुन त थकान र कमजोरीका कारण धेरै नै हुनसक्छ तर तपाईंको शरीरमा फोलेटको कमी भएको छ भने यो समस्या बढी देखिन्छ । फोलेटको कमीका कारण शरीरको क्रियाकलाप राम्रोसँग हुन पाउँदैन । फोलेटलाई भिटामिन बी ९ पनि भनिन्छ । विशेष गरी गर्भवती महिलालाई यसको बढी आवश्यकता पर्छ । फोलेटको कमीले थकान, कमजोरी, मुखभित्र घाउ आउने र स्मरणसँग सम्बन्धित समस्या देखिन थाल्छ ।

फोलेट किन चाहिन्छ ?

फोलेटले शरीरमा रातो रक्त कोशिका र डिएनए बनाउँछ । रातो रक्त कोशिकामा पाइने हेमोग्लोबिनले शरीरमा अक्सिजन प्रवाह गर्छ र त्यहाँबाट कार्बन डाइअक्साइड निकाल्छ । अर्कोतर्फ, डिएनए कोशिका भित्र जेनेटिक मटरियल हुन्छ । डिएनएमा खराबी हुँदा क्यान्सरको जोखिम बढ्छ । फोलेटले कार्बोहाइड्रेटलाई तोड्न मद्दत गर्छ अर्थात् ऊर्जावान् बनाउन फोलेटको पनि आवश्यकता पर्छ । गर्भावस्थामा भ्रूणको विकासका लागि रगत र भ्रूणमा कुनै पनि खालको विकार नहोस् भन्नका लागि डिएनएको विशेष आवश्यकता हुन्छ, त्यसैले गर्भावस्थामा फोलेटको भूमिका अत्यधिक छ । यसैबाट बुझ्न सकिन्छ कि फोलेट हाम्रो लागि किन यति धेरै जरुरी छ ।

फोलेटको कमीको लक्षण

फोलेटको कमीले छालाको रङ धमिलो वा पहेँलो हुन थाल्छ । फोलेटको कमी हुँदा सास फेर्न गाह्रो हुनसक्छ ।

अत्यधिक थकानले चिडचिडेपन पनि निम्त्याउन सक्छ । रिँगटा लाग्ने र कमजोरी फोलेटको कमीको मुख्य लक्षण हो ।

जिब्रो रातो देखिन थाल्छ र कमजोरी हुन थाल्छ । मुख भित्रको छाला निस्कन थाल्छ, जसका कारण खानाको स्वाद आउँदैन ।

कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ।

स्मरण शक्ति कमजोर हुन्छ र निर्णय लिने क्षमतामा पनि ह्रास आउँछ ।

सधैँ शक्तिविहीन महसुस हुन्छ । 

मांसपेशीमा कमजोरी आउन थाल्छ । तौल पनि घट्न थाल्छ ।

डिप्रेसन र चिन्ताको समस्या बढ्न सक्छ ।

कति फोलेट चाहिन्छ त ?

नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार एक वयस्कलाई दैनिक ४०० माइक्रो ग्राम फोलेट चाहिन्छ, तर गर्भवती महिलालाई दैनिक ६०० देखि ८०० माइक्रो ग्राम फोलेट चाहिन्छ ।

फोलेटको कमीलाई कसरी पूर्ति गर्ने

फोलेट धेरै प्राकृतिक चीजहरूमा पाइन्छ । हरियो मटर, सिमी र कोसा लाग्ने तरकारीमा फोलेट पर्याप्त मात्रामा पाइन्छ । यसबाहेक कागती र सुन्तला जस्ता सिट्रस फलफूलमा फोलेट पाइन्छ । जति धेरै हरियो सागसब्जी खानुहुन्छ, त्यति नै धेरै फोलेट पाउनुहुनेछ । यसबाहेक डेरी उत्पादन, मासु, समुद्री खाना र अण्डामा पनि फोलेट पाइन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप