आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थीको नाममा ठग्ने गिरोह गृह मन्त्रालयकै जिपमा सरर

हज समितिका अध्यक्ष सम्पर्कविहीन
मङ्गलबार, ०२ जेठ २०८०, १६ : ५२
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पारेर ठग्ने गिरोहले गृह मन्त्रालयकै गाडी प्रयोग गरेको भेटिएको छ । अनुसन्धानको क्रममा गृह मन्त्रालयकै गाडी गिरोहले प्रयोग गरेको खुलेपछि प्रहरीले सो गाडी नियन्त्रणमा लिएको छ ।

गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पट्रोल जिप बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । सो गाडी अहिले काठमाडौँ परिसरमा छ । 

पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएको ठाउँमा गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए । चितवनको सौराहा र काठमाडौँका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ । इम्बोस्ड नम्बर बि.ए.बी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ ।

शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठग्ने समूहलाई गाडी कसले उपलब्ध गरायो भन्नेबारे अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । शरणार्थी प्रकरणमा प्रयोग भएको गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले रातोपाटीलाई बताए । एसपी रिजाल भन्छन्–‘अनुसन्धानको क्रममा एउटा गाडी नियन्त्रणमा लिएका छौँ ।’

प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सम्पर्कविहीन भएका छन् । मियाँ सम्पर्कविहीन भएपछि उदयपुरको गाइघाटबाट प्रहरीले गाडी नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको छ । हज समितिको प्रयोगका लागि उपलब्ध गराएको सो जिप अध्यक्ष मियाँले गिरोहका सदस्यलाई उपलब्ध गराएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

गृह मन्त्रालयका तत्कालीन सचिव टेक नारायण पाण्डे, पूर्व गृहमन्त्री बालकृष्ण खाण र खाणका सल्लाहकार नरेन्द्र केसीसँग अनुसन्धान अधिकृतहरूले त्यसबारे सोधपुछ गरेका छन् । शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो प्रकरणमा संलग्न आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई सहित १४ जना प्रहरीको हिरासतमा छन् ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् । दाङ घर भएका सन्देश शर्मा पक्राउ परेपछि सो प्रकरणले नयाँ रूप लियो ।

शरणार्थी प्रकरणको अनुसन्धान पुरा गरेर बुधवार कार्यालय समयमा अनुसन्धान प्रतिवेदन बुझाउन सरकारी वकिलले प्रहरीलाई निर्देश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप