आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कानेपोखरीका शिक्षकको आरोप–लेनदेनमा मात्रै सरुवा हुन्छ

सोमबार, ०१ जेठ २०८०, २१ : ५५
सोमबार, ०१ जेठ २०८०

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरूमाथि अन्याय गरेको   गुनासो गरेका छन् । 

गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नुभन्दा पनि व्यक्तिगत फाइदा तर्फ केन्द्रित भएको आरोप  लगाएका हुन् । 

‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनमा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने, शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् ।’

शिक्षा शाखाबाट भइरहेका यसखाले गतिविधिप्रति पालिका नेतृत्व मूकदर्शक बनेको पनि उनीहरुले आरोप लगाएका छन् । ‘सम्बन्धित निकाय बेखबर नै रहेको र निज शिक्षा अधिकृतले आफ्नो व्यवहार  परिवर्तन नगरेको साथै दिनप्रतिदिन सोही क्रियाकलाप दोहोरिइरहेको पाइएकोले हामी ज्ञापन पत्र बुझाउन बाध्य छौं । अति गर्नु तर, अत्याचार नगर्नु,’ ज्ञापनपत्रमा उल्लेख छ । 

एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक महासंघका अध्यक्षहरु क्रमशः सुरतलाल चौधरी, जंगबहादुर बोहोरा, सन्जीव खड्का र विजयगोपाल गड्तौलाले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा विभिन्न ९ वटा माग समावेश गरिएको छ । 

जसमा एक महिनाभित्र शिक्षा अधिकृत बेगबहादुर काफ्लेको सरुवा गर्नुपर्ने, करार शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी बनाउन शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार व्यवस्थापन समितिबाट विषयविज्ञ चयन गर्ने व्यवस्था गर्नुपर्ने, शिक्षा समितिले सम्पादन गर्ने हरेक शैक्षिक गतिविधिका कार्यमा महासंघको प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने, समयमै मासिक तलब निकासा हुनुपर्ने, बालविकास शिक्षकको बढेको तलब २ हजार तत्काल भुक्तानी गर्नुपर्ने, विद्यालयको आवश्यक शैक्षिक सामग्रीको व्यवस्थाका लागि बजेटको व्यवस्था गर्नुपर्ने र विभिन्न समयमा संचालन भएका कम्प्युटरसम्बन्धी तालिम, गोष्ठी तथा स्थानीय पाठ्यक्रम प्राधिकरण तालिममा सहभागी शिक्षक कर्मचारीलाई रकम बुझेको भरपाइमा हस्ताक्षर गराएर रकम नदिएकोमा अविलम्ब भुक्तानीको व्यवस्था हुनुपर्ने उल्लेख छ । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप