आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन मुख्यमन्त्री शाह पुनः काठमाडौंमा

मङ्गलबार, ०२ जेठ २०८०, १२ : ११
मङ्गलबार, ०२ जेठ २०८०

धनगढी । लामो समयसम्म पनि मन्त्री परिषद् विस्तार गर्न असफल रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह पुनः काठमाडौँ पुगेका छन् ।

मन्त्री परिषद् विस्तारमा शीर्ष नेताहरूसँग सहयोगको याचना गर्न उनी पुनः प्रदेश सरकारका २ मन्त्रीसहित सोमबार साँझ काठमाडौँ पुगेका हुन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव टेकराज कठायतले भने, ‘मन्त्री परिषद् विस्तारको निकास खोज्ने र प्रदेश सरकारलाई विकास आयोजनाको माग गर्न काठमाडौँ जानुभएको छ ।’

एक साताअघि पनि मुख्यमन्त्री शाह मन्त्री मण्डल विस्तारलाई लिएर काठमाडौँ पुगेका थिए । त्यसताका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरूसँग भेटघाट गरेका थिए ।

काठमाडौँबाट धनगढी फर्के लगत्तै मन्त्री मण्डल विस्तार गर्ने बताएका उनी हालसम्म असफल रहँदै आएका छन् ।

एक साताअघि मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्दै रातोपाटीलाई भनेका थिए, ‘मन्त्री परिषद् विस्तारमा धेरै ढिला भयो । छिटो गरिदिनुस् भनेर हामीले आग्रह गर्यौ । उहाँले आजै उच्च स्तरीय राजनीतिक कार्यदलमा कुरा राख्ने बताउनुभएको छ ।’

त्यो भेटले सार्थकता नपाएपछि उनी पुनः शीर्ष नेताहरूलाई हारगुहार गर्न काठमाडौँ पुगेका हुन् ।

मुख्यमन्त्री शाह नियुक्त भएको ३ महिना बढी भएको छ । उनी माघ २७ गते नियुक्त भएका हुन् ।  यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था देखिन्छ ।

यहाँ माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ । अहिले सरकारमा रहेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ । थप १ मन्त्रालय पनि पाउनुपर्ने कांग्रेसको दाबी छ । आर्थिक मामिला मन्त्रालय पाएको नेकपा(एकीकृत समाजवादी) पार्टीले पनि थप १ मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

तर माओवादीले २ मन्त्रालय पाउने भएको छ । २ मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन् । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन् । 

सत्तारुढबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा यहाँको मन्त्री मण्डल विस्तारमा ढिलाइसँगै सकस देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप