आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकार खाण : महासचिव पोखरेल

सोमबार, ०१ जेठ २०८०, १९ : ५२
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन् । एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरणको सुरुवात भएको उनको जिकिर थियो । 

पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बदमासी अरूले गरे पनि आफ्नो पार्टीलाई दोषी साबित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

महासचिव पोखरेलले भने, ‘आज भुटानीका नाममा नेपाली नागरिकहरूलाई अवैध तरिकाबाट अमेरिका पठाउने काममा जुन प्रकारको ठगी भएको छ । यो ठगीको सन्दर्भको बारेमा, वास्तवमा यो ठगी काण्ड मात्रै होइन । राष्ट्रमाथिको घात हो । राष्ट्रको स्वाधीनता, स्वाभिमानप्रतिको एक प्रकारको अपमान हो भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । नेपाल राष्ट्र स्वयं आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने प्रकारको जुन प्रकारको सन्देश गएको छ । त्यो राष्ट्रका लागि लज्जाको विषय हो भन्ने कुरालाई हामी स्पष्ट गर्न चाहन्छौँ । तर म तपाईहरुको बीचमा के भन्न चाहन्छु भने बदमासी एउटाले गर्ने, सङ्केत अर्कोतर्फ देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ । त्यसप्रति तपाई हामी सबै सचेत हुनुपर्छ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । नेकपा एमालेको नेतृत्वको सरकार भएको बेलामा बाँकी रहेका भुटानी शरणार्थीहरूको सन्दर्भमा, उनीहरूको व्यवस्थापनको सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो भन्ने कुरा सार्वजनिक भइसकेको छ । त्यतिबेला बनाइएको कार्यदल भित्र नयाँ कुनै व्यक्तिलाई भुटानीका रुपमा प्रमाणीकरण गर्ने विषय त्यो कार्यदलको विषय नै थिएन । त्यतिबेला तयार भएको प्रतिवेदनलाई एक प्रकारले भन्नुहुन्छ भने दुरुपयोग गरिकन, प्रतिवेदनमाथि एक प्रकारले जालसाजी गरिकन नयाँ व्यक्तिहरूको नाम सामेल गर्ने खालको जुन प्रकारको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको सुरुवात भयो भन्ने कुरा स्पष्ट छ ।’

उनले थपे, ‘त्यो कुन समयमा भयो भन्ने कुरा स्वाभाविक रूपमा नेकपा एमाले नेतृत्वको सरकार हटिसकेपछि परमादेश नेतृत्वको सरकार बनिसकेपछि जसले गृह मन्त्रालयको नेतृत्व लिएका थिए । उनीहरूको योजनामा एक प्रकारले भन्नुहुन्छ भने भुटानी शरणार्थीको व्यवस्थापनका सन्दर्भमा गरिएको कार्यदलको रिपोर्ट भित्र नयाँ नामहरू समावेश गर्ने, जुन कृत्रिम धन्दा गरियो । त्यही भित्र नेपाली नागरिकहरूलाई ठग्ने धन्दा सुरु भएको थियो भन्ने कुरा बाहिर आइसकेपछि अनेकन् ढंगले तथ्यलाई लुकाउने जुन प्रकारको प्रयास भएको छ । त्यसप्रति हामी खबरदारी गर्न चाहन्छौँ । वास्तवमा यो अपराधमा जोजो संलग्न छन् । उनीहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने नेकपा एमालेको मान्यता रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । आज उनीहरूको स्वर ठूलो छ । जो नेपालमा भ्रष्टाचारका लागि कुख्यात छन् । उनीहरू आज भ्रष्टाचार विरोधी अभियानको नेताजस्तो बन्न खोजिरहेका छन् । म तपाईहरुको बीचका के भन्न चाहन्छु त भन्दा खेरी कुनै एउटा घटनाका सन्दर्भका बारेमा भइरहेको छानबिनलाई राजनीतिकरण गर्ने काम नगरौँ । साँच्चै यो मुलुकमा सुशासनतर्फ अगाडि बढ्ने हो भने सबै स्क्यान्डलहरुका बारेमा चर्चामा रहेका विषयहरूको सन्दर्भमा सत्यतथ्य खोजि गर्नका लागि आँट गरौँ । के अहिलेको सरकार शिविर घोटालाको छानबिन गर्न तयार छ ? के अहिलेको सरकार अर्थ मन्त्रालयको नेतृत्वमा भएको नीतिगत विचलनको माध्यमबाट राष्ट्रलाई टाट पल्टाउने जुन अपराध भएको छ । त्यसको छानबिन गर्नका लागि तयार छ ? वा राष्ट्रका सम्पत्तिहरूलाई हिनामिना गर्नका लागि विगतमा गरिएका जग्गा, जमिनको अपचलनका क्रियाकलापहरूका बारेमा छानबिन गर्नका लागि तयार छ ? नेकपा एमाले सबै प्रकारका घटनाहरूको छानबिन गर्नका लागि तयार रहेको कुरा म तपाईहरुको माध्यमबाट जानकारी गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप